Logo
Logo

मालिकाको दरवाङ-फूलबारी सडक स्तरोन्नति


504
Shares

म्याग्दी ।  मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी-च्युरीबोट-सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । 

The current image has no alternative text. The file name is: sadk-1.jpg

विसं २०६६ मा मार्ग खुलेको सडकको दरवाङ-फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको आयोजना लक्ष्यअघि नै सम्पन्न भएको हो । मार्ग खुलेदेखि हालसम्म यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो ।

प्रदेश समपूरक शीर्षकमा गाउँपालिकाले चालु आवमा रु एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मङ्गला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजार ४३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको थियो । आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा १५ दिनअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद कम्पनीले लिएको जिम्मेवारी समयमै पूरा गरेको उनले बताए । । 

तीन दशमलव पाँचदेखि चार मिटर चौडाइ भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ । फराकिलो पारेपछि करिब ५०० मिटर दूरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्याबियन, पलम पर्खाल निर्माण र एक ठाउँमा कजवे निर्माण गरिएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाले बताए  ।  

“यस आयोजनामार्फत ११ हजार घनमिटर भित्ता काट्ने, ४४५ घनमिटर ग्याबियन जालीको पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण गर्ने सम्झौता भएको थियो”, उनले भने “प्राविधिक टोलीबाट नापजाँच र मूल्याङ्कनको चरणमा रहेको छ ।”

यसअघिको वर्षमा थापाचौरदेखि देविस्थान जाने घुम्तीसम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिका–४, २, र ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् । यो मालिका गाउँपालिकाको चालु आवको प्राथमिकताप्राप्त आयोजना भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताए ।

प्रतिक्रिया दिनुहोस्