Logo
Logo

चीन यात्राका अन्तिम दिनहरु सम्झँदा


252
Shares

चीन बसाइका अन्तिम दिनहरु सकिँदै जाँदा मेरो सबभन्दा नजिकको साथीजस्तो लाग्ने डायरीका पानाहरु पनि सकिँदै थिए । त्यो डायरीका तिनै पानाहरूले अहिलेसम्म पनि चीन बसाइका सबै पक्षहरू, बदलिँदो चीनको साक्षी हुँदाको अनुभव, आफ्नै दुःख–सुखका भोगाई, हामीले पढेको युनिभर्सिटीहरूका अनेक अनुभव, अनि कहिले कठिनाइका बेला हृदयदेखि नै सहयोग गर्ने साथीहरुका बारे सम्झिन सघाइरहेका छन् ।

तर डायरी लेख्नुको एउटा नकारात्मक पक्ष पनि हुँदोरहेछ– समयसँगै बगेर विगतमा विलीन भइसकेका दुःखका अनुभव पनि फेरि ब्युतेर आउँछन् र निको भइसकेको घाउलाई कोतर्न थाल्छन् । शान्त भइसकेको चित्तलाई फेरि फेरि दुखाइदिन्छन् । हुन त बितिसकेको कुरामा धेरै चित्त दुखाएर फाइदा नै के छ र ! बाँच्ने त वर्तमानमा नै हो । विगतबाट त पाठ मात्रै सिक्ने हो नि ! तर कहाँ हो कहाँ स्मृतिको कुनै तहमा लुकेर बसेका दुःखका क्षणहरूलाई फर्केर आउन नदिन चेतनालाई गाह्रै हुँदो रहेछ ।

चीनको बसाईले हामीलाई औपचारिक डिग्रीहरु मात्र दिएको होइन। जीवनका मसिना मसिना तथ्यहरु पनि उजागर गरिदियो । बाँच्न सिकायो । मेरो निम्ति त लेखनमा सबै भन्दा अगाडि बढेको बेला पनि चीन प्रवासकै समयमा हो । एउटा लेखकको निम्ति अन्तर्राष्ट्रिय पत्रिकामा लेखहरु छापिनुको अर्थ नै भिन्दै हुन्छ । लेखेर कमाउनुको आत्मविश्वास भिन्दै नै हुँदो रहेछ । लेखक हुनुको इज्जत के हो भन्ने कुरा त जापानमा पुग्दा नै थाहा भइसकेको कुरा भयो ।

हामी मान्छे हुनुको नाताले स्वतन्त्र छौं । तर बन्दी पनि छौं । त्यो बेला परिवार देश भनेर उताका सबै कुरा छोडेर हतार गरेर फर्कियौं पनि । वास्तवमा सरोजलाई उनका साथीहरुले भनेका थिए( तिम्रो देश फर्केर तिमीले पाउने के हो रु किमोले त नजाउ नै भनेका थिए– ‘तिमी जस्तो बुद्धि भएको मान्छेले त बाहिरै बसेर देशको निम्ति धेरै काम गर्न सक्छौ नि ! तिम्रो देशमा त जनता भन्दा नेता नै धेरै छन् जस्तो छ । काम गर्न नै दिंदैन तिमीलाई । बरु हामी दुई अर्कै देशमा गएर मिलेर काम गरौं १ तिमी आफ्नो बुध्दि प्रयोग गर । म सबै व्यवस्थापन गर्छु …’ उनले पि एच डि गरेका थिएन । उनी आफ्नो पढाई सकेपछि नर्वेकी केटी साथीसँग नर्वे गएर केही नयाँ काम गरेर पनि देखाए । उनको देश त उहीबेला पनि थिएन । पढाइमा त्यति तेजिलो नभए पनि व्यवहारिक ज्ञान धैरै थियो उनीसँग । मन पनि राम्रो थियो ।

हामी छिट्टै देश फर्किदैछौं भन्ने कुराले सरोजका मिल्ने साथीहरु–चिनियाँ सहपाठीहरु पनि त्यति खुसी थिएनन् । अझै लम्बिए हुन्थ्यो हाम्रो समय भनेर चाहना राख्ने र अनेक बाटो देखाउनेहरु पनि थिए । सरोज र चीनको सम्बन्ध भनेको मेरो भन्दा फरक छ । भावनात्मक सम्बन्ध गाडा थियो । पहिलो चोटी जाँदा त पुल्पुलिएको छोरा जस्तै बनाउने शिक्षकहरु पनि थिए रे ।

पछि म जाँदा पनि मलाई समेत सहयोग गर्ने असल गुरुहरुलाई भेट्न पाएँ । त्यो एउटा त्यस्तो समय थियो जतिबेला आजको जस्तो इन्टरनेट, ए आई आदि जन्मिएकै थिएनन् । चीन पनि आजजति विकसित थिएन । तर विकासको निम्ति मरिमेटि लागिरहेका थिए । त्यति व्यस्त शाङहाईमा पनि भर्खरै सुरुङ मार्ग खनिँदै थियो । म पाँच वर्ष बसेँ शाङहाईमा – ती पाँचवर्षमा नै भएका भौतिक विकास र परिवर्तन अविश्वसनीय लाग्थे । अहिलेको चीन र उहिलेको चीन बीच त आकाश जमिनकै फरक भैसकेको छ । शायद चिनियाहरूको जीवनशैली, विश्वास, प्राथमिकता आदिसँगै विदेशीहरूप्रतिको व्यवहारमै पनि भिन्नता आइसकेको छ कि !

