Logo
Logo

मानसिक स्वास्थ्य जोगाउने अस्त्र


0
Shares


पेसाले म एक पत्रकार । पत्रकारिताको नियम र धर्म नै समाजको गतिविधिको निगरानी गर्नु, शासक र शक्ति–केन्द्रहरूका अभिव्यक्ति तथा निर्णयहरूमाथि चौबिसै घण्टा दृष्टि राख्नु हो । वर्तमान डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रा लागि सूचनाको एउटा विशाल र अपरिहार्य स्रोत बनेको छ । त्यसैले, हरेक साना–ठूला राजनीतिक पात्र र उच्च ओहोदामा आसीन व्यक्तिहरूलाई ‘फलो’ गर्नु व्यावसायिक बाध्यता जस्तै बनेको छ ।

तर, केही समययता मैले यो स्थापित परिपाटी विपरीत एउटा विद्रोह गरिरहेको छु– ‘ब्लक र अनफलो अभियान’। मैले धेरै नेता, सेलिब्रेटी र मिडियालाई समेत ब्लक गरिसकेको छु । जब मैले यो कुरा एक सहकर्मीलाई सुनाएँ, उनले मतिर प्रश्न तेस्र्याए– ‘एउटा पत्रकार भएर पनि नेता र मिडियालाई नै ब्लक गर्ने?’ मेरो उत्तर छोटो थियो– ‘म उनीहरूको वैचारिक दृष्टिकोणसँग असहमत भएर होइन, आफ्नै मानसिक स्वास्थ्यका लागि हो ।’

सतही रूपमा नियाल्दा जो–कसैलाई पनि लाग्न सक्छ– सत्य र सूचनाको अन्वेषण गर्ने एउटा पत्रकारले नै राजनीतिक नेतृत्व र सञ्चारमाध्यमलाई निषेध गरेपछि समाजको वास्तविक ऐना कसरी देख्न सक्ला ?

तर, मेरो भोगाइ नितान्त बेग्लै छ । अचेल सामाजिक सञ्जालको भित्तो खोल्दा सूचना होइन, दैनिक रूपमा घृणा, द्वेष र प्रतिशोधले भरिएका विषाक्त अभिव्यक्तिको बाढी आउँछ । त्यहाँ अन्धभक्ति, चाटुकारिता र भजनकीर्तनको निकृष्ट होडबाजी चल्छ । अनि, आफूभन्दा फरक विचार वा असहमति राख्नेहरूमाथि निर्मम प्रहार, मानसिक हिंसा र चरित्रहत्याको शृङ्खलाबद्ध ताण्डव मच्चाइन्छ ।

जसले मेरो मानसिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउन थाल्यो । मलाई लाग्यो– यदि यो मानसिक प्रदूषणको शृङ्खला यसरी नै लामो समयसम्म चलिरहने हो भने, मेरो व्यक्तिगत अस्तित्व, आन्तरिक शान्ति र विवेकशील मानवीय चेत नै सदाका लागि यो कोलाहलको दलदलमा फस्नेछ । त्यसैले मैले ब्लक अभियान सुरु गरेँ ।

अहिलेसम्म करिब एक सय जनाजति व्यक्तिहरूलाई सामाजिक सञ्जालमा ‘ब्लक’ गरिसकेको छु । जसमा अधिकांश कुनै न कुनै राजनीतिक दलका नेता र कार्यकर्ता छन्, त्यसपछि कथित ‘इन्फ्लुएन्सर’ र केही त आफ्नै आफन्तहरू समेत पर्दछन् । जसले कुनै पार्टीको झण्डामुनि बसेर देश विकासको राजनीति होइन, द्वेष र घृणाको व्यापार गरिरहेका छन्, वाद, जात र धर्मको आवरणमा सामाजिक सद्भावको जग नै खल्बल्याइरहेका छन् ।

यति मात्र होइन, मैले एक दर्जनभन्दा बढी गैर–मूलधारका मिडियाका फेसबुक पेज र टिकटक अकाउन्टहरूलाई पनि ब्लक गरिदिएको छु । जसको एक मात्र ध्येय पूर्वाग्रही न्यारेटिभ निर्माण गर्नु र कुनै निश्चित दल वा व्यक्तिको भजन गाउनु हो । जसले सही, सन्तुलित र तथ्यपरक सूचना होइन, सनसनी, अफवाह र भ्रमको खेती गरेर समाजमा मानसिक प्रदूषण फैलाइरहेका छन् ।

एक पत्रकारको रूपमा मैले दिनभरि सूचना र समाचारकै बीचमा बाँच्नुपर्छ । तर मैले बुझेको कुरा के हो भने स्क्रिनमा देखिने ती सबै कुरा ‘सूचना’ होइनन्, धेरै त मानसिक प्रदूषण हुन् । दिमागले जे कुराको बढी अभ्यास गर्छ, त्यस्तै मार्ग बनाउँछ । यदि तपाईं लगातार नकारात्मक कुराहरू हेर्नुहुन्छ र सोच्नुहुन्छ भने, दिमागले सकारात्मक वा खुसीका कुराहरू महसुस गर्ने क्षमता बिस्तारै गुमाउँदै जान्छ । तपाईंका विचारहरू स्वतः नकारात्मकतातर्फ नै मोडिन थाल्छन् ।

