Logo
Logo

योगदानको हिसाब खोज्नु पार्टीका लागि घातक : रवि लामिछाने


504
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टीका लागि हितकर नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको विषय भएको पनि बताएका छन् । उनले यस्ता प्रवृत्तिलाई समयमै सच्याउनुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichhane.jpg

उनले भनेका छन्, ‘स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन । चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ ।’

विशेषगरी मधेश लगायतका केही जिल्लामा देखिएको विवादकाबीच उनले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिएको भन्दै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।

‘पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो,’ लामिछानेले लेखेका छन् ।

पार्टी अहिले जुन अवस्थामा पुगेको छ, त्यो कुनै व्यक्तिको मात्रै योगदानले नभएको भन्दै मतदाताको विवेक र पार्टी सदस्यहरूको समर्पणले सम्भव भएको लामिछानेले बताएका छन् । 

‘आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो,’ उनले भनेका छन्, ‘पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो ।’

अधिवेशन र महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभइ पार्टीको पार्टीको अनन्तकालीन जीवन, विधि-पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर रहेको उनले बताएका छन् ।

‘पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो । यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ,’ लामिछानेले भनेका छन् ।

विचार मात्र होइन, शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्ने उनको भनाइ छ । जसका लागि पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न नसक्नेतर्फ उनले सजग गराएका छन् ।

अबको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको उनको भनाइ छ । ‘त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, सङ्गठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने सङ्कीर्ण चिन्तालाई त्याग्नुपर्छ । पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ,’ उनले भनेका छन् । उनले नेता कार्यकर्ताहरूलाई अब ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुने बेला आएको पनि सम्झाएका छन् ।

+

प्रतिक्रिया दिनुहोस्