Logo
Logo

पोर्चुगलले जित्ला विश्वकप ?


378
Shares

The current image has no alternative text. The file name is: 2083-03-07-World-Cup-2026-Ronaldo-THUMBNAIL.jpg

मेस्सी र रोनाल्डोमध्ये को ‘सर्वकालीन महान’ भन्ने बहस सधैँ चल्दै आएको छ । यो बसह यसपटको विश्वकपमा पनि उत्कर्षमा छ । तर, मेस्सीको उचाइमा पुग्न रोनाल्डोका लागि केवल एउटै उपाधिको खडेरी छ– त्यो हो विश्वकपको सुनौलो ट्रफी । के यसपटक रोनाल्डोले विश्वकप जित्दै मेस्सीको उचाइ भेट्टाउलान् ? र, पहिलो खेलमा धक्का खाएको पोर्चुगलले गत विश्वकपको अर्जेन्टिनाकै इतिहास दोहो¥याउला ?

अहिले उत्तर अमेरिकामा फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ चलिरहेको छ । यो विश्वपकमा पनि करिब दुई दशकदेखि फुटबल साम्राज्यमा राज गरिरहेका दुई सुपरस्टार– लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको चर्चा उत्कर्षमा छ । सन् २००९ मा रोनाल्डो रियल मड्रिड भित्रिएपछि सुरु भएको मेस्सी भर्सेज रोनाल्डोको तुलना आज उनीहरू युरोपियन फुटबलभन्दा टाढा भइसक्दा पनि जारी छ ।

यी दुई खेलाडीबीच सर्वकालीन महान अर्थात् गोट बन्ने बहस विश्वकपको यो महामञ्चमा आइपुग्दा झन् पेचिलो र रोमाञ्चक बनेको छ । तर, एउटा तीतो सत्य के हो भने, मेस्सीको त्यो सर्वकालीन श्रेष्ठताको उचाइमा पुग्न र आफ्नो खेलजीवनलाई पूर्णता दिन रोनाल्डोका लागि केवल एउटै उपाधिको खडेरी छ– त्यो हो विश्वकपको सुनौलो ट्रफी । पोर्चुगल आजसम्म विश्वकपको फाइनलसम्म पनि पुग्न नसक्नु नै उनको भव्य खेल–करियरको सबैभन्दा ठूलो खड्को र अधुरो सपना बनेको छ ।

त्यसैले रोनाल्डो यो विश्वकपको उपाधि जसरी पनि आफ्नो नाम गराउन चाहन्छन् । तर, उनका लागि यस विश्वकपको सुरुवात सोचेजस्तो सुखद र अनुकूल हुन सकेन । एकातर्फ मेस्सीले पहिलो खेलमै अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै धमाकेदार र सनसनीपूर्ण सुरुवात गरे, अर्कोतर्फ रोनाल्डो पहिलो खेल पूर्णरूपमा ‘फ्लप’ रह्यो । डिआर कंगोजस्तो अपेक्षाकृत कमजोर टोलीसँग पोर्चुगल १–१ को अप्रत्याशित बराबरीमा रोकिँदा, ४१ वर्षीय रोनाल्डोको प्रभाव मैदानमा देखिएन । लगातार छैटौँ विश्वकपमा गोल गर्ने ऐतिहासिक कीर्तिमान रच्ने अवसरबाट उनी चुकेन मात्र, टोलीका लागि कुनै अवसर सिर्जना समेत गर्न सकेनन् । पहिलो गाँसमै रोनाल्डोको यो फिक्का र फितलो रूप देखेपछि पोर्चुगली फ्यानहरूमा निराशा छाउनु स्वाभाविक थियो ।

तर, प्रश्न उठ्छ– के एउटा बराबरीले नै रोनाल्डो र पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको हो त ? उत्तर स्पष्ट छ– बिल्कुलै होइन । फुटबल इतिहास साक्षी छ, खराब सुरुआत गर्ने टोलीहरू नै अन्तिममा च्याम्पियन बनेका उदाहरण प्रशस्त छन् । सन् २०२२ को कतार विश्वकपलाई मात्र सम्झिने हो भने पनि अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले पराजित भएको थियो । त्यसबेला मेस्सी र अर्जेन्टिनाको व्यापक आलोचना भएको थियो । तर, त्यही टोलीले खेल सुधार्दै अन्ततः विश्वकपको सुनौलो ट्रफी उचाल्यो ।

त्यस्तै सन् २०१० को फिफा विश्वकपमा स्पेन आफ्नो पहिलो खेलमै स्विट्जरल्याण्डसँग १–० को अप्रत्याशित हार बेहोरेको थियो । तर, उक्त हारबाट सम्हालिँदै स्पेनले त्यसपछिका सबै खेलमा उत्कृष्ट प्रदर्शन ग¥यो र अन्ततः फाइनलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।

