काठमाडौं । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढेको छ। दुवै देश एक-अर्काविरुद्ध सैन्य आक्रमणमा उत्रिएका छन्।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्ना सेनाले होर्मुज जलमार्गतर्फ प्रहार गरिएका इरानका चारवटा ‘वन–वे’ आत्मघाती ड्रोन खसालेको पुष्टि गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार ती ड्रोनहरूले क्षेत्रीय समुद्री आवागमनमा तत्काल खतरा उत्पन्न गरेका थिए।

“थप आक्रमणहरू रोक्न अमेरिकी सेनाले गोरुक र क्युसम टापुमा रहेका इरानी तटीय निगरानी रडार केन्द्रहरूमा जवाफी कारबाही गरेको छ,” सेन्ट्रल कमान्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेना उच्च सतर्कतामा छ र आत्मरक्षाका लागि इरानको अनुचित आक्रामकताको जवाफ दिन पूर्ण रूपमा तयार छ।”
यसअघि एक अमेरिकी अधिकारीले सीबीएस न्यूजलाई दिएको जानकारीअनुसार इरानले धेरै संख्यामा ‘वन–वे’ आत्मघाती ड्रोन प्रहार गरेको थियो। यद्यपि, हालसम्म कुनै पनि जहाजमा क्षति पुगेको विवरण आएको छैन।
युद्धविराम उल्लंघन र क्षेप्यास्त्र प्रहार
जारी युद्धविरामका बाबजुद इरान र अमेरिका तथा उसका खाडी सहयोगी राष्ट्रहरूबीचको तनाव कम हुन सकेको छैन। अमेरिकी सैन्य सेन्ट्रल कमान्डले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार इरानले कुवेत र बहराइनतर्फ सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
तीमध्ये ६ वटा क्षेप्यास्त्रलाई आकाशमै (बीचमै) नष्ट गरिएको थियो भने एउटा क्षेप्यास्त्र आफ्नो लक्ष्यमा पुग्न असफल भएको थियो।
खाडी क्षेत्रमा साइरन: नागरिकलाई सुरक्षित रहन अपिल
यसैबीच, कुवेती सेनाले शनिबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत आफूहरूले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ।
त्यसको केही समयपछि बहराइन सरकारले पनि देशभर खतराको चेतावनी दिने साइरन बजाएको थियो। बहराइनको गृह मन्त्रालयले ‘एक्स’मा लेखेको छ:
“देशभर खतराको साइरन बजाइएको छ। सम्पूर्ण नागरिक तथा बासिन्दाहरूलाई शान्त रहन र तत्काल नजिकैको सुरक्षित स्थानमा जान अनुरोध गरिन्छ।”














