
काठमाडौं । नेकपा एमाले त्याग गरी अन्य दलमा प्रवेश गरेका आठ जनप्रतिनिधिको पद स्वतः रिक्त भएको छ । निर्वाचन आयोगले एक सूचना जारी गर्दै एमालेका तर्फबाट निर्वाचित भई पछि दल परिवर्तन गरेका आठ जना वडाध्यक्षलाई पदमुक्त गरेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा एमाले केन्द्रीय सचिवालयले निर्णय गरी आयोगमा पठाएको थियो ।
त्यही सिफारिशका आधारमा आयोगले छानबिन गरेर मंगलबार ती जनप्रतिनिधिहरू निर्वाचित भएका पालिका र तहका पदहरू स्वतः रिक्त भएको निर्णय गरेको हो । यसरी कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै कोसी प्रदेशका जनप्रतिनिधि रहेका छन्।
ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, मोलुँ–६ का वडाध्यक्ष कमल तामाङ र चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा पदमुक्त भएका छन् । यसैगरी मोरङको लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनालको पद पनि रिक्त भएको छ ।
त्यस्तै, लुम्बिनी र बागमती प्रदेशका वडाध्यक्ष पनि कारबाहीमा परेका छन् । पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी, दाङको घोराही उपमहानगरपालिका–४ का मधुसुदन शर्मा र ललितपुरको बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईंको पद निर्वाचन आयोगको निर्णयसँगै रिक्त भएको छ ।














