काठमाडौं । पोखराको पोखरा महानगरपालिका-१५, मेरिगोल्डस्थित एक घरमा झ्यालढोका नाप्ने बहानामा प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत जेठ २४ गते दिउँसो करिब २ः१८ बजे मनिषा थापाको घरमा उनकी बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति ‘झ्यालढोका बनाउनका लागि नाप्न आएको’ भन्दै घरभित्र प्रवेश गरेका थिए । त्यसक्रममा उनले घरको कोठाभित्र रहेको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद १३ हजार रुपैयाँ चोरी गरेको कास्की प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा जिल्ला सर्लाही लालबन्दी नगरपालिका-१७ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका९९, शिवनगर टोल बस्दै आएका ३५ वर्षीय भुवनबहादुर साह शङ्करको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले असार ४ गते काठमाडौंस्थित प्रहरी प्रभाग काँडाघारीको सहयोगमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहको कोठाबाट चोरीका विभिन्न सामान बरामद गरिएको छ ।
थप अनुसन्धानका क्रममा साहले चोरी गरिएका सुनका बाला ६ लाख ५० हजार रुपैयाँमा बिक्री गरेको खुलाएपछि ती गहना खरिद गर्ने ३५ वर्षीय बिराज सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सुनार जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिका९२ का स्थायी बासिन्दा भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका९७, मूलपानीमा बस्दै आएका छन् ।
प्रहरीले उनीहरूबाट सुनजस्तो देखिने पहेँलो धातुका तिलहरी, चन्द्रमा, झुम्का, औँठी, मुन्द्रा, चाँदीजस्तो देखिने बाला, सिक्का र सिक्रीसहित नगद ८१ हजार ५०० रुपैयाँ तथा घटनाका बेला प्रयोग गरिएको ज्याकेट र पाइन्ट बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














