Logo
Logo

स्पेनले जित्ला कि पोर्चुगलले ? यस्तो छ हिसाबकिताब


567
Shares

काठमाडौं । उत्तर अमेरिकाका तीन देशमा जारी फिफा विश्वकपमा स्पेन र पोर्चुगलबीचको भिडन्त मंगलबार राति पौने १ बजे हुनेछ । यी दुई युरोपेली प्रतिद्वन्द्वी बीचको खेल कस्तो होला भन्ने अनुमान गर्न दुवै टोलीको अहिलेसम्मको यात्रालाई नियाल्नुपर्ने हुन्छ ।

पहिला स्पेनको कुरा गरौं । स्पेन समूह एचको विजेता बन्यो । पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि कतिपयले आलोचना पनि गरे । तर त्यो खेलले स्पेनको वास्तविक शक्ति देखाएको थिएन । किनकि प्रशिक्षक लुइस डे ला फुन्टेले लामिन यामाल, निको विलियम्स र डानी ओल्मोजस्ता प्रमुख हतियारलाई सुरुमै बेन्चमा राखेका थिए । खेलको अन्त्यतिर मात्रै मैदानमा उतारे । त्यसैले त्यो बराबरीलाई स्पेनको स्तर मापन गर्ने आधार मान्न मिल्दैन ।

त्यो खेलमा पनि स्पेनले बलमाथि पूर्ण नियन्त्रण राख्यो । ७४ प्रतिशत बल आफ्नै नियन्त्रणमा राख्यो, २३ पटक प्रहार ग¥यो । तर एउटा पनि गोल निस्केन । फुटबलमा कहिलेकाहीँ यस्तै हुन्छ– सबै कुरा ठीक हुन्छ, गोल मात्रै हुँदैन ।

त्यसपछि भने उरुग्वे र साउदी अरेबियालाई हराउँदै स्पेन लयमा फर्कियो । तरपनि टोलीले अझै आफ्नो वास्तविक लय समात्न बाँकी नै छ, तर खेलमा भने क्रमशः सुधार आउँदै गएको छ । खेल सुधारिनुको मुख्य कारण लामिन यामलको स्वास्थ्यमा सुधार आउनु हो । यामल जति फिट हुन्छन्, स्पेन त्यति नै बढी खतरनाक बन्छ । मैदानमा उनी हुँदा र नहुँदा खेलमा कति फरक पर्छ भन्ने कुरा यसअघिको खेलले पनि देखाइसकेको छ ।

राउन्ड अफ ३२ मा अस्ट्रेलियालाई ३–० ले हराउँदा पनि स्पेनले विपक्षीलाई खेल्नै दिएन । २२ वटा सट, १० वटा अन टार्गेट र तीन गोल । अझ ठूलो कुरा– अस्ट्रेलियाले स्पेनको पोस्टमा एउटा पनि अन टार्गेट सट हान्न सकेन । यही तथ्यले स्पेनको मिडफिल्ड र डिफेन्स कति मजबुत छ भन्ने देखाउँछ ।

अब पोर्चुगलतिर जाऔं । जसले जति हाइप पाएको छ, मैदानमा त्यस्तो दमदार खेल भने पस्कन सकेको छैन । पोर्चुगल समूह चरणमा एक खेल मात्रै जितेर समूह ‘के’ को उपविजेता बन्यो । उज्बेकिस्तानलाई ५–० ले हरायो, तर कोलम्बिया र डीआर कंगोसँग बराबरीमा रोकियो । समूह विजेता बनेको भए पोर्चुगलको बाटो नै फरक हुन्थ्यो । अर्जेन्टिना र ब्राजिल भएको ब्राकेटमा पथ्र्यो र राउन्ड अफ १६ मा स्पेन होइन, स्विट्जरल्यान्डसँग खेल्नुपर्ने थियो । जुन स्पेनको तुलनामा निकै सजिलो हुन्थ्यो । तर, भाग्यले उनीहरूलाई स्पेनकै अगाडि उभ्याइदियो ।

राउन्ड अफ ३२ मै पोर्चुगल झण्डै घर फर्किसकेको थियो । क्रोएसियाविरुद्ध १–० ले पछि परेको अवस्थामा समर्थकहरूको मुटुको धड्कन नै बढेको थियो । तर यही टोलीको विशेषता पनि यही हो– अन्तिम सिट्टी नबज्दासम्म हार मान्दैन । खेल २–१ ले उल्टियो । इन्जुरी समयमा गोन्कालो रामोसले गरेको निर्णायक गोलले पोर्चुगलको भाग्य नै फेरिदियो । त्यो गोल नभएको भए अहिले स्पेनसँगको यो महाभिडन्तको कुरा नै हुने थिएन ।

