काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा आयोजित पाँचौँ संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटको मुख्य कार्यक्रममा सहभागिता जनाउन नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल अमेरिकामा छन् । उनीहरु अमेरिका गएपछि नेपाल प्रहरीमा राजन अधिकारी र सशस्त्र प्रहरीमा वंशी दाहालले निमित्त महानिरीक्षक बन्ने सौभाग्य पाएका छन् ।

असार २१ गते अमेरिका प्रस्थान गरेका पौडेल असार ३१ गते स्वदेश फर्कने कार्यक्रम रहेका बेला दुई एआइजीहरु भने सक्रिय देखिएका छन् ।
आइजीपी नभएको बेला एआइजी अधिकारीले प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखा प्रमुख, कर्मचारी प्रशासन शाखाका कर्मचारीहरू तथा कार्य सम्पादन मूल्याङ्कन फाराम भर्न प्रत्यक्ष संलग्न हुने सम्पूर्ण प्रहरी कार्यालयका कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने भराउने लगायतका अन्य सो संग सम्बन्धित विषयहरुमा निर्देशन सम्बोधन गरेका थिए । फराम भर्नुलाई सामान्य मानिएपनि देशभरका प्रहरी अधिकारीहरुलाई सम्बोधन गर्नुलाई सामान्य मानिएको छैन ।
नेपाल प्रहरीमा भन्दा यो सक्रियता सशस्त्र प्रहरीमा बढी देखिएको छ । सीमा क्षेत्रमा सीमा अपराध र चोरी तस्करी नियन्त्रणमा नआएको गुनासो बढ्दै गएपछि सशस्त्र प्रहरी बलका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) नेपाल–भारत सीमा क्षेत्रका मातहत कार्यालय खटाइएको छ ।
सशस्त्र प्रहरी बलका तीन जना एआईजीमध्ये एक जना बंशीराज दाहाल निमित्त महानिरीक्षक भएर मुख्यालय हाँकिरहेका बेला दोस्रो र तेस्रो वरीयताका एआईजीहरू क्रमशः गणेशबहादुर ठाडामगर र अञ्जनीकुमार पोखरेल पूर्वी र मध्यपश्चिमसम्मको कार्यालय भ्रमणमा पठाइएको हो । एआईजीद्वयले सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा अपराध तथा चोरी तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी परिचालनलगायतका विषयमा निर्देशन दिने काम गरेका छन् ।
उता, निमित्त नै भएपनि एआईजी बंशीराज दाहालले संगठन प्रमुखकै झल्को दिनेगरी गतिविधि अगाडि बढेका छन् । उनले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई थप सशक्त बनाउन भन्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको नेतृत्वमा फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्न सक्ने अधिकारसहितको विशेष अनुगमन टोली परिचालन गरेका छन् ।
कुनै पनि प्रकारको भ्रष्टाचार, आर्थिक अनियमितता वा अनुचित प्रभावलाई शून्य सहनशीलताको नीतिअनुसार नियन्त्रण गरी ‘रिवार्ड र पनिसमेन्ट’ नीतिलाई अक्षरशः पालना नगरेको भेटिएमा जुनसुकै तहका कमान्डर तथा विभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गर्नेगरी उनले सो टोली परिचालन गरेका हुन् ।
सशस्त्रले एसएसपीहरू सुधिरजंग थापा, भरत खनियाँ, उद्धव न्यौपाने र समिक महर्जनलाई अनुगमनका लागि खटाएको छ । महर्जनलाई पूर्वक्षेत्र, न्यौपानेलाई मधेश, खनियाँलाई परासीदेखि दाङ र थापालाई दाङदेखि पश्चिम हेर्नेगरी खटाइएको छ ।
सशस्त्र प्रहरी बलका निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट मातहत युनिटका प्रमुखहरूलाई ब्रिफिङ गर्दै भन्सार छली, अवैध आयात–निर्यात तथा राजस्व चुहावट हुने सम्भावित नाकामा सबै सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोस्ट तथा फरवार्ड पोस्टहरूले २४सै घण्टा निगरानी कायम राख्ने व्यवस्था गरी तस्करी नियन्त्रण तथा सीमा क्षेत्रबाट हुने अवैध निकासी पैठारीलाई पूर्णतया रोक्न कमान्डरहरूलाई निर्देशन दिएका थिए ।














