
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणबाट फर्किएपछि मिडियामा बोल्ने बताएका छन् ।
भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा सभापति लामिछानेले भ्रमण सकेर फर्किएपछि कुरा गर्ने बताएका हुन् । ‘फर्किएपछि सबै साथीहरूसँग कुरा गर्छु, प्रेससँग कुरा गर्छु,’ उनले भने ।
पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, प्रदीप आचार्यसहित लामिछाने ५ दिने भ्रमणका लागि भारत गएका हुन् । उनी २२ गते स्वदेश फर्कनेछन्।
सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ ।
भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ।














