Logo
Logo

रवि लामिछानेको भारत भ्रमणले सम्बन्धमा नयाँ मोड


डा. दीपेश केसी

1.1k
Shares

भारतसँगको सम्बन्ध पुरानो राजनीतिक बोझ वा विवादको झोला बोकेर अघि नबढ्ने परराष्ट्रमन्त्री शिशिर खनालको अभिव्यक्ति महत्त्वपूर्ण सन्देश रह्यो । भारतका विदेशमन्त्री एस.जयशंकरसँग नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तामा दुवै देशका विदेश सचिव, राजदूतसहित उच्च अधिकारी सहभागी थिए । उनले भनेको विवादको झोला नबोक्ने विषय सीमा समस्या, सन्धि पुनरावलोकन देखि गोर्खा भर्तीसँग सम्बन्धित अग्निपथ परियोजनालगायतसँग सम्बन्धित देखिन्छ । थाती रहेको पुरानो समस्याहरू कि त समाधान हुनुपर्छ नभए बेवास्ता गरेर बढ्नुको विकल्प छैन, परराष्ट्रमन्त्री खनालको संकेत यसैतर्फ देखियो ।

स्वदेश फर्किएपछि उनले सीमा समस्याको मुद्दा भारतसँग उठाएको बताए । प्रधानमन्त्री बालेन साहको विवादास्पद अभिव्यक्तिलाई कूटनीतिक भाषामा मोड्ने प्रयास पनि गरे । उनले भारतसँगको सीमा समस्यामा तेस्रो पक्षको संलग्नता नचाहेको स्पष्ट पार्दै बेलायतसँग पुरानो दस्तावेजको पहुँच स्थापना गर्न प्रयास गरिने बताए ।

प्रधानमन्त्री बालेन साहले संसदको रोष्टममा उभिएर लिपुलेक लिम्पियाधुराको विषयमा बेलायत सरकारसँग पनि कुराकानी गरिएको र सीमा समस्या समाधान गर्न उसको सहभागितामा जोड दिएका थिए । भारतले तेस्रो पक्षको सहभागितालाई इन्कार गर्दै लिपुलेकमा दाबीलाई पुनः जोड दिएको थियो विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालमार्फत ।

इपिजिको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको अनुमति विना सार्वजनिक नहुने भन्दै यो विषयलाई थाती नै राख्ने संकेत गरे । इपिजिको प्रतिवेदनमा भारत अघि बढ्न चाहँदैन भन्ने बुझाईका आधारमा यसलाई उप्काएर समस्या खडा गर्ने पक्षमा नयाँ सरकार देखिँदैन ।

मोदी सरकारले ल्याएको अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्तीबारे पनि संवादबाट हल खोजिने कूटनीतिक जवाफ मन्त्री खनालले दिए । अग्निपथको विरोध लगभग भारतको विपक्षीकै शैलीमा नेपालको विगत सरकारले पनि गरेको थियो । चार वर्षयता नेपालबाट गोर्खाभर्ती रोकिएको छ । हरेक वर्ष १५ सय जति नेपाली भारतीय सैनिकमा भर्ती हुँदै आएका थिए ।

चार वर्षयता भर्ती रोकिँदा ६ हजारको सङ्ख्या घटिसकेको छ । यही अवस्था रहेमा सन् २०३७ सम्ममा नेपाली नागरिक भारतीय सैनिकमा रहने छैनन् । यसमा द्विपक्षीय छलफलबाट हल कहिले निस्केला ? चासो बनेको छ ।

