काठमाडौं । लगातार चार दिनको गिरावटपछि बुधबार सेयर बजार स्थिर देखिएको छ । यस दिन नेप्से परिसूचक केवल ०.०८ अंकले बढ्दै अघिल्लो दिनकै स्तर २७०५ मा रोकिएको हो ।

अघिल्ला चार कारोबार दिनमा बजार निरन्तर ओरालो लागेको थियो । मंगलबार ६ अंक, सोमबार १२ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले नेप्से घटेको थियो ।
बुधबार बजारमा उतारचढाव न्यून रह्यो भने कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित भयो ।
आज कुल १२० कम्पनीको सेयर मूल्य बढ्यो भने १३५ कम्पनीको मूल्य घट्यो । १६ कम्पनीको मूल्य स्थिर रह्यो । समग्रमा सबै समूहगत सूचकको परिवर्तन १ प्रतिशतभन्दा कम सीमाभित्र रह्यो, जसले बजारमा सुस्त गतिविधि देखाएको छ ।
क्षेत्रगत रूपमा अधिकांश सूचक रातो रहँदा बैंकिङ ०.१८, होटल तथा पर्यटन ०.६४, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.५५, अन्य ०.०८ तथा व्यापार ०.६० प्रतिशतले घटे । त्यस्तै उत्पादन तथा प्रशोधन ०.५१, लगानी ०.५३, हाइड्रोपावर ०।३० र फाइनान्स ०.१४ प्रतिशतले ओरालो लागे । विकास बैंक समूह भने ०.४६ अंकले मात्र हरियो रह्यो ।
आज दुई नयाँ सूचीकृत कम्पनीले १५ प्रतिशतको सकारात्मक सर्किट वृद्धि हासिल गरेका छन् । सोपान फर्मास्युटिकल्सको सेयर मूल्य प्रतिकित्ता ८०८.५० रुपैयाँ पुगेको छ भने एपोलो हाइड्रोपावरको मूल्य ६९२.७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ४.२४ प्रतिशतले बढ्यो भने दोल्ती पावर ३.३५ प्रतिशत र कालिन्चोक हाइड्रोपावर २.६१ प्रतिशतले घटे ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी रहेका छन् ।














