
पहिले–पहिले मानिसहरू गरिब थिए, तर उनीहरूको मन धनी थियो । दुःख अथाह हुँदाहुँदै पनि उनीहरूको मनभित्र धैर्यता र सहनशीलता थियो । झगडा भइहाले पनि समाजमा सम्झाउने बुझाउने मान्छेहरू हुन्थे । अहिले प्रायः सबैका घरमा टिभी इन्टरनेट छ, हातहातमा मोबाइल छ, मोटरसाइकल छ, बैङ्कमा ऋण छ, तर मनमा शान्ति छैन ।
अनुहारमा हाँसो छ, तर छातीभित्र दनदनी आगो बलिरहेको छ । परिणामस्वरूप त्यही आगोको रापमा समाजले दैनिकजसो अकल्पनीय र पीडादायी अपराधको सामना गरिरहनुपरेको छ । यतिबेला हाम्रो समाजमा निरन्तर घटिरहेका जघन्य अपराधका घटनाहरूले हामी सबैलाई स्तब्ध बनाएको छ ।
कहिलेकाहीँ मानव हत्या केवल एउटा व्यक्तिको मृत्यु मात्रै नभएर त्यो एउटा समाजको लागि कलंक बन्न जान्छ । काठमाडौँमा ईश्वरी भुजेलको हत्या, झापामा रमा तिवारीको हत्या, दैलेखमा बाबुबाटै आफ्नै छोराको हत्यालगायतका पीडादायी खबरहरू सुन्दा मात्रै पनि हाम्रो शरीरमा काँडा उम्रन्छन् । यो पीडाको भुङ्ग्रोमा परेका परिवार र आफन्तको अवस्था कस्तो होला ? अझ यी त सतहमा आएका प्रतिनिधिमूलक घटना मात्रै हुन् । भित्रभित्रै दबाएर राखिएका कयौँ हृदयविदारक घटनाहरू रहस्यको गर्भमै हराएका छन् ।
खासमा यी अपराधहरू समाचारका शीर्षक मात्र होइनन्, हाम्रो समाजभित्र हुर्किएको क्रूर मानसिकताका लक्षणहरू पनि हुन् । बाहिरबाट हेर्दा यी घटनाहरू क्षणिक आवेग, रिस, झगडा वा पारिवारिक विवादका परिणाम जस्ता देखिन सक्छन् । यद्यपि, गहिराइमा पुगेर हेर्ने हो भने यी घटनाहरूले एउटा भयावह यथार्थ उजागर गरिरहेका छन् । हामीभित्र मानवीय संवेदना, सहिष्णुता, आत्मनियन्त्रण र सामाजिक उत्तरदायित्वको आधारभूत जग नै कमजोर हुँदै गएको छ भन्ने कुराको उदाहरण यिनै अपराधहरूले प्रस्ट पारेका छन् ।
अहिले हाम्रो समाजमा अत्याधुनिक घरहरू धमाधम बनिरहेका छन्, तर सम्बन्धहरूको अवस्था एकदमै बिग्रँदो स्थितिमा छ । सुविधाहरू बढिरहेका छन्, तर सन्तुष्टि घटिरहेको छ । मोबाइल स्मार्ट बन्दै गएका छन्, मानिसको मन असन्तुलित बन्दै गएको छ । बाहिर फेसबुकमा मुस्कान देखिन्छ, भित्र कुण्ठा, तनाव, इष्र्या, असफलता र एक्लोपनको आगो बलिरहेको हुन्छ । अनि त्यही आगोले कुन दिन एउटा निर्दोष जीवन जलाइदिने हो ? त्यसको भरोसा छैन ।
ईश्वरी भुजेलको हत्या केवल एक महिलाको मृत्यु होइन । त्यो एउटा यस्तो प्रश्न हो जसको उत्तर सम्पूर्ण समाजले दिनुपर्छ । आखिर किन एक महिलाले आफ्नै घरभित्र सुरक्षित महसुस गर्न सकिनन् ? किन सम्बन्धको अन्त्य संवादबाट नभई हिंसाबाट भयो ? किन प्रेमको नाममा सुरु भएको सम्बन्ध घृणा र हत्यासम्म पुग्यो ? यी प्रश्नहरूको उत्तर खोज्दा हामी केवल एक व्यक्तिको अपराधमा सीमित रहन सक्दैनौँ ।
हामी त्यो सामाजिक वातावरणसम्म पुग्नुपर्छ जहाँ हिंसा सामान्य हुँदै गएको छ, जहाँ क्रोधलाई पुरुषार्थ ठानिन्छ, जहाँ महिलामाथिको नियन्त्रणलाई अधिकार सम्झिन्छ, जहाँ मानसिक समस्यालाई रोग नभई कमजोरी मानिन्छ र जहाँ न्यायभन्दा पहुँच बलियो मानिन्छ ।
