Logo
Logo

सरकारले चाहे बजेट कार्यान्वयन हुनसक्छ : महत


567
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले प्रस्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट महत्वाकांक्षी रहेको बताएका छन् ।

नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको आकारभन्दा करिव डेढ खर्ब रुपैयाँ बढीको विनियोजन प्रस्ताव गरिएपनि सरकारले चाहने हो भने यो बजेट कार्यान्वयन हुन सक्ने बताए । उनका अनुसार सरकारसँग राम्रो जनादेश छ । यो जनादेशले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सक्ने उनको भनाइ छ ।
महतले पछिल्लो आन्तरिक ऋणमा निर्भरता बढ्दै गएको बताउँदै बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले तत्काल स्रोत व्यवस्थापनमा समस्या नदेखिएको बताए । यद्यपि साधारण तथा पुँजीगत खर्च दुवैका लागि आन्तरिक ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने उनको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि राखेको सात प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यबारे महतले निजी क्षेत्रको सक्रिय परिचालन र प्रभावकारी पुँजीगत खर्चमार्फत उक्त लक्ष्य हासिल गर्न सकिने बताए । बजेटमा समेटिएका नीतिगत व्यवस्थाले निजी क्षेत्रलाई लगानी विस्तारका लागि प्रोत्साहित गर्ने उनको भनाइ छ ।

महतले हाल मुद्रास्फीति नियन्त्रणको दायराभित्र रहेकाले मूल्यवृद्धिसम्बन्धी लक्ष्य पनि प्राप्त हुनसक्ने बताए । समग्र आर्थिक सूचकहरूको अवस्था हेर्दा बजेटले विगतका आर्थिक नीतिको निरन्तरता दिएको उनको भनाइ छ ।

महतले नेपालको आर्थिक विकासमा निजी क्षेत्र प्रमुख चालक शक्ति रहेको उल्लेख गर्दै २०४६ सालपछि अपनाइएका उदार आर्थिक नीतिका कारण निजी तथा वित्तीय क्षेत्र विस्तार भएको बताए । त्यसबाट राजस्वको दायरा बढ्नुका साथै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा विकास खर्च विस्तार गर्न सहयोग पुग्ने उनले बताए ।

महतले बजेटले ठूलो नीतिगत परिवर्तनभन्दा निरन्तरतामा जोड दिएको उल्लेख गर्दै सामाजिक सुरक्षा, सामाजिक कल्याण र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरिएको बताए । साथै लगानी, उत्पादन र रोजगारी वृद्धिमार्फत सबै वर्ग र समुदायको जीवनस्तर उकास्ने उद्देश्य बजेटमा देखिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्