
काठमाडौं । विदेशी नागरिकलाई नेपाली नागरिकता दिन सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
दाङ प्रहरीले झुट्टा विवरण पेश गरी नागरिकता बनाएको कसूरमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर) सहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडा सचिव राजेशकुमार कहार, तत्कालीन कार्यालय सहायक मिना चौधरी र राजपुर गाउँपालिका–४ का आलम जोल्हा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य गैर नेपाली नागरिक आलम जोल्हालाई नागरिकता दिइएको पाइएको छ ।
प्रहरीका अनुसार उनीहरुले राजपुर गाउँपालिका–४ का सनाउल्ला जोल्हाको छोरा देखाएर आलमलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको पाइएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध नागरिकता सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।














