काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले अस्वाभाविक रूपमा बजेटको आकार बढाएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले आगामी आर्थिक वर्षको बजेट सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै वाचाविपरीत आएको टिप्पणी गरे ।
उनले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दलले जनमत प्रभावित गर्ने उद्देश्यले बजेटमार्फत वितरणमुखी कार्यक्रम अघि सारेको आरोप पनि लगाए । पुराना दलविरुद्धको जनमत सधैं कायम नहुन सक्ने मनोविज्ञानका आधारमा वितरणमुखी बजेट ल्याइएको उनको आरोप छ ।
पूर्वअर्थमन्त्री पुनले मुलुकको दुई तिहाइ जनसंख्या निर्भर रहेको कृषि क्षेत्रको सुधारका लागि उल्लेख्य कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाए । साथै, युवाहरूका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको दलले बजेटमा त्यसअनुसारका कार्यक्रम समावेश गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘बजेट अस्वाभाविक रूपमा बढाएर ल्याइएको छ, जुन वितरणमुखी देखियो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सधैं पुराना दलविरुद्ध मात्रै जनमत रहँदैन भन्ने सरकार र सत्तारुढ दलको मनोविज्ञान देखिन्छ । हामीले बजेट वितरण गर्यौँ भने स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने सोचले काम गरेको पाइन्छ । अर्को कुरा, मुलुकको दुई तिहाइ जनसंख्या निर्भर रहेको कृषि क्षेत्रको सुधारका लागि उल्लेख्य कार्यक्रम आएन । युवाहरूलाई रोजगारी सिर्जना गर्ने कुरा गरेर सत्तामा आएको पार्टीले कार्यक्रममा भने केही पनि ल्याउन सकेन । अहिलेको बजेट ऋण लिएर घिउ खानेजस्तो मात्र भएको छ र यो रास्वपाको वाचाविपरीत छ ।’
उनले आगामी आर्थिक वर्षको बजेट सरकारकै पूर्वघोषणा र प्रतिबद्धताविपरीत रहेको टिप्पणी गरे ।