रविले किन पाए महत्त्व ?
भारत भ्रमणका बखत नेपाल र भारत दुवै देशका परराष्ट्रमन्त्रीहरुले गरेको संवादको केही अंश भिडियो समेत सार्वजनिक गरिएको थियो । जसले स्पष्ट रूपमा मन माझेर कुरा गरिएको र कतिपय समस्यालाई थाती राखेर अघि बढ्ने नयाँ सरकारको नीतिबारे सन्देश दियो । उनले भारतीय पक्षसँग सीमा विवादबारे सरकारका तर्फबाट आधिकारिक धारणा पनि स्पष्ट रूपमा अव्यक्त गरेर फर्किए । जसका कारण भारतीय पक्ष नयाँ सरकारप्रतिको सशंयलाई थाती राख्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग सिधा सम्पर्कमा रही सम्बन्धलाई अघि बढाउने नीतिमा पुग्यो । यसकारण पनि बालेनलाई भन्दा भारतले रास्वपा सभापति रवि लामिछानेलाई बढी महत्त्व दिएको कूटनीतिक क्षेत्रले अनुभव गरेका छन् ।

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार बनेयता कुनैपनि नेपाली नेताले नपाएको यति ठूलो सम्मान र स्वागत लामिछानेले पाए । उनको भ्रमणका लागि परराष्ट्रमन्त्री खनालको भ्रमण पनि केही दिन पछि धकेलियो । भ्रमणमा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित साहलगायत उच्चअधिकारीहरुसँग भेटवार्ता गरे । उनको लखनऊमा पनि भव्य स्वागत भयो । राम जन्मभूमि अयोध्यामा पुगेर लामिछानेले दुई देशबीचको सांस्कृतिक र धार्मिक सम्बन्धको महत्वलाई आत्मासाथ गरेको सन्देश दिए जुन पुराना दलका नेताहरूबाट सायदै भएको थियो ।

विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले त अयोध्यामा राम मन्दिर बनिरहँदा आस्थामाथि नै धावा बोल्ने गरी विवादास्पद अभिव्यक्तिहरू दिए । उनले राम जन्मभूमि ठोरीमा भएको दाबी गरेर चिढ्याइरहे । भारतका हिन्दुहरूले अयोध्यामा निकै लामो संघर्षपछि राम मन्दिर निर्माण गर्न सकेका थिए । यसकारण त्यो मन्दिर मात्र नभएर आस्था र प्रतिष्ठाको स्थल पनि हो । तर, त्यही भूमिमा नेपालबाट कुनै पनि उच्च तहको नेता पुगेका थिएनन् ।

लामिछानेले भारत भ्रमणको सूचीमा अयोध्या भ्रमणलाई पनि पारे । उनीसँगै भ्रमणमा पुगेकी धर्मपत्नी निकिता पौडेलले अयोध्याको मन्दिरको तस्बिर साझा गरिन् सामाजिक सञ्जालमा । अयोध्यामा राम मन्दिर निर्माणप्रति विगतका सत्तामा रहेका नेताहरूबाट खुशी व्यक्त गरिएको मात्र थिएन, रविले अयोध्यामै पुगेर मनोवैज्ञानिक सन्देश दिए । लामिछानेको अयोध्या यात्राबारे संकेत गर्दै भारतका विदेशमन्त्री एस जयशंकरसँग परराष्ट्रमन्त्री शिशिर खनालसँगको द्विपक्षीय वार्तामा दुई देशबीच साझा सांस्कृतिक र धार्मिक सम्बन्ध औँल्याएका थिए ।

विगतबाट सशंकित ?
नेपालसँग भारतको निकै नजिकको सम्बन्ध भएपनि बेला बेलामा समस्याहरू आउने गरेको छ । सीमालगायत समस्याहरू थाँती छन् जसको समाधान असम्भव नभएपनि सहज भने छैन । नेपालको सत्तारुढ शक्तिसँग भारतले सहकार्य गर्दै जाँदा विभिन्न खालका समस्याहरू आउने र हल हुने नभएको होइन । नेपालको राजनीतिक परिवर्तनहरुमा भारतको भूमिका छर्लङ्ग छ ।
राणाशासन अन्त गर्न खोलिएका मुख्य दलहरू नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना नै भारतमा भएको थियो । जसमा भारतको स्वतन्त्रता सङ्ग्रामको प्रभाव थियो ।

