काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश निर्वाचन प्रक्रिया स्थगित भएको छ । निर्वाचन समिति संयोजक सुमित्रा पण्डितका अनुसार हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।

निर्वाचन कार्यक्रम स्थगित भएपछि अधिवेशनस्थल सुनसान भएको छ । मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो । अब २४ घण्टाभित्र अर्को सूचना जारी गरिने पण्डितले जानकारी दिइन् ।
निर्वाचन समितिले मङ्गलवार अव्यवस्थित रूपमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेको थियो । मङ्गलवार नै मतदाता नामावली प्रकाशनमा प्रश्न उठे पनि निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढाएको थियो । अहिले प्रहरीले अधिवेशनमा आएका प्रतिनिधिहरूलाई अधिवेशन स्थल खाली गर्न भनेको छ ।














