काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।

जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रमा पर्ने लामीडाँडाको ढाँडखर्कबाट झरेको पहिरोले सडक अवरुद्ध बनाएको हो । लेदो माटोसहितको पहिरोले तल्लो क्षेत्रका सडक, कुलो लगायतका संरचनामा क्षति पुर्याएको छ ।
सडकमा क्षति पुगेका कारण भोजपुरदेखि काठमाडौं आउजाउ गर्ने तथा दिक्तेल, बानाचुङदेखि भोजपुर हुँदै पुर्वी सहर जाने–आउने सवारी साधन रोकिएका छन् ।
रुपाकोट मझुवागढी नगरपालिकाले क्षतिग्रस्त सडक मर्मतका लागि डोजर र स्काभेटरसहितको जनशक्ति परिचालन गरेको छ ।














