Logo
Logo

कतार ग्यास प्लान्ट विस्फोट : घाइते हुनेहरूमा नेपाली पनि


819
Shares

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको  ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरू पनि घाइते भएका छन् । विस्फोटमा परी १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: qatar-1.jpg

घाइते हुनेहरूमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बङ्गलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरू पनि रहेका छन् । घाइतेहरूको नामावली भने सार्वजनिक भएको छैन । उनीहरूको उपचार भइरहेको छ । 

ग्यास प्लान्टमा भएको विष्फोटबाट भएको मृत्यु र घाइतेहरूको जानकारी सोमबार कतारका ऊर्जा मन्त्री साद अल–काबीले दिएका हुन्  ।

दोहास्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै रस लाफान घटनामा १२ भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ । दूतावासले कतारी अधिकारीहरूलाई उद्धृत गर्दै सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूले उपयुक्त उपचार पाइरहेको जानकारी दिएको छ ।

कतारका ऊर्जा मन्त्री साद अल–काबीले यो घटनालाई आक्रमण नभई ‘दुर्घटना’ भनेका छन् । उनले भने, ‘दुर्घटना हो, तोडफोड वा शत्रुतापूर्ण गतिविधि होइन ।’ 

विस्फोटको आवाज ६४ किलोमिटर टाढा दोहा शहरसम्म महसुस गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ उडेको थियो । आइतबार राति नै आगो नियन्त्रणमा लिइसकिएको छ ।

ऊर्जा मन्त्रीका अनुसार यस घटनाले निर्यात वा स्थानीय आवश्यकतामा कुनै असर पार्ने छैन । उनले वातावरणीय प्रभाव पनि नभएको बताएका छन् ।

रस लाफान क्षेत्रमा यसअघि इरानले आक्रमण गर्दा ठूलो क्षति पुर्‍याएको थियो, जसका कारण कतारले ग्यास उत्पादन अस्थायी रूपमा रोक्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्