हाम्रो समाजको एउटा ठूलो विडम्बना के छ भने हामी अपराध भएपछि मात्र जाग्छौँ । हत्या भएपछि श्रद्धाञ्जली दिन्छौँ, बलात्कार भएपछि विरोध सभा गर्छौँ, आत्महत्या भएपछि दुःख व्यक्त गर्छौँ । तर अपराध जन्मिनुअघि त्यसका कारणहरू हटाउने प्रयास गर्दैनौँ ।
एउटा महिला महिनौँ, वर्षौँसम्म घरेलु हिंसा सहिरहेकी हुन सक्छिन्, तर समाज भन्छ “घरको कुरा घरमै मिलाऊ ।” एक युवक डिप्रेसनमा बाँचिरहेको हुन सक्छ, तर उसलाई भनिन्छ “पुरुष भएर किन कमजोर बनेको ?” एक बालक मानसिक यातनामा हुर्किरहेको हुन सक्छ, तर परिवार भन्छ “ठूलो भएपछि आफैँ ठीक हुन्छ ।” यही मौनता, यही बेवास्ता र यही ढाकछोपबाट अपराधले जन्म लिन्छ ।
पछिल्ला वर्षहरूमा नेपालमा पारिवारिक हत्या, आत्महत्या, घरेलु हिंसा, बलात्कार र बाल हिंसाका घटनाहरू निरन्तर बढिरहेका छन् । यसले हामी आर्थिक रूपमा जति आधुनिक बन्दै गएका छौँ, मानसिक रूपमा त्यति नै असन्तुलित बन्दै गएका छौँ भन्ने कुरा स्पष्ट देखाउँछ । शहरका अग्ला घरहरूमा बस्ने मानिसहरूभित्र कहिलेकाहीँ गाउँका झुपडीमा बस्ने मानिसभन्दा बढी पीडा हुन्छ । फरक यत्ति हो कि झुपडीको पीडा छर्लङ्ग देखिन्छ भने महलको पीडा लुकिरहेको हुन्छ ।
सामाजिक सञ्जालले पनि यो समस्यालाई झन् जटिल बनाएको छ । अहिले मानिसहरू वास्तविक जीवनभन्दा आभासी जीवनमा बाँच्न बढी रुचाउँछन् । अरूको सुख हेरेर आफ्नो जीवनसँग असन्तुष्ट हुन्छन् । तुलना, प्रतिस्पर्धा र प्रदर्शनको संस्कृतिले मानिसलाई मानसिक रूपमा थकित बनाइरहेको छ । अनि, त्यो थकान कहिलेकाहीँ क्रोधमा बदलिन्छ र क्रोधले अन्ततः हिंसाको रुपधारण गर्दछ ।
यसको अर्को गम्भीर पक्ष भनेको राजनीतिक र सामाजिक नेतृत्वको नैतिक पतन पनि हो । जब समाजका अगुवाहरू आफैँ विवाद, व्यभिचार, हिंसा, भ्रष्टाचार र शक्ति दुरुपयोगको अभियानमा लाग्छन्, तब समाजमा गलत सन्देश जान्छ । माथिबाटै नैतिकता हराउँदै गएपछि पिँधका मानिसले पनि नैतिकताको मूल्य देख्न छोड्छन् । जब राजनीतिक पहुँचका आधारमा अपराधी उम्कन्छन्, तब आम मानिसमा कानुनप्रतिको डर हराउँछ ।
महिलाविरुद्ध हुने हिंसाका घटनाहरूमा त झन् हाम्रो समाजको दोहोरो चरित्र प्रस्ट देखिन्छ । एकातिर हामी देवीको पूजा गर्छौँ, अर्कोतिर महिलाको सम्मान गर्न सक्दैनौँ । एकातिर नारी शक्तिको गफ गर्छौँ, अर्कोतिर महिलाले न्याय माग्दा चरित्रमाथि प्रश्न उठाउँछौँ । घरभित्र पीडा सहेर बसेकी महिलालाई “सहनशील” बन्न सिकाइन्छ, प्रतिकार गर्न खोजेकी महिलालाई ‘बिग्रिएकी’ भनिन्छ । यही मानसिकताले धेरै महिलालाई चुप बस्न बाध्य बनाउँछ । चुपचाप सहन सिकाइएको समाजमा हिंसा झन् बलियो हुन्छ ।
अर्को कुरा हाम्रो समाजमा ’जे गरे पनि उम्किन सकिन्छ ।’ पैसा, पहुँच र चिनजान भयो भने कानुनलाई पनि किन्न सकिन्छ भन्ने मानसिकता फैलिँदै गएको छ । यही दण्डहीनताले अपराधीको हौसला बढाएको छ । अपराधीलाई कानुनको डर र पीडितलाई न्यायको भरोसा छैन । यस्तो अवस्थामा अपराध नबढोस् पनि कसरी ?