अहिले डिआर कंगोसँगको बराबरी पोर्चुगलका लागि पनि ’वेक–अप कल’ अर्थात् चेतावनीको घण्टी मात्र हो । प्रतियोगिताको पहिलो खेलमै आफ्ना कमजोरीहरू यसरी छताछुल्ल हुनु एक हिसाबले टोलीका लागि वरदान वा अवसर समेत हो । तर, त्यसका लागि पहिलो सर्त भनेकै टोलीले ती गल्तीहरूलाई समयमै स्विकार्दै सुधार्ने दृढ तत्परता र इच्छाशक्ति मैदानमा देखाउन सक्नुपर्छ ।

चल्न सकेन रोनाल्डोको जादु

विश्वकपमा टोलीको नेतृत्व गरिरहेका रोनाल्डोले आफ्नो खेलजीवनमा विश्वकप ट्रफीबाहेक सम्भव भएसम्मका सबै प्रतिष्ठित उपाधि र कीर्तिमानहरू चुमिसकेका छन् । फुटबल साम्राज्यमा उनले हासिल गर्न नसकेको केवल एउटै उपाधि हो– विश्वकपको त्यो सुनौलो ट्रफी । तीतो यथार्थ के छ भने पोर्चुगल आजसम्म विश्वकपको फाइनलसम्म समेत पुग्न सकेको छैन । क्लब फुटबलका अनेकन फाइनलहरूमा गोलको वर्षा गर्दै टोलीलाई अनगिन्ती उपाधि दिलाएका रोनाल्डोले आजसम्म विश्वकपको नकआउट चरणमा एउटै पनि गोल गर्न सकेका छैनन् ।

विश्व फुटबल इतिहासमै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बोकेका खेलाडी हुन् रोनाल्डो, तथापि पछिल्ला १० महत्त्वपूर्ण खेलहरूमा राष्ट्रिय टोलीका लागि उनी पूर्णतः गोलविहीन छन्। झन् निराशाजनक पक्ष त के छ भने, मैदानमा गोल गर्ने उनका लगातारका प्रयासहरू टोलीका लागि फलदायी हुनुको सट्टा प्रत्युत्पादक र कमजोर साबित भइरहेका छन् । यद्यपि, बढ्दो उमेरका कारण पहिलेको जस्तो तीव्र ’प्रेसिङ’ र ’ड्रिबलिङ’ गर्न नसके पनि डि–बक्सभित्र बल पाउँदा उत्कृष्ट ‘फिनिसिङ’ गर्ने क्षमता र गोलको भोक रोनाल्डोमा अझै कायमै छ ।

‘स्वर्णिम पुस्ता’को चुनौती

विगतको पोर्चुगल र अहिलेको पोर्चुगलमा ठूलो भिन्नता छ । पहिले रोनाल्डो एक्लैले टोलीको भार बोक्नुपथ्र्यो, तर अहिले पोर्चुगलसँग ‘स्वर्णिम पुस्ता’ छ । यो टोलीसँग भर्खरै पीएसजीलाई लगातार दोस्रो च्याम्पियन्स लिग जिताउने भिटिन्हा, जोआओ नेभेस र नुनो मेन्डेस छन् । प्रिमियर लिगमा २१ असिस्टको कीर्तिमान बनाएका ब्रुनो फर्नान्डेज र साउदीमा तहल्का मच्चाएका जोआओ फिलिक्स छन् । रक्षापंक्तिमा रुबेन डियासजस्तो पर्खाल र गोलपोस्टमा डिएगो कोस्टा छन् ।

यसपटक टोलीसँग एउटा बलियो भावनात्मक शक्ति पनि छ । युइएफए नेसन्स लिग जिताउन भूमिका खेलेका र केही वर्ष अघि दुर्घटनामा ज्यान गुमाएका सहकर्मी डियोगो जोटाको स्मृतिमा खेलाडीहरूले हातमा कालो ब्यान्ड बाँधेर मैदान उत्रिएका छन् । यो दिवंगत साथीप्रतिको सम्मान र ट्रफी उनकै नाममा समर्पण गर्ने भावनाले टोलीलाई एकजुट बनाउने आपेक्षा थियो । तर, त्यो भने मैदानमा देख्न पाइएको छैन । मैदानमा नामले होइन, वर्तमानको रणनीति र प्रदर्शनले जितिन्छ भन्ने पाठ पोर्चुगलले बेलैमा सिकेको छ। फुटबल अनिश्चितताको खेल हो र यहाँ घाइते सिंह झन् बढी खतरनाक हुन्छ। कंगोसँग रोकिएको पोर्चुगल भोलि विश्वका महारथीहरूलाई ढाल्दै उपाधि उचाल्ने हैसियत राख्छ ।

बाँकी भिडियोमा :

प्रतिक्रिया दिनुहोस्