Logo
Logo

नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने निजी क्षेत्रको प्रवृत्ति हट्नुपर्छ : योजना आयोगका उपाध्यक्ष भट्ट


441
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै अब निजी क्षेत्रले नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने (रेन्ट-सिकिङ) प्रवृत्ति त्याग्नु पर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: gunakat-bhatt.jpg

राजधानीमा आयोजित एक कार्यक्रममा उनले निजी क्षेत्रको प्रवृत्ति नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने रहेको बताउँदै अब यो प्रवृत्ति रहन नहुने बताए । उनका अनुसार विगत तीन-चार दशकदेखि भइरहेको उदारीकरण र नीतिगत सुधारमा निजी क्षेत्रको भुमिका उल्लेखनीय रहेको छ तर निजी क्षेत्रबारे आलोचनात्मक रूपमा हेरिने केही प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक छ । भट्टकाअनुसार निजी क्षेत्रले अनावश्यक रूपमा नीतिमा लबिङ गरेर रेन्ट-सिकिङ व्यवहारलाई प्रोत्साहन गर्नु हुँदैन । उत्पादनशील लगानीभन्दा सट्टेबाजीमा केन्द्रित हुने प्रवृत्तिबाट पनि माथि उठ्न आवश्यक छ । उहाँले सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि चर्चामा आएको ‘फिसिङ विथ डायनामाइट’ अवधारणाको उदाहरण दिँदै अल्पकालीन लाभका लागि दीर्घकालीन क्षति हुने गतिविधिबाट निजी क्षेत्र र राज्य दुवै टाढा रहनुपर्ने बताए ।

भट्टले निजी क्षेत्रले सुशासनयुक्त कर्पोरेट संस्कार (गुड कर्पोरेट गभर्नेन्स) प्रवद्र्धन गर्नुपर्ने र सरकारले पनि सुशासनलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो । सरकारको ‘सुशासन र समृद्धि’ लाई सँगसँगै अघि बढाउने लक्ष्यको परिपूरकका रूपमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने उनको भनाइ रहेको छ ।

उनले भने, ‘निजी क्षेत्र भनेको नेपालको अर्थतन्त्रमा इमानदारीपूर्वक योगदान गरिरहेको क्षेत्र हो । विगत तीन–चार दशकदेखि हामीले उदारीकरण र नीतिगत सुधारका कुरा गरिरहेका छौँ, त्यसमा निजी क्षेत्रको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । तर निजी क्षेत्रको समस्या कहाँ छ त रु मैले अनुभव गरेको, अर्थात् देखेको र सुनेको आधारमा भन्नुपर्दा, निजी क्षेत्रसँग सम्बन्धित तीनवटा यस्ता विशेषता छन्, जसका कारण यसलाई विभिन्न ठाउँबाट आलोचनात्मक रूपमा हेरिने गरेको देखिन्छ । ती प्रवृत्तिबाट निजी क्षेत्र बाहिर निस्किनुपर्छ भन्नेकुरा मैले केही दिनअघि पनि अर्को ठाउँमा भनेको थिएँ । पहिलो, निजी क्षेत्रले अनावश्यक रूपमा नीतिमा प्रभाव पार्न लबिङ गरेर ‘रेन्ट–सिकिङ’ व्यवहारलाई प्रोत्साहन गर्ने काम गर्नुहुँदैन । दोस्रो, निजी क्षेत्र स्पेकुलेसन भन्दा माथि उठ्नुपर्छ । तेस्रो, सन् २००८ को विश्वव्यापी वित्तीय संकटका बेला देखिएको ‘फिसिङ विथ डायनामाइट’ भन्ने अवधारणाबाट निजी क्षेत्र र राज्य दुवै बाहिर निस्किनुपर्छ । अर्थात्, आज सबैथोक उपभोग गरौँ, आज डायनामाइट प्रयोग गरेर भए पनि माछा मारौँ र भोलिका लागि त्यो पोखरीमा माछा रहोस् वा नरहोस् भन्ने मानसिकतामा हामी जानु हुँदैन ।’

उनले निजी क्षेत्रलाई अघि बढाउन सकिए देश उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढ्ने र त्यो सबैको साझा चाहना भएको बताए । उपाध्यक्ष भट्टले मुलुकको विकासका लागि छिमेकी देशहरूजस्तै प्रविधिको प्रयोग बढाउन, सरकारी तथा निजी दुवै क्षेत्रमा कार्यक्षमता वृद्धि गर्न आवश्यक रहेको बताए । त्यसो गर्नसके सार्वजनिक हितका कार्यक्रमहरूलाई प्रवद्र्धन गर्दै पछाडि परेका क्षेत्र, वर्ग र नागरिकलाई पनि विकासको साझेदार बनाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्