
काठमाडौं । अस्ति आइतबार रक एण्ड रोल स्टाइलमा अचानक प्रधानमन्त्री बालेन साह प्रतिनिधिसभाको बैठकमा पुग्दा सभामुख डिपी अर्याल पनि ट्वाँ परे । आफूले पटकपटक आग्रह गर्दा पनि अटेर गरेर बसेका बालेन बिनासूचना एक्कासी आउँदा आश्चर्य मान्नु स्वाभाविकै हो ।
बालेनको सवारीलाई प्रतिपक्ष दलका अर्जुननरसिंह केसीले अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रधानमन्त्री बिनासूचना आउनु राम्रो कुरा हो भनेर व्यंग्य गर्दा पनि व्यंग्य नबुझेर रास्वपाका सांसदहरुले टेबुल ठोकेको ठोक्यै गर्दा खुश्बु ओली पनि तीनछक परिन् ।
नेपालले भूमि मिचेको छ
संसद् बैठक भनेपछि वाक्कदिक्क मान्ने हाम्रा प्रधानमन्त्री अचानक के भन्न संसद् बैठकमा आइपुगे भनेर प्रतिपक्ष बेञ्चमा कानेखुशी चल्यो । त्यसैबीच बालेनले बोल्न हात उठाए, सभामुखले बालेन रोष्ट्रममा बोलाए ।
प्रधानमन्त्री रोष्ट्रममा पुगेर के बोल्लान् भनेर प्रतिपक्षबीच के कानेखुशी चल्दै थियो– बालेनले भने– ‘नेपालले पनि भारतको भूमि मिचेको छ ।’ यो कुराले बैठकमा हल्लीखल्ली मच्चियो । बालेनको जिब्रो चिप्लिएर यस्तो शब्द बोलेका हुन् कि रविको भारत भ्रमण बिथोल्न यसो भनेका हुन् भन्ने कुरा बुझ्न नसकेर मनिष झा रन्थिनएका छन् ।
केटाकेटी अर्थमन्त्री
बूढापाकाले भन्थे– केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानास । नभन्दै अर्थमन्त्रीमा के के न जानेका विज्ञ भनेर स्वर्णिम वाग्ले आए, बजेट ल्याए आखिर त्यो बजेटले गरिबका लागि सत्यानास नै निम्त्यायो ।
त्यसै त गरिब देश त्यसमाथि करैकरको भारी बोक्नु परेपछि कसरी बाँच्ने ? बरु अर्थसचिव घनश्याम उपाध्यायलाई नै अर्थमन्त्री बनाइदिएको भए त यो भन्दा गतिलो बजेट आउँथ्यो कि कसो, रामेश्वर खनालज्यू ?
ट्रान्सफर्मर पड्किन्छ
नेपाल जलस्रोतको धनी देश त हो तर धेरै विद्युत् खपत गर्दा ट्रान्सफर्मर पड्किन्छ भनेर बालेन साहले भनेको कुरा सुनेर कुलमान घिसिङ पेट मिचीमिची हाँसे ।
उनै बालेन साहले पहिला ग्यासको आयात घटाउन विद्युतीय चुलो अर्थात ‘इन्डक्सन’लाई प्रोत्साहन गर्ने भने तर, त्यो ‘इन्डक्सन’ चुलो कहाँ बन्छ भन्ने कुरो उनलाई थाहा भएन । जब ‘इन्डक्सन’ चाइनामा बन्छ भन्ने कुरा उनले थाहा पाए, तब उनले भने ‘इन्डक्सन’ बाल्यो भने ट्रान्सफर्मर नै पड्किन्छ, त्यसैले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्नेलाई भ्याट लगाइएको हो । प्रधानमन्त्रीको यो कुतर्क सुनेर हितेन्द्रदेव टेलिभिजन हेरेर भन्दै थिए– यस्ता उल्लु त प्रधानमन्त्री छन् देशमा…. ।
गोल्डस्टारको चर्चा
रास्वपाका सांसदहरु पनि रंगीचंगी छन् । एकातिर कुरै नबुझी उफ्रने आशिाका तामाङ अर्कोतिर बालेनबाहेक अरुसँग बोल्दै नबोल्ने विदुषी राणा । यी दुईबीचको फरक भनेको एउटा निर्वाचित, अर्को समानुपातिक । एउटाले जनताको कुरा गर्ने, अर्कोले व्यापारको ।
जनताको कुरो बालेनले सुन्नै नचाहने, व्यापारको कुरा गर्ने हो भने संसद्मै ‘गोल्डस्टार’ जुत्ता लगाएर जाने । विदुषी राणालाई यो भन्दा ठूलो विज्ञापन अरु के चाहियो ? ‘दुवै हातमा लड्डु’ भनेको यही होला, कसो अमरेश सिंहज्यू ?