यो त भयो भूतको कुरा, अब कुरा गरौँ मैदानमा देखिने भविष्यको । स्पेन र पोर्चुगल सिमाना जोडिएका छिमेकी देश त हुन्, तर यिनीहरूको फुटबल खेल्ने डीएनए भने आकाश–जमिनको फरक छ ।

स्पेनको परिचय टिकी–टाका छ भने पोर्चुगलको पहिचान किलर काउन्टर अट्याक । स्पेनले बल आफ्नो खुट्टामा राख्यो भने विपक्षीलाई ९० मिनेट नै बल नछोइ खेल सकिएला जस्तो लाग्छ । उता पोर्चुगललाई एउटा मात्रै मौका पुग्छ, एकै आक्रमणमा खेलको पासा पल्टाइदिन सक्छन् । स्पेनले एक मिस ग¥यो भने पोर्चुगलले गेम फिनिस गरिदिन सक्छ ।

अहिलेसम्म हेर्दा स्पेन विश्वकपकै सबैभन्दा सन्तुलित टोली देखिएको छ । बल उनीहरूसँग पुगेपछि खोस्नै मुस्किल हुन्छ । स्पेन यति धेरै पास खेल्छ कि विपक्षी टोली बल खेल्न आएको हो कि बल हेर्न आएको हो भनेर दिक्क हुन्छन् होला । पेड्रीले खेलको ताल मिलाउँछन्, रोड्रीले गति नियन्त्रण गर्छन् र यामालले विपक्षी डिफेन्डरको निद्रा हराम गरिदिन्छन् । त्यसमाथि मार्क कुकुरेला, पाउ क्युबार्स र एरिक गार्सियाजस्ता चटानी डिफेन्डर छन् ।

अझ डरलाग्दो तथ्य के छ भने, यो विश्वकपमा अहिलेसम्म कसैले पनि स्पेनविरुद्ध गोल हान्नै सकेको छैन । पेनाल्टी सुटआउटलाई बिर्सने हो भने लगातार ३५ खेलसम्म अपराजित रहनु कुनै संयोग होइन, यो त स्पेनको सिङ्गो फुटबल साम्राज्यको प्रमाण हो ।

तर स्पेनको एउटा ठूलो रोग छ– सट धेरै, गोल थोरै । केप भर्डेविरुद्ध २३ सट हान्दा पनि गोल नहुनु वा अस्ट्रियाविरुद्ध २२ सट प्रहार गरेर जम्मा ३ गोल मात्र निस्कनुले के देखाउँछ भने, डी–बक्सभित्र स्पेनसँग अझै पनि एउटा सेन्ट्रल स्ट्राइकरको अभाव छ । पासको जालो जति सुन्दर भए पनि बलले जाली नचुमे त्यसको अर्थ हुँदैन । यही कमजोरीमा पोर्चुगलले दाउ खोज्नेछ । स्पेनलाई बल राख्न दिने, धैर्य गर्ने र एउटा गल्ती पर्खिने ।

त्यसपछि काउन्टरमा घातक प्रहार गर्ने पोर्चुगलको रणनीति हुन सक्छ । उता पोर्चुगलको कथा अलि फरक छ । नाम ठूलो छ, स्टार धेरै छन्, तर अहिलेसम्म उत्कृष्ट खेल भने देखिएको छैन । टोलीमा कम्बिनेसन छैन । तर पोर्चुगललाई हल्का आँक्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । ब्रुनो फर्नान्डेसको एउटा पास, राफायल लियाओको रफ्तार वा रोनाल्डोको एउटा फिनिसले खेल एकैछिनमा उल्टिन सक्छ । रोनाल्डो पहिलेजस्तो ड्रिबल गर्दैनन् । तर डी–बक्सभित्र बल पुग्यो भने उनी अझै पनि संसारकै सबैभन्दा खतारनाक फिनिसरमध्ये एक हुन भन्नेमा दुइमतै छैन ।

४१ वर्षका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि यो सम्भवतः अन्तिम विश्वकप हो । क्लब फुटबलदेखि युरोपियन च्याम्पियनसम्म सबै जितेका उनले विश्वकप ट्रफी मात्रै उचाल्न बाँकी छ । यही एउटा उपाधिले मात्रै उनको करियरलाई पूर्ण बनाउनेछ । त्यसैले उनी यसपटक ज्यान फालेर खेल्नेछन् ।

