काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘बालेनले राजा ल्याउँछन्’ भनेर जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट दिएको दाबी गरेका छन्।

आइतबार चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले रास्वपाले पाएको मतभित्र ‘देशमा राजा चाहिन्छ’ भन्नेहरूको पनि ठूलो हिस्सा रहेको बताएका हुन्।
“यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि मत छ,” सम्बोधनका क्रममा उनले भने, “बालेनले राजा ल्याउँछन् भनेर तपाईंहरूलाई भोट दिने मान्छेहरू पनि छन्।”
उनले देशको वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समस्या रहेको औंल्याए। “संविधानमा परिमार्जन नगरिकन र यसमा राष्ट्रिय सहमति नजुटाईकन देशले सही बाटो (लिक) समात्न सक्दैन,” लिङ्देनले थपे, “तपाईंहरूले यो ऐतिहासिक जिम्मेवारी र अवसर प्राप्त गर्नुभएको छ, यसको सही सदुपयोग होस्।”
साथै, उनले निषेधको राजनीति त्यागेर सहमतिको राजनीति गर्दै अगाडि बढ्न रास्वपा नेतृत्वलाई सुझाव समेत दिएका छन्।














