
काठमाडौं । नेकपा एमालेले ‘मिसन पार्टी जागरण २०८३’ विशेष अभियान देशव्यापी रूपमा सुरु गरेको छ ।
पार्टीलाई सबल, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्यका साथ एमालेले असार ४ गते विराटनगरबाट अभियानको औपचारिक शुभारम्भ गरेको हो । उक्त कार्यक्रम अन्तर्गत असार ५ गते लुम्बिनीमा केन्द्रीय प्रतिनिधिहरूको विशेष अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम गरेर हुँदैछ ।
वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै आम कार्यकर्तामा नयाँ ऊर्जा भर्न र जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्न राष्ट्रिय अभियान थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
उनका अनुसार पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई आत्मसात् गर्दै अभियान वडा र टोल सतहसम्मै उत्साहका साथ सञ्चालन गरिनेछ । अभियानका क्रममा एमालेले विगतमा अघि सारेको प्रख्यात ’६–ज’ को नीतिलाई भूइँतहसम्मै प्रभावकारी ढङ्गले लागू गर्ने रणनीति लिएको छ ।
‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबज अध्ययन र आत्मसात् गरौँ, र योग्य एवं सक्षम नेतृत्व तयार गरौँ’ भन्ने संकल्पहरू समेटिएका छन् ।
अभियानलाई व्यवस्थित र परिणाममुखी बनाउन विभिन्न प्रदेश कमिटीहरूले केन्द्रीय प्रतिनिधिहरूको कार्यविभाजन र अभिमुखीकरण कार्यक्रमलाई तीव्रता दिइरहेको एमालेले जनाएको छ । हरेक पालिकाको वडा तहमा केन्द्रित हुने अभियानले पार्टी सङ्गठनलाई चुस्त, गतिशील र प्रविधिमैत्री बनाउने एमालेको लक्ष्य छ ।
विशेष गरी, यस पटक एमालेले नेतृत्वमा युवा पुस्तालाई विशेष प्राथमिकता दिँदै ३५ वर्षमुनिका युवालाई वडा कमिटी र ४० वर्षमुनिका युवालाई पालिका कमिटीको नेतृत्वमा अघि बढाउने आँटिलो र दूरगामी नीति अघि सारेको छ ।














