Logo
Logo

जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दोहनले गम्भीर चुनौती खडा गर्‍यो : राष्ट्रपति पौडेल


126
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको शुभकामना दिँदै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वन जङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: rastpati.jpg

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वन जङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका हुन् ।

उनले संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको स्मरण गर्दै यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित दिवस मनाइँदै रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायसामु गम्भीर चुनौती खडा गरेको बताएका छन् । जलवायु परिवर्तन भविष्यको मात्र नभई वर्तमानको पनि समस्या बनेको उल्लेख गर्दै नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा हुने, बाढीपहिरो बढ्ने तथा वातावरणीय असन्तुलनका असर देखिन थालेको बताउँदै विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उनले प्रकृतिमैत्री जीवनशैली अपनाउन तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेका छन् ।

उनले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकास तथा प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने बताएका छन् ।

राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विश्व वातावरण दिवसले यस कार्यमा थप ऐक्यबद्धता र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्