Logo
Logo

कांग्रेस १५औँ महाधिवेशन : ७ हजार बढी प्रतिनिधि सहभागी हुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा सात हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताएका छन् । यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको उनको दाबी रहेको छ ।

The current image has no alternative text. The file name is: nepali-congress-1.jpg

महाधिवेशनबारे सञ्चारकर्मीसँग कुरा गर्दै उनले विदेशबाट आउने प्रतिनिधिहरूको सङ्ख्या अझै यकिन नभइसकेको बताए । निर्वाचन आयोगको सूचनाअनुसार अधिकांश क्षेत्रमा अधिवेशनका काम सम्पन्न भइसकेको र केही सीमित क्षेत्रमा मात्र प्रक्रिया बाँकी रहेको बताए । 

मतदान भएका क्षेत्रमा आज रातिसम्म मतगणना सम्पन्न गर्ने तयारी रहेको उनले जानकारी दिए । बाँकी रहेका केही स्थानमा पनि मतगणना भइरहेको छ । 

महाधिवेशनको मतदान तीन स्थानबाट हुने उनले बताए । उद्घाटन कार्यक्रम हुने हल, राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा भूगोलका आधारमा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान मतपत्रबाटै हुने र मतगणना सम्भवतः पार्टी कार्यालयमा गरिने उनले जानकारी दिए । 

महाधिवेशन उद्घाटनका विषयमा बोल्दै चालिसेले पार्टीको परम्पराअनुसार यसअघि सभापतिले नै उद्घाटन गर्ने चलन रहेको बताए । यसपटक पनि पार्टी सभापतिले सार्वजनिक समारोहबाट उद्घाटनका लागि अनुरोध गरेको समाचार सार्वजनिक भइसकेको उल्लेख गरे । 

महाधिवेशनको मिति यसअघि असोज १६ गतेका लागि तय भए पनि पछि असोज १८ गते सारिएको चालिसेले बताए । मिति परिवर्तन हुँदा छिमेकी मुलुकबाट आएका केही पाहुना फर्किसकेको र अन्य पाहुनालाई पनि असहज भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्