Logo
Logo

‘मैले किन राजीनामा दिने ?’ : ओली

ओलीले केन्द्रीय कमिटी बैठक ‘फेस’ गर्ने


945
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्छ भनेर महासचिव शंकर पोखरेल निरन्तर आफैँ मैदानमा खटिएका छन् । बाग्मती प्रदेशको भेलामा महासचिव पोखरेलले समय र जनताको आवाज बोल्नु अपराध होइन भन्दै जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यहरुलाई लाइन दिएर मैदनामा खटिएका छन् ।

महासचिव पोखरेल निरन्तर नेतृत्वको विकल्प खोज्न मैदानमा खटिएको थाहा पाएपछि ओलीले लोभीपापीको संज्ञा दिएका छन् । बाग्मती प्रदेशको भेला सकिएपछि गुण्डु ओलीलाई भेट्न पुगेका नेताहरुमाथि ओली खनिएका थिए । ओलीले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललाई लक्षित गरेर एमाले फुटाउन लागेको संकेत गरेका थिए ।

एमालेमा देशभरका नेता, कार्यकर्ताले नेतृत्व पुनर्गठनको पक्षमा आवाज मुखरित गरिरहेका बेला चुनावी समीक्षा हुन थालेपछि ओलीका अर्का विश्वासपात्र रामबहादुर थापा बादलले समेत दुईलाइन संघर्ष रहेको स्वीकारेका थिए । उक्त भेलामा उनले नेतृत्वको रक्षा गर्नुपर्ने र पुनर्गठन गर्नुपर्ने दुवै विषयहरु उठेको स्वीकारेका थिए ।

कोशी प्रदेशका जिल्ला अध्यक्षहरुले एमालेमा ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै आलोचना गरिरहेका बेला बागमती प्रदेशका अधिकांश जिल्ला अध्यक्ष पार्टी अध्यक्ष ओलीकै निरन्तरताको पक्षमा खुले पनि केन्द्रीय सदस्यहरु तथा अन्य पदाधिकारीहरु भने पुनर्गठनको पक्षमा उभिएका थिए ।

कोशी प्रदेशमा औपचारिक बैठक बसेको छैन । कोशीका जिल्ला अध्यक्षहरुको अनौपचारिक छलफलले ओलीको विकल्प खोजेर जानुपर्नेमा सहमत भएका थिए ।

एमालेको चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश कमिटी बैठक तथा भेलामा अधिकांश जिल्ला अध्यक्ष ओलीकै निरन्तरताका पक्षमा खुलेका थिए । अध्यक्षबाहेक अन्य सहभागी र केन्द्रीय सदस्यहरु भने ओलीको विपक्षमा देखिएका थिए । त्यहाँ महासचिव पोखरेलले कार्याकर्ताहरुलाई जनताको आवाज बोल्न निर्देशन दिएका थिए । पार्टी जीवन जनतासँग जोडिएकाले नेतामुखी नबन्न चेतावनी दिएका थिए ।

चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुरु भएको सुझाव संकलन अभियान बागमती हुँदै सात प्रदेश, राजधानी प्रदेश तथा जनसंगठनमा पुगेर १९ असारमा सकिने गरी एमालेले कार्यतालिका बनाएको बेला महासचिव पोखरेल र उपाध्यक्ष पौडेल दुवै ओली हटाउ अभियानमा मैदानमा सक्रिय भएका छन् ।

बाग्मती प्रदेश बैठकमा एमालेका सात जिल्ला अध्यक्षले पार्टी संकटमा रहेका बेला पुनर्गठनका नाममा अध्यक्ष ओलीको विकल्प खोज्न नहुने पक्षमा रहे भने एक जना जिल्ला अध्यक्षले भने पक्ष–विपक्षमा स्पष्ट नखुली मध्यमार्गी विचार राखेका थिए । चितवनका कमल पाठक, दोलखाका नरबहादुर श्रेष्ठ, सिन्धुलीका महेन्द्रदेव श्रेष्ठ, काभ्रेका राजन भुर्तेल, मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा, धादिङका कार्यवाहक अध्यक्ष राजु गोर्खाली ओलीको निरन्तरताको पक्षमा खुलेका थिए ।

ओलीले आफूले कुनै गल्ती नगर्दा पनि हटाउन खोजिएको भन्दै अब केन्द्रीय कमिटी ‘फेस’ गर्ने सुनाएका थिए ‘मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन ? तर म सबै कुरा केन्द्रीय कमिटीमा बताउँछु, त्यहीँ ‘फेस’ गर्छु, पार्टीको महत्वपूर्ण थलो त्यही हो, त्यसले विवेकसम्मत निर्णय गर्ला ।’

त्यसैगरी, रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले भने पार्टीभित्र कहीँ न कहीँ समस्या थियो भने स्वीकारेर समीक्षा गर्दै अघि बढ्दामात्र एमाले बलियो हुने विचार राखेका थिए । बैठकमा दोलखा र सिन्धुलीका अध्यक्ष, धादिङका अध्यक्षले पार्टी र नेतृत्वमाथि प्रतिक्रियावादीले चौतर्फी हमला गरिरहेका बेला ओलीको विकल्प खोज्ने जो–कोही नेतालाई कारबाही गरेर भए पनि जानुपर्ने कडा विचार राखेका थिए ।

