नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले देशको अर्थतन्त्र सुधार र लगानीमैत्री वातावरण निर्माणतर्फ सही दिशा लिएको बताएका छन् ।

महासंघद्वारा आयोजित नीति संवादमा उनले दशकौंदेखि अर्थतन्त्रलाई जकडेर राखेको संरक्षणवाद, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्र तोड्ने आँट बजेटले गरेको दाबी गरे।
श्रेष्ठले बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम हुँदा पनि निजी क्षेत्रको कर्जा माग सुस्त रहेको र लगानी वातावरण कमजोर रहेको अवस्थामा आएको बजेटले अर्थतन्त्रमा आत्मविश्वास फर्काउने अपेक्षा व्यक्त गरे । उनले बजेटलाई परम्परागत खर्च बाँडफाँटभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारमा केन्द्रित प्रयासका रूपमा मूल्यांकन गरे।
उनका अनुसार १५ वटा कानुन संशोधन, उधारो असुली कानुन, बौद्धिक सम्पत्ति संरक्षण र सनसेट कानुन ल्याउने प्रतिबद्धता सकारात्मक र दूरगामी महत्त्वका छन् । यद्यपि बजेटको प्रभावकारिता यसको कार्यान्वयनमा निर्भर रहने उनले स्पष्ट पारे ।