राणाशासन अन्त हुनुअघि राजा त्रिभुवन भारत निर्वासित भएका थिए । पञ्चायतको अन्त भई बहुदलीय प्रजातन्त्र स्थापना हुँदा भारतको साथ रहेको छर्लङ्ग छ । माओवादी हिंसा अन्त गर्ने १२ बुँदे समझदारी दिल्लीमा भएको थियो । त्यही समझदारीमा टेकेर शान्तिको मार्गमा पुग्यो नेपाल । त्यसपछि र अघि बनेका हरेक सरकारसँग भारतले सहकार्य गरेको थियो । तर, सत्तामा पुगेकाहरुबाट नै भारत विरोधी गतिविधिलाई राष्ट्रवादको भाष्य बनाउने प्रयासहरू भएपछि बेलाबखत सम्बन्धमा दरार नआएको होइन ।

नेपालमा २०७२ को संविधान बन्दा मोदी सरकारका कतिपय विषयमा रिजर्भेसन देखिन्थ्यो । संविधान बन्नुअघि मोदीका तत्कालीन विशेषदूत जयशंकर आएर मुख्य नेताहरूलाई भेटेका थिए । त्यसपछि खटपट यति बढ्यो कि नाकाबन्दी नै भयो । यो घटनाले नेपालको भारतसँगको सम्बन्धलाई इतिहासकै जटिल मोडमा पु¥याइदियो । महाभूकम्पको मौका छोपेर राजनीतिक स्वार्थ पूरा गर्ने आन्तरिक र बाह्य शक्ति नेपालमा हाबी भएको थियो । जसका कारण भूकम्पमा साथ र सहयोग दिने पहिलो छिमेकीसँग लगत्तैको सम्बन्ध चिसिन पुग्यो ।

त्यसपछि लिपुलेक, लिम्पियाधुराको विवाद हुँदै चुच्चे नक्सासमेत संसदले पारित भयो केपी ओली प्रधानमन्त्री हुँदाको बखत । संवादहरू पातलिन पुगे । भारतसँगको सम्बन्धलाई रसातलमा पु¥याउनमा ओलीले निकै ठूलो भूमिका खेले । उनले भारतविरुद्ध एकपछि अर्को कार्ड प्रयोग गरी सत्ता राजनीतिको खेल खेलिरहे ।

कुनैबेला भारतसँगको सम्बन्धलाई निकै महत्त्व दिने ओलीले आफू सत्तामा आएपछि भारतको विरोध गर्नुलाई नै राष्ट्रवाद हो भन्ने भाष्य बनाउन योगदान गरे । जसका कारण नेपालमा बन्ने सरकारहरुप्रति भारतले शंका र अविश्वास गर्ने परिस्थितिले जरा गाड्यो ।

भारतीय पक्ष पूर्ण तयारीका साथ द्विपक्षीय वार्तामा प्रस्तुत हुने र नेपालबाट लोकप्रियता हासिल गर्ने नाममा मात्र एजेन्डा प्रस्तुत गरिएको हल्ला मच्चाउने गतिविधि भए । जसका कारण समस्याको हल भएन, बरु बल्झाउने र विवाद बढाउने गरियो ।

बालेनसँग झस्कियो
बालेन नेतृत्वको नयाँ सरकारले समेत भारतलाई झस्काउने कार्य गरिदिएको थियो । भारतले दूत पठाउन खोज्दा समेत बालेनले भेट्न आनाकानी गरिदिए । अर्कोतर्फ, रवि लामिछाने भारत जानु एक दिनअघि बालेनको संसदको अभिव्यक्तिले भारतलाई सशंकित बनायो ।