बैठकमा सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ, नुवाकोटका बद्री मैनाली र रसुवाका अध्यक्ष उपस्थित थिएनन् । बागमती भूगोलभित्रकै काठमाडौँ, ललितपुर र भक्तपुरलाई भने एमालेले राजधानी प्रदेश कमिटीभित्र समेटेको छ ।

बैठकमा कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष रामबहादुर थापाले अहिले पार्टीभित्र पुनर्गठनका नाममा दुई लाइन संघर्ष सुरु भएको संकेत गर्दै समीक्षाकै सिलसिलामा सातै प्रदेश तहमा भेला गर्न लागिएको बताएर नेताहरुलाई खुलेर आफ्ना धारणा राख्न सुझाएका थिए ।

२६ जेठमा बसेको कार्यदल बैठकले सातवटै प्रदेशमा सुझाव संकलन अभियान सुरु गर्ने निर्णय गरेको थियो । त्यसअन्तर्गत बागमतीमा बैठक र भेला भएको हो । भेला सकिएपछि बाग्मतीको टोली अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेको थियो । त्यस क्रममा एमालेका अध्यक्ष ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले पुनर्गठनका नाममा पार्टी फुटाउन खोजेको गम्भीर आरोप लगाएका थिए ।

केन्द्रीय सचिवालयमा पौडेल र पोखरेलले साथ छोड्दा अल्पमतमा परेपछि पुनर्गठनका लागि कार्यदल बनाएर छलफल गर्न बाध्य भएका ओलीले शनिबार साँझ गुण्डुस्थित निवासमा उनीहरुलाई नै लक्षित गर्दै त्यस्तो गम्भीर आरोप लगाएका हुन् ।

चुनावी समीक्षा र पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डुस्थित निवासमा आएका अगुवा–नेता कार्यकर्ताहरुमाझ ओलीले पौडेल र पोखरेलमध्ये एउटालाई लोभी र अर्कोलाई पापीको समेत संज्ञा दिएको सहभागी एक केन्द्रीय सदस्यले दृष्टिलाई बताए ।

‘अहिले एमालेमाथि चारैतिरबाट हमला भइरहेका बेला पुनर्गठनका नाममा पार्टीलाई फुटाउन खोजिँदैछ तपाईँहरु सचेत रहनुस्’ ओलीको भनाइ उद्धृत गर्दै एक सहभगी केन्द्रीय सदस्यले भने, ‘अहिले कोही लोभी कोही पापी भएर निस्किए त्यसैले अहिलेलाई म केही भन्दिनँ रामराम मात्रै भन्न सक्छु तर काँधै त थाप्न सक्दिन ।’

ओलीले आफूले कुनै गल्ती नगर्दा पनि हटाउन खोजिएको भन्दै अब केन्द्रीय कमिटी फेस गर्ने सुनाएका थिए ‘मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन ? तर म सबै कुरा केन्द्रीय कमिटीमा बताउँछु, त्यहीँ फेस गर्छु, पार्टीको महत्वपूर्ण थलो त्यही हो, त्यसले विवेकसम्मत निर्णय गर्ला ।’ ओलीको भनाइ थियो । ओलीले आफूले के चाहिँ गल्ती गरेको र हटाउन खोजियो भन्ने नबुझेकोसमेत अगुवा नेता–कार्यकर्ताहरुसँग गुनासो पोखेका थिए ।

ओलीको यस्तो अभिव्यक्ति आएपछि विष्णु पौडेलले त्यसलाई हलुका प्रतिवाद गरेका छन् । शनिबार बागमती प्रदेशमा पुनर्गठन र चुनावी समीक्षाको सुझाव संकलन सकिएपछि पार्टी पुनर्गठन तथा चुनावी समीक्षा कार्यदलका सदस्यसमेत रहेका उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत त्यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘आज नेकपा (एमाले), बागमती प्रदेश संगठन कमिटीको आयोजनामा काठमाडौँको जडीबुटीमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव संकलन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । छलफलमा भाग लिनुहुने र सशक्त ढंगले आ–आफ्ना विचार तथा विश्लेषण प्रस्तुत गर्नुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक धन्यवाद’, पौडेलले भनेका छन्, ‘जरूर हामी कमरेडहरूले अपेक्षा गर्नु भएअनुरूप नै आम निर्वाचन– २०८२ को वस्तुनिष्ठ समिक्षा गर्न र नेकपा (एमाले)को गुमेको जनमत र प्रतिष्ठा पुनस्थापित हुनेगरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुनेछौं ।’

वागमतीका अधिकांश जिल्ला अध्यक्षहरु शुक्रबार ओलीलाई हटाउन नहुने पक्षमा उभिए पनि शनिबार भने थुप्रै जिल्ला पदाधिकारी र कतिपय जनप्रतिनिधि ओलीलाई हटाएर नेतृत्व हस्तान्तरणको पक्षमा खुलेर आफ्ना प्रष्ट र सशक्त मान्यता राखेकोमा उनले बधाई भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्