त्यतिबेला चीनमा पढ्ने नेपाली लगायत विभिन्न देशबाट आउने विद्यार्थीहरुको पनि सम्झना आउँछ । यी हरफहरु लेखिरहँदा एकजना हाम्रै देशका एक असल विद्यार्थीलाई सम्झँदा मन केही भारी पनि हुँदैछ ।

सरोजलाई आफ्नै दाइजस्तो माया र सम्मान गर्ने, उनको चिनिया सहपाठीसँग प्रेम सम्बन्ध थियो । उनीपनि हामीकहाँ बरोबर आईरहन्थिन् । कतिपय चिनिया केटीहरुको अपेक्षा त्यतिबेला एउटा विदेशी केटासँग सम्बन्ध बनाएर बाहिरी संसारमा जाने पनि हुन्थ्यो । कति त कागजी बिहेको नाटक गरेर पश्चिमा मुलुक पुग्ने केटीहरु पनि थिए । त्यसैगरी जाने केटाहरु पनि थिए ।

हाम्रा मित्रहरुको मामला भने अलि फरक नै थियो । उनीहरु साँच्चै बिहे गर्न चाहन्थे । तर व्यावहारिक समस्यामात्र नभएर उनीहरुको सम्बन्धको जग बलियो छैन कि भन्ने हामी दुवैलाई लागेको थियो । निर्णय लिनु भन्दा पहिले एकचोटी राम्रोसँग विचार गरू भन्नु पर्छ कि भनेर हामी कुरा गथ्र्यौँ । एकदिन सरोजले आँटै गरेर दुवैलाई बोलाए । र साँच्चै भनिदिए – ‘तिमीहरुको स्वभाव नमिलेर त केही हुँदैन, विस्तारै बानी पर्दै जाला ।

तर तिमीहरूको प्राथमिकता नै फरक छ जस्तो लाग्छ मलाई । प्रेम र मित्रता भनेको फरक हुन्छ । मित्रता र आकर्षण फरक हुन्छ । एकचोटी राम्रोसँग विश्लेषण गर– तिमीहरुकोबीचको सम्बन्ध साँच्चै प्रेम हो कि हैन रु बिहे गर्ने निर्णय गर्नका निम्ति अहिलेको यो सम्बन्ध यथेष्ठ छ कि छैन । बिहे गर्नु भनेको त एकदमै ठूलो निर्णय पो हो त अहिले हतारमा बिहे गरेर पछि नमीठोसँग छुट्टिनु भन्दा अहिले नै साथीका रूपमा छुट्टिँदा बरु पछिसम्म त्यो मित्रता कायम राख्न सम्भव हुन्छ । राम्रो विचार गरेर मात्र निर्णय गर …’ तर उनीहरुले बिहे गर्ने निर्णय गरिसकेका थिए । बिहेभोजमा हामी पनि सामेल भयौँ । तर दुर्भाग्य, उनीहरुको दाम्पत्य सम्बन्ध लामो हुन पनि सकेन ।

चीनको अन्तिम बसाई तिर मेरो पासपोर्टको अवधि पनि सकिएको थियो । भिसा थप्न गाह्रो होला भन्ने डर थियो । नयाँ पासपोर्टको निम्ति पइचिङमा रहेको नेपाली दूतावासमा दुई महिना अगाडि नै पठाइसकेको थिएँ निवेदन र पुरानो पासपोर्ट । तर हाम्रो देशको राज्य यन्त्रमा त्यो बेला पनि जताततै व्याप्त थियो ढिलासुस्ति । पासपोर्ट बेलामा फर्किएन ।

एक डेढ महिना जति त भिसा बिना नै त्यहाँ बस्न बाध्य भएँ । एकजना अध्यागमन कर्मचारी आफै छात्रावासमा आउने गर्थे र छात्रावासका अधिकृतको सहकार्यमा विदेशी विद्यार्थीहरुको भिसाको सबै काम हेर्थे । त्यही क्रममा हामीलाई पहिलेदेखि चिनेको हुँदा उनले यो कुरा राम्रोसँग बुझेका थिए । उनैले एउटा सानो चिटजस्तो कागजात बनाइदिए र ‘कसैले खोजे यो देखाउनु है, पीर गर्नु पर्दैन’ भनेर ठुलो ढाढस दिए । उनको यो सहयोगलाई पनि म बिर्सिन सक्तिनँ ।

प्रतिक्रिया दिनुहोस्