Logo
Logo

घुमुवामा हेडक्वार्टरको मनोमानी


630
Shares

काठमाडौं । मधेश प्रदेशमा रहेका घुमुवा प्रहरीलाई डिआइजी गोविन्द थपलियाले काज सरुवा गरेर हिँडेका थिए । उनले नरूचाएका धेरैजसो घुमुवालाई काज सरुवा गरेका थिए । त्यतिमात्र होइन एसपीको सरुवा समेत गरेर आफ्नो असन्तुष्टि पोखेका थिए । निकट दिनमा एआइजी हुने र कार्यसम्पादन मूल्यांकनको नम्बर सबै काटिदिने धम्की दिएर हेडक्वार्टर सरुवा भएका डिआइजी थपिलियाले केही जिल्लामा आफू निकट रहेका घुमुवा परिचालन कायमै राखेका छन् ।

रौतहट जिल्लाका विभिन्न प्रहरी युनिटमा सादा पोशाकमा परिचालित भनिएका ‘घुमुवा प्रहरी’को नाममा व्यापारीमाथि आर्थिक दबाब, धम्की र अवैध रकम असुली भइरहेको गुनासोमा उनी निकट रहेका घुमुवाहरुको हात देखिएको रौतहटका एक प्रहरी अधिकारीले भने । हेर्दा सामान्य लाग्ने तर एक जना हवल्दार नै यतिबेला डिआइजी थपलिया र रौतहटका एसपी सिताराम रिजालको नाममा व्यापारीहरुलाई धम्क्याइरहेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वरिष्ठ हवल्दार मुनिलाल गुप्ताले व्यापारीहरूलाई प्रहरी कार्यालयमा बोलाउने, विभिन्न मुद्दामा फसाइदिने, थुनामा राख्ने वा कानुनी कारबाहीको डर देखाउँदै आर्थिक दबाब सिर्जना गर्ने गरेको स्रोतको दावी छ ।

जिल्लाको मध्यभागस्थित गरुडा–शिवनगर क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय शिवनगरमा कार्यरत सहायक हवल्दार रतन यादवमाथि पनि यस्तै प्रकृतिका आरोप लागेका छन् । स्थानीयका अनुसार उनी अपराध अनुसन्धानमा केन्द्रित हुनुपर्ने जिम्मेवारीमा रहे पनि व्यापारीसँग अनावश्यक सम्पर्क बढाउने, दुःख दिने तथा व्यक्तिगत प्रभाव विस्तार गर्ने गतिविधिमा संलग्न रहेको आरोप छ ।

बारा, धनुषा, महोत्तरी, सिराह र सप्तरीमा पनि थपलियाले घुमुवा परिचालन गरेका छन् । उनी काठमाडौ सरुवा भएर आएको एक महिनाभन्दा बढी भएको छैन । उनको ठाउँमा ओम अधिकारी गएका छन् । प्रहरीमा राम्रो छवि बनाएका अधिकारीलाई थपलियाका घुमुवाहरुले दुःख दिएपछि मधेश प्रदेशका प्रहरी अधिकारीहरुबीच एक प्रकारको हलचल नै पैदा भएको छ ।

मधेश प्रदेशका तत्कालिन डीआईजी थपलियाले धनुषा प्रहरी मातहत खटिएका युनिट इन्चार्जहरूलाई अनावश्यक रूपमा तानेर दुःख दिन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रमुख एसपी रुगमबहादुर कुँवरसँग समेत मनमुटाव भएको थियो ।

धनुषा प्रहरी प्रमुख एसपी कुँवर घुमुवाले भनेअनुसार काम नगरेकाले उनलाई स्पष्टीकरण सोधिएको थियो । त्यसबेला उनी दबाब सहन नसकेर अचानक बिरामी परेको र लामो समय बिदामा बसेको विषय पनि सामाजिक सञ्जालमा व्यापक चर्चा बनेको थियो । हाल उनको सरुवा भइसकेको छ ।

मधेश प्रदेश प्रहरीभित्र यस्ता घटना अपवाद मात्र नभई क्रमशः बढ्दो प्रवृत्तिका रूपमा देखिन थालेको प्रहरी स्रोतको भनाइ छ । जेठको पहिलो साता सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण प्रभावकारी नभएको र चेन अफ कमाण्ड कमजोर भएको भन्दै रौतहटका एसपी सिताराम रिजाल तथा बाराका एसपी नरेन्द्र कुँवरसँग पनि डीआईजी थपलियाले स्पष्टीकरण सोधेका थिए । थपलियाको हेडक्वार्टर सरुवा भएपछि उनीहरुसँगै मिलेर घुमुवा खटाइएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्