
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत अगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमा संशोधन हाल्ने भएको छ । शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले बजेट प्रस्तावमा संशोधन हाल्ने निर्णय गरेको हो ।
आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले असार १ गते मध्यरातमा अगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
उक्त बजेटमा विनियोजन विधेयकको सिद्धान्तविपरीत भएको, मन्त्रालयगत बजेटको विनियोजन नराखिएको, योजना छनोट मापदण्ड मिचिएको लगायतका विषयमा प्रश्न उठाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय लिइएको एमाले संसदीय दलले जनाएको छ ।
संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । संसदीय दलले गरेको निर्णयका आधारमा अब संशोधन प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिने छ ।














