Logo
Logo

कांग्रेसले सरकारको १०० दिने कार्यसम्पादनको वस्तुगत समीक्षा गर्ने


252
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको १०० दिनको कार्यसम्पादनको औपचारिक समीक्षा गर्ने भएको छ ।शनिवार सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारका प्रतिबद्धता र कार्यान्वयनको अवस्थाबारे गहन समीक्षा गर्ने  निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: pradeep-paudel.jpg

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको उक्त बैठकले सरकार गठन भएको १०० दिन पुग्दै गर्दा यस अवधिमा भएका कामकारबाही र उपलब्धिहरूको वस्तुगत समीक्षा गर्ने निर्णय गरेको हो । 

बैठकपछि महामन्त्री प्रदीप पौडेलले सरकारका वाचाहरू र यथार्थबीचको खाडलका विषयमा संसदीय दलले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने जानकारी दिए ।

बैठकले संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने र संसद्मा कांग्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

पौडेलका अनुसार राष्ट्रिय महत्त्वका विषय र जनजीविकाका सरोकारलाई सदनमा सशक्त ढङ्गले प्रस्तुत गर्न सांसदहरूलाई आवश्यक सहजीकरण गरिनेछ ।

‘संसदीय दललाई कसरी प्रभावकारी बनाउने र पार्टीसँगको समन्वयलाई कसरी सहज बनाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ,’ उनले भने, ‘जनताको आवाजलाई संसद्सम्म पुर्‍याउन पार्टीले संसदीय दललाई थप सहयोग गर्नेछ।’

प्रमुख प्रतिपक्षको भूमिका कमजोर भएको भनी भइरहेका टिप्पणी उनले कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको बताउँदै सदनमा संसदीय दलका नेता र सांसदहरूले सक्रियताका साथ आवाज उठाइरहेको दाबी गरे ।

सरकारले प्रतिपक्षको आवाजलाई नजरअन्दाज गरे त्यसको अन्तिम मूल्याङ्कन जनताले गर्ने उनको तर्क थियो । पार्टीको आन्तरिक व्यवस्थापन र देखिएका असन्तुष्टिका सन्दर्भमा महामन्त्री पौडेलले कांग्रेसजस्तो लामो इतिहास बोकेको ठुलो दलमा व्यक्ति व्यवस्थापनको चुनौती रहनु स्वाभाविक भएको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्