Logo
Logo

बालेनको सचिवालयबाट सिआइबी सञ्चालन


630
Shares

काठमाडौं । गृहमन्त्रालयले चलाउने पर्ने प्रहरीलाइै प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको निजी सचिवालयले सिधै चलाउन थालेपछि प्रहरीमा व्यापक असन्तुष्टि पैदा भएको छ । एआइजी मनोज केसी सिआइबीको प्रमुख हुँदा नै प्रधानमन्त्री कार्यालयबाट सञ्चालन गर्न खोज्दा गृहमन्त्री सुधन गुरुङले समेत असन्तुष्टि जनाएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा एआइजी उमाप्रसाद चर्तुवेदीको सरुवा भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले चासो राखेर त्यहीबाट सिआइबी सञ्चालन गर्न खोजेपछि असन्तुष्टि झन् पैदा भएको छ । एआइजी केसीको सिआइबीबाट सरुवा भई असार १९ गतेदेखि सिआइबीमा हाजिर भएका एआइजी चर्तुवेदीसँग प्रधानमन्त्रीका निजी सचिवालयका सदस्यहरु कुमार वेन, सुभास शर्मा, सन्दीप ढकाल, माधव खनाल, विवेक मिश्र लगायतले लामो छलफल गरेका थिए ।

आइजीपी दानबहादुर कार्की नेपालबाहिर हुँदा गृहमन्त्री सुधन गुरुङलाई समेत बाइपास गरेर प्रधानमन्त्री सचिवालयको टिमले परिचालन गर्न खोजेपछि गृहमन्त्रालयमा यो विषयमा व्यापक छलफल भएको छ । सिआइबी कसको मातहतमा हुन्छ सञ्चालनको विधि र कानुन के छ भनेर गृहमन्त्रालयका अधिकारीहरुलाई गृहमन्त्री गुरुङले सोधपुछ समेत गरेका थिए । ‘सिआइबी कसको मातहत हो, प्रधानमन्त्रीको स्वकीय सचिवालयको चासो छ भने मलाई भन्दा हुन्छ नि’, गुरुङले मन्त्रालयका कर्मचारीसँग असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री कार्यालयमा रहेका स्वकीय सचिवालयको टिमले एआइजी चर्तुवेदीलाई सिआइबीले अनुसन्धान गरिरहेका विभिन्न फाइलहरुबारे चासो राखिएको थियो । खासगरी नक्कली भूटानी शरणार्थी, बाँसबारी छालाजुत्ता कारखाना बालमन्दिर जग्गा भाडा प्रकरण, दुग्धविकास बोर्डको घोटला सम्बन्धी अनुसन्धान तथा अन्य दर्जनौ फाइलहरुबारे चासो राखिएको थियो ।

लामो समय प्रधानमन्त्री कार्यालयमा छलफल गरेका एआइजी चर्तुवेदीले सिआइबीमा रहेका आर्थिक अपराध सम्बन्धी फाइलहरु पनि अध्ययन गर्ने बताएका छन् । खासगरी सिआइबीमा करिब ६सय वटा आर्थिक अपराध सम्बन्धी फाइलहरु रहेको बताइएको छ । उनी प्रधानमन्त्री कार्यालयबाट सिआइबीमा फर्केको केही समयपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि पुगेका थिए । गुरुङले लाजिम्पाटस्थित सिआइबीको निरीक्षण भ्रमण गरेका हुन् । कोशी प्रदेशको सुनसरी, धनकुटा र झापाबाट फर्केपछि उनी सिआइबीमा पुगेका थिए ।

सिआइबीको कमाण्ड असार १९ देखि एआइजी उमाप्रसाद चतुर्वेदीले सम्हालेका छन् । असार १८ मा बसेको मन्त्रिपरिषद्ले डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरेर सिआइबीमा चुतर्वेदीलाई पठाउने निर्णय गरेको थियो । केसीको सरुवा भएपछि सिआइबीमा जान चाहेका अन्य एआइजीलाई पछि पार्दै चर्तुवेदी त्यहाँ पुगेका हुन ।

सिआइबीले यतिबेला मोरङमा पक्राउ परेका कांग्रेस नेता अभिषेक गिरीबारे अनुसन्धान गरिरहेको छ । गिरी अहिले ब्युरोको हिरासतमा छन् । गिरी मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमिकको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका उनलाई मंगलबार काठमाडौं ल्याइएको हो ।

मोरङ जिल्ला अदालतको आदेशले रिहा भएपछि पुन पक्राउ परेका गिरीमाथि ब्यूरोले ठगी र आपराधिक विश्वासघातसम्बन्धी अर्को कसुरमा अनुसन्धान गरिरहेको छ । व्यूरोमा यी विषयहरु मात्र छैनन्, विभिन्न बैंकका आर्थिक हिनामिना गरेका मुद्दाहरु पनि रहेका छन् । गिरीको अलवा प्रधानमन्त्री कार्यालयबाट चासो राखिएको बालमन्दिर जग्गा भाडा प्रकरणमा मुछिएका तीन व्यक्तिहरुलाई पक्राउ गरिएको थियो । उनीहरुलाई यतिबेला बयान लिइरहेको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्