अलि पहिलेसम्म हाम्रो संस्कृतिमा धैर्य, क्षमा, करुणा र सहअस्तित्वका मूल्यहरू थिए । गाउँमा समस्या आयो भने समाज बसेर समाधान खोज्थ्यो । परिवारमा तनाव आयो भने ज्येष्ठ सदस्यहरूले सम्झाउँथे । अहिले मानिसहरू भौतिक रूपमा नजिक भए पनि भावनात्मक रूपमा एक्लिएका छन् । छिमेकीको नाम थाहा हुँदैन । सँगसँगै बलेनिपरिवारभित्र संवादको समय हुँदैन । मोबाइल छ, तर मन जोड्ने सम्बन्ध छैन । यही एक्लोपनले मानिसलाई भित्रभित्रै कठोर बनाइरहेको छ ।
यस्ता घटनाहरूको रोकथामका लागि केवल कानुन मात्रै कडा बनाएर पर्याप्त हुँदैन । कानुन आवश्यक छ, तर सामाजिक चेतनाको स्तरलाई वृद्धि गर्नु झनै बढी खाँचो छ । सम्भवतः विद्यालयमा नै भावनात्मक शिक्षाको आवश्यक छ । बालबालिकालाई रिस नियन्त्रण, संवाद, सहिष्णुता र मानसिक स्वास्थ्यबारे सिकाउनुपर्छ ।
परिवारमा संवादको संस्कृति विकास गर्नुपर्छ । परिवारका सदस्यको गुनासो सुन्ने वातावरण बनाउन जरुरी छ । घरेलु हिंसालाई घरको निजी कुरा भनेर बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । सुरक्षा निकायले प्रारम्भिक उजुरीलाई गम्भीरतापूर्वक लिनुपर्छ । न्याय प्रणाली छिटो, निष्पक्ष र प्रभावकारी हुनुपर्छ । अपराधीले अपराधको परिणाम भोग्नै पर्छ भन्ने विश्वास स्थापित हुनुपर्छ ।
हाम्रो समाजको अर्को रोग हो संवेदनहीनता । आज हत्या भएको समाचार हेरेर मानिसहरू केही मिनेट दुःखी हुन्छन्, त्यसपछि अर्को भिडियो हेर्न थाल्छन् । पीडालाई पनि मनोरञ्जनको सामग्री बनाउने प्रवृत्ति बढ्दो छ । कुनै परिवार शोकमा डुबेको बेला सामाजिक सञ्जालमा लाइक र भ्युजको व्यापार चलिरहेको हुन्छ । यस्तो संवेदनहीन समाजमा अपराध प्रति आक्रोशभन्दा जिज्ञासा बढी हुन्छ । यही कारणले पनि मानवीय मूल्यहरू कमजोर हुँदै गएका छन् ।
आज हाम्रो समाजलाई बाहिरको शत्रुले होइन, भित्रको रिस, कुण्ठा, लोभ, अहंकार र संवेदनहीनताले खाइरहेको छ । समयमै सचेत नहुने हो भने घरहरू घर कम र शोकका कथा जन्माउने ठाउँ बढी बन्ने खतरा बढ्दै जानेछ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदनाका शब्दभन्दा हामीभित्र मानवीयताको खाँचो छ, जसले समाजलाई चिनोस्, बुझोस्, बुझाओस् र मान्छेलाई मानिस बनाओस् । जनावर होइन ।
लमही दाङ, हालः साउदी अरेबिया