हामी जे खान्छौं, शरीर त्यस्तै बन्छ । हामी दिमागलाई जे खुवाउँछौं, हाम्रो विचार र जीवन पनि त्यस्तै बन्छ । त्यसैले केवल मान्छेको ओहोदा, नाता, सम्बन्ध, जात वा धर्म हेरेर मात्र उसलाई सामाजिक सञ्जालमा स्थान दिइरहनु आवश्यक छैन । यदि कसैले लगातार नकारात्मकता मात्र फैलाउँछ भने, सामाजिक सम्बन्ध वा शिष्टाचारका नाममा उसलाई आफ्नो डिजिटल वृत्तमा राखिरहनु आफ्नै मानसिक स्वास्थ्यमाथि खेलबाड गर्नु हो ।

सामाजिक सञ्जालमा लगातार अपराध, झगडा, धोका र नकारात्मक विचारहरू मात्र देख्दा मानिसलाई लाग्न थाल्छ यो संसार पुरै खराब छ । यहाँ कोही पनि विश्वासयोग्य छैनन् । यसले मानिसमा सामाजिक डर, एक्लोपन र शंकालु स्वभाव बढाउँछ । बिहान उठ्ने बित्तिकै एउटा नकारात्मक कमेन्ट वा पोस्ट पढ्नुभयो भने, त्यसले तपाईंको पूरा दिनको ऊर्जा नष्ट गर्न सक्छ । दिमाग त्यही कुरामा अल्झिरहँदा तपाईं आफ्नो काम, अध्ययन वा रचनात्मक कुरामा ध्यान केन्द्रित गर्न सक्नुहुन्न ।

नकारात्मक सामग्रीले हाम्रो मस्तिष्कमा निरन्तर तनावको अवस्था सिर्जना गर्छ । रिस, डर र चिन्तासँग सम्बन्धित भावनालाई बारम्बार सक्रिय गर्दा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, निर्णय क्षमता कमजोर हुन सक्छ । जीवनप्रति निराशावादी दृष्टिकोण विकसित हुन सक्छ । धैरे मानिसलाई थाहा नै हुँदैन कि उनीहरूको दैनिक थकान कामको भन्दा बढी डिजिटल वातावरणको परिणाम हो ।

हामी घर सफा गर्छौँ, शरीर सफा राख्छौँ, तर दिमाग सफा राख्ने कुरा भने प्रायः बिर्सिन्छौँ । आजको समयमा दिमागमा सबैभन्दा धेरै फोहोर सामाजिक सञ्जालबाटै पस्छ । दिमाग एउटा बगैँचाजस्तै हो । जसरी बगैँचामा फूलसँगै झार पनि उम्रन्छ, त्यसरी नै दिमागमा सकारात्मक र नकारात्मक दुवै विचार आउँछन् । यदि झार उखेलिएन भने फूल मर्न पनि सक्छ । सामाजिक सञ्जालमा ब्लक र अनफलो गर्नु भनेको यही झार उखेल्ने प्रक्रिया हो ।

कसैलाई ब्लक गर्नु घृणा, अहङ्कार वा दुश्मनी होइन, यो त आफ्नो मानसिक स्वास्थ्यको सुरक्षा गर्ने एउटा सचेत प्रयास हो । जसरी घरको ढोका सबैका लागि खुला राखिँदैन, त्यसरी नै दिमागको ढोका पनि सबैका लागि खुला राख्नु आवश्यक छैन । संसारको जतिसुकै ठूलो पदमा आसीन व्यक्ति किन नहोस्, यदि उसले मेरो मानसिक शान्ति खल्बल्याउने र केवल नकारात्मकता फैलाउने काम गर्छ भने, उसलाई मेरो डिजिटल जीवनमा स्थान दिइरहनु आवश्यक छैन । स्वस्थ बहसले सोच फराकिलो बनाउँछ, तर निरन्तर विष फैलाउने मानिसले दिमागलाई थकित र दूषित मात्रै बनाउँछन् ।

जीवन छोटो छ र समय सीमित । तपाईंले के पढ्नुहुन्छ, कसलाई सुन्नुहुन्छ र कसलाई आफ्नो स्क्रिनमा ठाउँ दिनुहुन्छ भन्ने कुराले अन्ततः तपाईं कस्तो मानिस बन्नुहुन्छ भन्ने निर्धारण गर्छ । त्यसैले आजै आफ्नो सामाजिक सञ्जालको सूचीलाई एकपटक नियालेर हेर्नु आवश्यक छ । जसले तपाईंलाई ज्ञान दिन्छ, प्रेरणा दिन्छ, हँसाउँछ, नयाँ कुरा सिकाउँछ र राम्रो मानिस बन्न मद्दत गर्छ, उनीहरूलाई सधैँ आफ्नो नजिक राख्नुहोस् । यसको विपरीत, जसले निरन्तर रिस, घृणा, भ्रम, तनाव र नकारात्मकता मात्र फैलाउँछन्, उनीहरूलाई आफ्नो डिजिटल जीवनबाट हटाउन कत्ति पनि नहिचकिचाउनुहोस् ।

मानसिक शान्ति कुनै विलासिता होइन, यो त सन्तुलित जीवनको आधारशिला हो। जसरी हामी घर र शरीर सफा राख्छौँ, त्यसरी नै आफ्नो डिजिटल जीवनलाई पनि स्वस्थ र सकारात्मक राख्न ‘डिजिटल सरसफाइ’ अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्