
काठमाडौं । आर्थिक वर्ष २०८३÷०८४ को बजेटमाथि छलफल सुरु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा जेठ १८, १९ र २० गते छलफल गर्ने तय भएको थियो । तर, जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री वालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति सदनमा दिएपछि त्यसको विरोधमा विपक्षी निरन्तर संसद अवरोध गर्दा बजेटमाथिको छलफल रोकिएको थियो ।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएपछि सदनको अवरोध हटेको हो । परराष्ट्रमन्त्रीले दिएको जवाफमा विपक्षी दलका नेताले धारणा राखे । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।
समय नटिपाएको भन्दै सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङलाई समय दिएनन् । श्रम संस्कृतिले वेलमा नाराबाजी गरेपछि सभामुखले सिटमा गएर बसे समय दिने बताए । र, हर्कले रोष्टमबाट बोलेपछि बजेटमाथिको छलफल सुरु भएको हो ।














