
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको छ ।
सोमबार दिउँसो जिरोमाइलस्थित अधिवेशनस्थलमा दुई समूहबीच कुटाकुट भएको हो । दुई समूहबीच भएको झडपमा ¥यापिड एक्सन टिम (आरएटी) का जिल्ला प्रमुख दिनेश थापासहित केही कार्यकर्ता घाइते भएका छन्।
जिल्ला कार्यसमितिको नेतृत्व कसले पाउने भन्ने विषयमा विवाद चर्किएपछि अधिवेशनस्थल तनावग्रस्त बनेको थियो । सभापति पदका आकांक्षी सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनालीबीच नेतृत्व चयनको विषयमा मतभेद देखिएको छ ।
रामसोगारथ यादवले आफूलाई सर्वसम्मत रूपमा सभापति चयन गर्नुपर्ने अडान राख्दै आएका छन् भने सुभाष यादव र हरि मैनालीले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन् । यही विवादले उग्र रूप लिएपछि कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ ।
अधिवेशन विवादित बनेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया मंगलबार बिहान ९ बजेसम्मका लागि स्थगित गरेको छ । आयोगका प्रमुख भुवन केसीले विज्ञप्ति जारी गरेर मंगलबारदेखि पुनः निर्वाचन प्रक्रिया सञ्चालन गरिने जानकारी दिएका छन् ।














