
गत फागुन २१ को निर्वाचनमा गम्भीर पराजय व्यहोरेर प्रतिरक्षात्मक अवस्थामा पुगेपछि मुलुकका दुई प्रमुख कम्युनिष्ट पार्टी एमाले र नेकपाका नेताहरूले सहकार्यको आवश्यकता औंल्याउँदै वाम एकताको बहसलाई तीव्र बनाएका छन् । गत निर्वाचन अघि आआफ्नै दाउ छोपेर एक्लाएक्लै निर्वाचनमा होमिएका नेकपा र एमाले चुनावी परिणाम पछि रास्वपाको दुई तिहाइ सरकार बनेर व्यवस्थामाथि नै प्रश्न उठ्ने वातावरण बनेपछि फेरि एकताको छलफल अघि बढाउन संवाद सुरु गरे
यसअघि ०७४ सालको आम निर्वाचनमा सहकार्य गर्दै पार्टी एकता गरेका तत्कालीन माओवादी केन्द्र र एमालेको एकता तीन वर्षमै तीन टुक्रामा विभाजित भएको थियो । तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दै दुई तिहाइको जनमतलाई उपेक्षा गरेपछि नेकपा विभाजित भएको थियो । त्यसयता वाम एकताको चर्चा गरिए पनि सार्थकता पाउन सकेन ।
आइतबार मदन भण्डारीको ७५ औं स्मृति जयन्तीको अवसरमा सहभागी भएका एमाले र नेकपाका शीर्ष नेताहरूले सडक र सदनमा सहकार्य गर्दै पार्टी एकताको वातावरण बनाउनुपर्नेमा जोड दिएपछि फेरि वाम एकताको बहस सतहमा आएको हो । उक्त कार्यक्रममा पूर्व राष्ट्रपति विद्या भण्डारीसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरू एउटै मञ्चमा देखिएका थिए ।
पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिन पछिल्लो समय एमाले अध्यक्ष ओलीले नै उनको सदस्यता नवीकरणमा रोक लगाएका थिए । तर पार्टीभित्र यस विषयले चर्को विवाद निम्तिएपछि ओलीसहितका पदाधिकारीहरूले केही समयअघि मात्रै भण्डारीको सदस्यता फुकुवा गरेका हुन् । उनै भण्डारीको उपस्थितिमा चार जना शीर्ष नेताहरूले एकताको आवश्यकता औँल्याउनु अर्थपूर्ण भए पनि ओलीले भने आफ्नो पुरानै हठ दोहो¥याएका थिए । उनले एमालेको नीति विचार सही भएको जिकिर गर्दै त्यसमा कुनै छलफल नहुने घोषणा गरेका थिए ।
उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई प्रतिगमनको संज्ञा दिँदै लोकतन्त्र जोगाउन वामसहित लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए पनि विगतको कमजोरीको आत्माआलोचना गरेनन् । बरु उल्टै उनले ७४ सालको निर्वाचनपछि भएको पार्टी एकता अमुक शक्तिले फुटाएको संकेत गरे ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने तत्कालै कार्यगत एकता थाल्नुपर्ने बताए । उनले मुलुकको सार्वभौमसत्ता संकटमा रहेको उल्लेख गर्दै त्यसको रक्षाका लागि वामपन्थीको एकता आवश्यक रहेको उल्लेख गरे । सुरुमा सडक,सदनमा कार्यगत एकता गर्दै सहकार्य गरेर पार्टी एकताको वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।
अर्का नेकपाका सहसंयोजक माधव नेपालले पनि वाम सहकार्यमा जोड दिँदै विगतका कमीकमजोरीको समीक्षा गर्नुपर्ने बताएका थिए । अर्का पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले भने वामपन्थी एकता बिना नेपालको कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउँदै जतिसक्दो चाँडो एकता गर्नुपर्नेमा जोड दिए ।
एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि मुलुकको कम्युनिष्ट आन्दोलन चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरिन् । उनले नीति, कार्यशैली, संगठनात्मक सुदृढीकरण र आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन् ।
यसरी मुलुकको कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरूले पहिलो पटक एउटै मञ्चबाट कार्यगत एकता हुँदै पार्टी एकताबारे छलफल गरेका छन् । यसले जेनजी विद्रोह र गत निर्वाचनपछि पहिलो पटक संवादहीनता अन्त्य गरेर वाम एकताको लागि सकारात्मक वातावरण बनाए पनि यिनै नेताबाट तत्काल सार्थक परिणाम हासिल हुन भने मुश्किल छ । विगतमा यिनै नेताद्वय ओली र प्रचण्डकै कारण पार्टी एकता टिक्न नसकेको हो ।
जेनजी विद्रोहमा दमन गरेको आरोप लागेका एमाले अध्यक्ष ओलीको हठ र दम्भ अझै उस्तै छ । उनले भदौ २३ गते भएको युवाहरुको निधनमा समेत सार्वजनिक रुपमा सहानुभूति समेत व्यक्त गरेका छैनन् । एमालेभित्रै ओलीको विकल्प खोज्न सुरु भइसकेकाले उनको नेतृत्व अब असम्भव जस्तै छ । नेकपाका संयोजक प्रचण्ड पनि लामो समयदेखि पार्टी नेतृत्वमा रहेका छन् । तत्कालीन नेकपाको सहअध्यक्ष रहेका उनले पनि पार्टी एकता टिकाउन भूमिका नखेलेको आरोप छ ।
विगतमा हतारमा यिनै नेताद्वयले गरेको पार्टी एकता टिक्न नसक्दा मुलुकसँगै वाम आन्दोलनले ठूलै मूल्य चुकाउनु परेको छ । अब फेरि यिनै नेताको नेतृत्वमा मुलुकको वाम आन्दोलन अघि नबढ्ने निष्कर्षमा दुबै पार्टीका नेता कार्यकर्ता पुगेका छन् ।
तत्कालीन नेकपाको एकता कायम रहेर दुई तिहाइ सरकार टिकेको भए अहिले मुलुकको कम्युनिष्ट आन्दोलन यति कमजोर हुने थिएन । वाम आन्दोलन पुनःसुदृढ बनाउन अब पुराना नेताहरू अभिभावकीय भूमिका रहनुपर्ने आवाज नेता कार्यकर्ताले उठाउन थालेका छन् । अब पूर्वराष्ट्रपति विद्या भण्डारीले नै एकताबद्ध कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुपर्ने दुबै पार्टीका नेता कार्यकर्ताहरूको समान धारणा छ ।














