Logo
Logo

अमेरिकी कङ्ग्रेसको तल्लो सदनबाट इरान युद्ध रोक्ने प्रस्ताव पारित


441
Shares

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न रोक लगाउने उद्देश्यले एक प्रस्ताव पारित गरेको छ । २१५ विरुद्ध २०८ मतले पारित भएको उक्त प्रस्ताव ट्रम्प प्रशासनको इरान नीतिप्रति आफ्नै रिपब्लिकन पार्टीभित्र पनि असन्तुष्टि बढिरहेको छ ।

मतदानका क्रममा चार जना रिपब्लिकन सांसदहरू थोमस मेसी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसन-डेमोक्रेट सांसदहरूको पक्षमा उभिएर प्रस्तावलाई समर्थन गरेका थिए । मेन राज्यका डेमोक्रेट सांसद जारेड गोल्डेनले पनि यसपटक प्रस्तावको पक्षमा मतदान गरेका हुन् । 

युद्ध घोषणा गर्ने अधिकार केवल अमेरिकी कंग्रेससँग रहेको उल्लेख गर्दै त्यस अधिकारको संरक्षण आवश्यक रहेको रिपब्लिकन सांसद टम ब्यारेटले बताए । उनले आफूले सही ठानेको कुराअनुसार मतदान गरेको र त्यसको परिणाम स्विकार्न तयार रहेको बताएका छन् ।

 यो प्रस्ताव अब रिपब्लिकन बहुमत रहेको अमेरिकी सिनेटमा जानेछ । सिनेटबाट पनि पारित भएमा राष्ट्रपति ट्रम्पले यसलाई भिटो गर्न सक्नेछन् । त्यस अवस्थामा भिटो उल्ट्याउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुई९तिहाइ बहुमत आवश्यक पर्नेछ ।

प्रतिनिधिसभाको विदेश मामिला समितिका वरिष्ठ डेमोक्रेट सदस्य ग्रेगरी मिक्सले यस मतदानलाई राष्ट्रपति ट्रम्पको अवैध र महँगो इरान युद्धविरुद्धको महत्त्वपूर्ण द्विदलीय चेतावनी भन्दै युद्ध अन्त्यतर्फको पहिलो कदम भएको बताएका छन् । ट्रम्प प्रशासनले युद्धका घोषित उद्देश्यहरू हासिल गर्न सकेको छैन, बरु इन्धनको मूल्य वृद्धि भएको छ र इरानको आणविक कार्यक्रमसम्बन्धी कूटनीतिक समाधान अझ कठिन बनेको उनको भनाइ रहेको छ ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि सैन्य आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो । साथै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गरिएको थियो ।

अप्रिलमा अमेरिकाले इरानतर्फ जाने वा त्यहाँबाट आउने जहाजहरूमाथि नाकाबन्दी लगाउने घोषणा गरेको थियो । त्यसै महिनाको ८ तारिख अमेरिका र इरानबिच प्रारम्भिक युद्धविराम सम्झौता भएको थियो । तर त्यसपछि पनि दुवै पक्षबिच सैन्य कारबाही जारी रहेको छ । 

अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेको थियो भने इरानले अमेरिकी सहयोगी राष्ट्र कुवेतमाथि जवाफी हमला गरेको थियो ।

मतदानअघि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने वार्ता “धेरै राम्रोसँग अघि बढिरहेको” दाबी गर्दै सम्झौता यसै सप्ताहन्तसम्म टुङ्गिन सक्ने बताएका थिए । उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका र इरानबिच सम्झौताको सम्भावना नजिक पुगेको र दुवै पक्षबिच संवाद सकारात्मक रहेको बताएका छन् ।  ट्रम्पले आफ्नो प्रशासनका अधिकांश सदस्यहरू युद्धलाई थप विस्तार नगरी सम्झौतामार्फत अन्त्य गर्न चाहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्