
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरु विधिसम्मत र संविधानभन्दा बाहिर नहोस भन्नेकुरामा पर्याप्त ध्यान दिन सरकार र रास्वपालाई आग्रह गरेका छन् । चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
नेता पुनले भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफनो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै उक्त विषयमा सधैं साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे । उनले विगतमा आफूहरुले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढाएको दावी पनि गरे ।
उनले भने, ‘सुशासनको एजेण्डामा हामीबीच समानता छ । हामीले विगतमा सरकार रहँदा र बाहिर रहँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौ । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जतिको निकट सहकार्य सायद अरुको बीचमा भएको छैन । कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौँ । आज पनि सुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा हाम्रो यहाँहरुलाई पूर्णसमर्थन छ । भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा हामी सँगै थियौ, छौँ र रहनेछौँ । त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह–थिति बसाउने चालिएको कदमहरुमा विधिसम्म र संविधान भन्दा बाहिर नहोस भन्नेकुरामा तपाईको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
नेता पुनलेसुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा रास्वपालाई पूर्ण समर्थन गर्ने पनि बताए ।