भारतलाई आश्वस्त पार्नेगरी सभापति लामिछाने र परराष्ट्रमन्त्री खनालले पालैपालो भ्रमणबाट सन्देश दिन खोजे । तर, अखण्ड भारतको नक्साको बदलामा ग्रेटर नेपालको नक्शा राख्ने, विगतमा भारतप्रति व्यङ्ग्य गर्दै ¬¥याप गाउने देखि सीमाबारे विवादास्पद अभिव्यक्ति दिने बालेनप्रति भारतले भरोसा नगरेको घटनाक्रमले देखाउँदै गएको छ । यसकारण मोदीले बालेनलाई निम्तो दिइहाल्नुभन्दा रास्वपा सभापति लामिछानेलाई नै निम्तो दिएर पार्टी पार्टीबीचको सम्बन्धमा जोड दियो । यसबाट सत्तारुढ दलका नेतासँगै डिल गर्ने भारतको नीति देखियो ।

जयशंकरले समेत परराष्ट्रमन्त्री खनालसँगको द्विपक्षीय भेटवार्तामा रविको भ्रमण उल्लेख गरेर यसको संकेत गरे । यसबाट भारतले सत्ताको नेतृत्व गरेको रास्वपामार्फत् नै सहकार्य र सम्बन्ध बढाउन खोजेको देखिन्छ । पात्रहरु आउने जाने भएकाले सरकार सञ्चालन पद्धतिको केन्द्रमा जो छ उसैसँग सहकार्य गरी डिल गर्ने सन्देश पनि यी दुईवटा भ्रमणले दिएको छ ।

नेपाल–भारत सम्बन्धमा नयाँ मोड
क्षेत्रीय शक्तिबाट माथि उठेर विश्व राजनीतिमा नयाँ शक्ति बनेको भारतका लागि छिमेक नीति निकै महत्त्वपूर्ण देखिन्छ । त्यसमाथि नेपालसँग उसको विना तारबारको सीमा तीनतर्फ जोडिएको छ । साझा सांस्कृतिक र धार्मिक सम्बन्धका कारण नेपाल मामला प्राथमिकतामा परिहाल्छ । नेपालमा अर्को शक्तिले सक्रियता बढाएर भूराजनीतिक जोखिम पर्नसक्नेतर्फ उत्तिकै सचेत पनि देखिन्छ ।

यसकारण उसले नेपाल मामलामा शक्ति केन्द्रहरुसँग सम्बन्ध स्थापित गरी सहकार्यको रणनीति बनाउँदै आएको छ । भारतले राष्ट्रिय स्वतन्त्र पार्टीसँग औपचारिक अनौपचारिक सम्बन्ध बढाउने नीति यसकारण पनि लिएको देखिँदै छ । रास्वपा सभापति रवि लामिछानेले आकलन गरिएकोभन्दा बढी महत्त्व र स्वागत पाउनुको कारण उनको दलले हासिल गरेको शक्ति र सत्तामा बलियो अवस्था नै मुख्य कारण हो ।

रास्वपाका लागि भारतसँगको सम्बन्धबाट विगतका समस्याको हल निकाल्ने र हल ननिसक्ने समस्यालाई थाती राखेर बढ्ने चुनौती छ । समस्याको पोको बोकाएर बढ्न नदिने शक्तिहरू नेपाल र भारत दुवैतर्फ निहित स्वार्थ बोकेर सक्रिय छन् । त्यसलाई निक्र्यौल गरी दुई देशको सम्बन्धको लाभ निकाल्न सक्नुपर्छ ।

आर्थिक लाभ लिनसक्ने प्रशस्त अवसरहरू छन् । सांस्कृतिक र धार्मिक सम्बन्धबाट बहु क्षेत्रमा लाभ लिन सकिन्छ । विवादको पोको निकाल्ने तर समाधान गर्न नसक्ने विगतको प्रवृत्तिमा पूर्णविराम लगाएर ‘विन विन’मा जानेगरी सम्झौताहरू गर्दै जानुको विकल्प छैन । नत्र महाकाली बगिरहन्छ विद्युतको सपना हावामा उडिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्