पोर्चुगलसँग रोनाल्डो मात्रै छैनन् । भिटिन्हा, जोआओ नेभेस, रुबेन डियास र ब्रुनोजस्ता खेलाडीहरूको स्वर्णिम पुस्ता पनि छ । यही टोलीले २०२५ को नेसन्स लिग फाइनलमा स्पेनलाई हराएर ट्रफी उचालेको थियो । नेसन्स लिगको फाइनलमा यही स्पेनलाई पोर्चुगलले पेनाल्टीमा हराएको थियो । खेलमा स्पेनले नियन्त्रण राखेको थियो, १६ सट हानेको थियो, तर अन्तिम जित पोर्चुगलकै भयो। यसले एउटा कुरा सिकाउँछ– बल धेरै राख्दैमा खेल जितिँदैन ।

तर पोर्चुगलले अहिलेसम्म आफ्नो स्तरअनुसारको फुटबल खेलेकै छैन । समूह चरणमा कोलम्बिया र डीआर कंगोसँग बराबरी, उज्बेकिस्तानविरुद्ध ठूलो जित र त्यसपछि क्रोएसियासँग अन्तिम समयमा आएर मात्रै खेल उल्ट्याउँदै अन्तिम १६ मा प्रवेश । हाइप जति छ, प्रदर्शन त्यति छैन । पोर्चुगलको भद्रगोल खेल हेरेर कतिपय आफ्नै कट्टर फ्यानहरूले समेत उपाधिको आश मारिसकेका छन् । र, कोही त खेल जित्नकै लागि भगवान्सँग धुप–अगरबत्ती बालेर प्रार्थना गरिरहेका छन् !

स्पेन भर्सेस् पोर्चुगलबीचको खेल एउटा खेल मात्रै होइन, दुई पुस्ताबीचको टक्कर पनि हो । एकातिर विश्वकपको अन्तिम सपना बोकेका ४१ वर्षीय रोनाल्डो । अर्कोतिर नयाँ युग घोषणा गर्न तयार १८ वर्षीय लामिन यामाल ।

असली भिडन्त रोनाल्डो र यामालबीचको मात्रै पनि होइन । असली भिडन्त त मिडफिल्डमा हुनेछ । रोड्री भर्सेस भिटिन्हा । पेड्री भर्सेस ब्रुनो । जसले मिडफिल्ड जित्छ, उसैले खेल जित्ने सम्भावना धेरै हुन्छ । स्पेनले पासको जालो बुन्नेछ । पोर्चुगलले त्यही जालो तोड्ने सही समय पर्खिनेछ । यदि स्पेनले छिट्टै गोल निकाल्यो भने खेल उसको नियन्त्रणमा जान सक्छ । तर समय बित्दै जाँदा दबाब स्पेनमाथि बढ्नेछ । किनकि पोर्चुगलसँग एकै क्षणमा खेल पल्टाउन सक्ने खेलाडीको कमी छैन ।

डालसको मैदानमा यो केवल दुई देशको फुटबल खेल मात्र होइन, एउटा ठूलो भावनात्मक युद्ध पनि हो। एकातिर फुटबल इतिहासकै सबैथोक जितेर विश्वकप मात्र बाँकी राखेका रोनाल्डोको ’लास्ट चान्स’ छ, अर्कोतिर नयाँ युगको घोषणा गर्न तम्सिएका यामाल छन् ।

कागजमा स्पेन फेभरिट देखिन्छ । टोली सन्तुलित छ, मिडफिल्डरले अरुलाई दिक्क लाग्ने गरी नै बल खेलाइन्छि, डिफेन्स अभेद्य छ र खेलमा निरन्तरता पनि छ । तर विश्वकपको नकआउटमा कागजले खेल जिताउँदैन । त्यहाँ जिताउँछ त एउटा सही निर्णय, एउटा सही पास, एउटा सही फिनिस र कहिलेकाहीँ भाग्यले पनि ।

त्यसैले यो स्पेन र पोर्चुगलको खेल मात्रै होइन । यो टिकी–टाकाको परीक्षा हो । यो काउन्टर अट्याकको परीक्षा हो । यो रोनाल्डोको अन्तिम विश्वकप सपना हो । यो यामालको नयाँ युग घोषणा गर्ने मौका हो ।

९० मिनेटपछि एउटा टोली क्वार्टरफाइनल पुग्नेछ । अर्को टोलीको विश्वकप सपना त्यही मैदानमा समाप्त हुनेछ । त्यसैले यहाँ यो खेल हेर्दा एउटा कुरा मात्रै याद राख्नुपर्छ– फुटबलमा हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ । पहिलो सिटीदेखि अन्तिम सिटी नबजेसम्म, खेल कसैको पनि हुन सक्छ । तपाईँलाई चाहिँ के लाग्छ ? स्पेनले जित्ला कि पोर्चुगलले ?

प्रतिक्रिया दिनुहोस्