लन्डन । किरात रदु नाछिरिङ प्रवास यूकेको वार्षिक साधारण सभा तथा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। “हामी नाछिरिङ हौं, नाछिरिङ हामी सचेत नागरिक बनौं!” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

सन् २०१३ (वि.सं. २०६९) मा स्थापना भएको संस्थाको साधारण सभा २० असार २०८३ (४ जुलाई २०२६) मा बेलायतको स्यान्डहर्स्टस्थित Sandhurst Town Council Memorial Park मा सम्पन्न भएको संस्थाले जनाएको छ। बिहान ११ बजेदेखि साँझसम्म चलेको कार्यक्रममा बेलायतका विभिन्न सहरबाट नाछिरिङ समुदायका सदस्य तथा परिवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साधारण सभाले आगामी कार्यकालका लागि कमल नाछिरिङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा हस्तराज नाछिरिङ र प्रकाश नाछिरिङ (जेठा), महासचिवमा सप्तराज नाछिरिङ, उपमहासचिवमा टेकवीर नाछिरिङ, सचिवमा नवीन नाछिरिङ, कोषाध्यक्षमा प्रकाश नाछिरिङ तथा सह–कोषाध्यक्षमा जितेन्द्र नाछिरिङ चयन भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा नरभक्त नाछिरिङ, मनकुमार नाछिरिङ, प्रदीप नाछिरिङ, उदय नाछिरिङ, नरेन्द्र नाछिरिङ, सन्तोष नाछिरिङ, मदन नाछिरिङ, जितेन्द्र नाछिरिङ र घनबहादुर नाछिरिङ रहेका छन्।
वार्षिक भेटघाट कार्यक्रममा सहभागीहरूले प्रवासमा रहेर पनि मातृभाषा, संस्कृति, परम्परा तथा नाछिरिङ समुदायको मौलिक पहिचान संरक्षण र प्रवर्द्धनमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। समुदायबीच आपसी सम्बन्धलाई थप सुदृढ बनाउने, नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिसँग जोड्ने तथा सामाजिक एकतालाई अझ मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो।

नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ सक्रिय, उत्तरदायी र प्रभावकारी बनाउँदै बेलायतमा रहेका नाछिरिङ समुदायको हकहित, सामाजिक एकता तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त अध्यक्ष कमला नछिरिङ्ले बताए ।
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष विश्वराज नाछिरिङ, सल्लाहकार क्याप्टेन गोबिन्दबाबु लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सदस्य, शुभेच्छुक र सहभागीप्रति संस्थाले आभार व्यक्त गरेको छ।














