काठमाडौं । सिराहा जिल्लाका सीमा नाका तस्करीको साम्राज्य बनेको भन्दै सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाविरुद्ध हेडक्वार्टरमा उजुरी परेको छ । जिल्लाका विभिन्न नाकाबाट व्यापक तस्करी भएको भन्दै उजुरी परेको हो । सशस्त्र प्रहरी सिराहा एसपी थापा आफै तस्करी गराउन लागेको आरोप सहितको उजुरीले सशस्त्र प्रहरी मुख्यालय तरंगित बनेको छ । उनले माडरका डिएसपी समेतको सहयोगमा तस्करी गराइरहेको बुझिएको छ । यसमा लाहान र गोलबजारमा रहेका सुरक्षा बेशका कामान्डर पनि संलग्न रहेको श्रोतको दाबी छ ।

सुरक्षाकर्मी र कर्मचारीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सिराहाका छोटी भन्सार नाकामार्फत बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करहरुले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पाट्र्स, र कस्मेटिक्स सामान सेटिङ मिलाएर ल्याइरहेका छन् । सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी आइरहेको छ ।
स्थानीय व्यापारीहरुका अनुसार सिरहाका तीनवटा भन्सार कार्यालयबाटै सेटिङ मिलाएर अहिले तस्करी हुने गरेको छ । सिराहामा ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर (खैरटोका) छन् । यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) छन् ।
स्थानीयका अनुसार झाझपट्टी, नरगी र मूल भन्सार खैरटोकाबाट पछिल्लो समय तस्करी बढी भइरहेको छ । झाझपट्टी र नरगी नाकामा भन्सार कार्यालय छैन । त्यहाँ सशस्त्र प्रहरी तैनाथ छन् । खैरटोका मूल भन्सारमा उपसचिवको नेतृत्वमा करिब एक दर्जन कर्मचारी छन् ।
चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीको सहयोगका लागि भन्सार परिसरमै इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरी तैनाथ छ ।
त्यहाँको मुख्य भन्सार माडर हो । यहाँ भन्सार परिसरभित्रै सशस्त्र प्रहरीको बिओपी छ । सशस्त्र प्रहरी चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीलाई सहयोग पु¥याउन उपस्थित छ । व्यापारीहरुका अनुसार यो नाकाबाट तस्करी बेरोकटोक चलेको छ । दैनिक उपभोग्य वस्तुदेखि चाँदीका तयारी गहना र सुन तस्करी हुने गरेको उनीहरुको दाबी छ ।
यी नाकाबाट दैनिक उपभोग्य वस्तुसँगै सुर्ती र सुर्तीजन्य पदार्थ तस्करी भएर नेपाल भित्रिने क्रम बढेको छ । तस्करी भएर आएको सामान पहिले माडर बजार पुग्ने र त्यसपछि पटेर्वा लगायत बाटो प्रयोग भएर जिल्लाभरका बजारमा फिँजाइन्छ । स्रोतका अनुसार नरगी अर्को चल्तीको नाका बनेको छ ।
भारततर्फको बजार पिपराहीबाट लत्ताकपडा र दैनिक उपभोग्य सामान नरगीमा भण्डारण गरिन्छ । यहाँबाट मोटरसाइकलको पछाडि बाँधेर सिरहाका विभिन्न व्यापारीको गोदामसम्म पु¥याइन्छ । बोर्डर वारिका व्यापारीको गोदामसम्म तस्करीका सामान बोकेको मोटरसाइकल आइपुग्न न्यूनतम चार र अधिकतम सातवटा सुरक्षा पोस्ट पार गर्नुपर्छ ।














