काठमाडौं । चीन भ्रमणमा जाने तयारीमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते बिहान बेइजिङ पुग्ने कार्यतालिका रहेको छ । परराष्ट्र मन्त्रालयले अझै औपचारिक घोषणा नगरे पनि चीनस्थित नेपाली दूतावासले भ्रमणको तयारी तीव्र पारेको छ ।

जेठ ३१ गते साँझ ५ बजे बेइजिङमा रहेका नेपालीहरूसँग अन्तर्क्रिया कार्यक्रम राखिएको छ । असार १ गते बिहान चाइना एकेडेमी अफ साइन्ससँग शिक्षा, विज्ञान तथा प्रविधि सहकार्यका विषयमा छलफल हुनेछ । त्यस दिन दिउँसो र असार २ गते राजनीतिक भेटघाट कार्यक्रम छ ।
मन्त्री खनालले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेट्ने छन् । असार २ गते साँझ लगानी सम्मेलनमा सहभागी हुने खनालले नेपालमा चीनले गर्न सक्ने लगानी तथा सम्भावित क्षेत्रबारे छलफल गर्नेछन् ।
भ्रमणका क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको विषयलाई समकक्षी वाङ यीसँग उठाउने तयारी छ । चिनियाँ पक्षले बिआरआई परियोजनाहरूमा नेपाल सरकारको धारणा जान्न चाहेको छ । पूर्वप्रधानमन्त्री केपी ओलीको भ्रमणका बेला फ्रेमवर्क सम्झौता भएका टोखा९छहरे सुरुङमार्ग, जिलोङ-काठमाडौं रेल्वे, औद्योगिक पार्कलगायत परियोजनाको प्रगतिबारे पनि छलफल हुने छ ।














