
तेह्रथुम, २८ मंसिर । गत वर्ष फागुन ११ आफ्नो ६९औँ वार्षिकोत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओली पुख्र्यौली घर तेह्रथुमको आठराई–४ इवा आए । कतिपयले आलोचनासमेत गरेको उनको जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीले इवामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेर फर्किए । प्रधानमन्त्रीको घोषणालाई विश्वास नगरिरहेका स्थानीयवासी जब स्वास्थ्यचौकीको पुरानो भवनलाई उजिल्याउन थालियो, तब भने आश्चार्यमा परे । सबैको जिज्ञासा थियो, यहाँ के हुन लागेको होला ?
नेताहरुका आश्वासन वर्षौँसम्म पूरा हुँदैनन् भन्ने सुनेका उनीहरु पुरानो भवनमा प्राविधिक शिक्षालय सञ्चालनको शुरुआत हुने सुनेपछि उक्त कुरामा विश्वास गर्न छाडे । प्रधानमन्त्रीको घोषणाको आठ महिना नबित्दै पुराना भवन मर्मत भए । नवौँ महिनामा यहाँ प्राविधिक शिक्षालयका आन्तरिक संरचना तयार पारिए । प्राध्यापक आए, विद्यार्थी भर्ना आवदेन लिइयो, अध्ययन गर्न पाउने विद्यार्थीको सूची सार्वजनिक भयो ।
शुक्रबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईबाट बहुप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन भएपछि यहाँका गणेश प्रसाईँले भने, ‘साँच्चै नेताहरुले चाहँदा जे पनि हुनेरहेछ । अब बहुप्राविधिक शिक्षालयले यहाँको अवस्था बदल्ने छ ।’ शिक्षालय सञ्चालनमा ल्याइएको पुरानो भवन, रनदल आधारभूत विद्यालय र वडा कार्यालय रहेको चोकमा व्यवसाय सञ्चालन गर्ने प्रसाईँमात्रै होइन, दुर्गम इवामा बहुप्राविधिक शिक्षालय स्थापना भएपछि तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकाका सबै स्थानीयवासी खुशी भएका छन् ।
स्थानीयवासीले सोचेका थिए– बहुप्राविधिक शिक्षालयका लागि भवन बन्ला अनि पढाइ शुरुआत होला तर आजदेखि यहाँ ८० विद्यार्थीले बाली विज्ञान र पशु विज्ञान विषय पढ्न थाल्नेछन् । ‘प्रधानमन्त्रीको यहाँ जन्म हुनु नै हाम्रो ठूलो भाग्य रहेछ’, इवाका नरेन्द्रकुमार इङ्नामले भने, ‘प्रधानमन्त्रीकै पहलमा यहाँ बहुप्राविधिक शिक्षालय स्थापनाले आम आठराईवासी खुशी छौँ ।’
दुर्गम क्षेत्रका निकै कम विद्यार्थीले मात्रै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने गरेको तर त्यसका लागि टाढा पुग्नुपर्ने र ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको इङ्नामको भनाइ छ । यहाँ स्थापित शिक्षालयले तेह्रथुमसहित छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङका विद्यार्थीले समेत कम खर्चमा प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।
आठराई–४ का वडाध्यक्ष श्यामकुमार भट्टराई प्रधानमन्त्रीले जन्मदिनको अवसरमा गरेको घोषणाको प्रतिफलस्वरुप बहुप्राविधिक शिक्षालय स्थापना भएको बताउँछन् । ‘तेह्रथुममा कुनै पनि प्राविधिक शिक्षालय नभएका कारण हामीले पटक–पटक यसबारे आवाज उठाउँदै आएका थियौँ’ वडाध्यक्ष भट्टराईले भने, ‘प्रधानमन्त्रीले जन्मदिनमा घोषणा गर्नु भएअनुसार नौ महिनामै प्राविधिक शिक्षालयमा पठनपाठन शुरुआत भएको छ ।’
प्रधानमन्त्री ओलीको घोषणाअनुसार उनको जन्मघर छेउ तीनसल्लेमा तत्कालै भवन निर्माण पूरा नभएको अवस्थामा अस्थायीरूपमा शिक्षालय स्थापना भई पठनपाठन शुरु हुनु झनै खुशीको विषय रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले औपचारिक शिक्षाको शुरुआत गर्नुभएको इवास्थित प्रणामी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकी यहाँ प्राविधिक शिक्षालय स्थापनाले पूर्वी पहाडका आम सर्वसाधारण खुशी भएको बताउँछन् । उनले भने, ‘यहाँका नानीहरु बाहिर गएर पढ्नुपथ्र्यो, विज्ञान सङ्काय कहीँ पढाइ हँुदैनथ्यो । आफ्नै ढिँडोरोटो खाएर आफ्नै ठाउँमा पढ्न पाएका छन् । यो अत्यन्तै खुशीको कुरा छ ।’ आफ्नी छोरीलाई करिब रु एक लाख ८० हजारमा प्राविधिक शिक्षा पढाइरहनुभएका प्रधानाध्यापक बुढाथोकी आठराईमा करिब रु ५० हजारको लागतमा सोही तह पठनपाठन हुने कुराले झनै दङ्ग छन् ।
तेह्रथुम बुहप्राविधिक शिक्षालय तेह्रथुमका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत इवामा ५९औँ बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । यहाँ कृषि विज्ञानअन्तर्गत बाली विज्ञान र पशु विज्ञानको अध्यापन हुनेछ । यहाँ तत्कालै ८० विद्यार्थी रहनेछन् । शिक्षालयमा केही प्राध्यापक तथा कर्मचारी नियुक्त गर्न बाँकी रहेको भट्टराईले बताए ।
प्रधानमन्त्री ओलीको जन्मस्थान तीनसल्लेमा ‘केपी ओली ट्रष्ट’ले शिक्षालयलाई ३० रोपनी जमिन उपलब्ध गराइसकेको छ । तर उक्त स्थानमा भवन निर्माणका लागि गुरुयोजना निर्माण मात्रै सम्पन्न भएको छ । दुर्गम ठाउँ भए पनि यहाँ ८० जनाको कोटामा १३६ विद्यार्थीले अध्ययनका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा प्राप्त अङ्कका आधारमा ८० जना छनोट भएका छन् ।
असीभन्दा कम विद्यार्थी हुने आकलन गरिए पनि धेरै आवेदन आउनुले प्राविधिक शिक्षामा विद्यार्थी तथा अभिभावकको आकर्षण कति छ भन्ने स्पष्ट भएको भट्टराई बताउँछन् । यहाँ कतिपय अप्राविधिक विषयको अध्यापनका लागि स्थानीय शिक्षकहरुको समेत सहायता लिइने भएको छ । तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध मुलुकका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने हुँदा यस्ता जनशक्ति उत्पादनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘दक्ष जनशक्तिले एक त राष्ट्रलाई समृद्ध र सबल बनाउन सहयोग गर्ने भए, अर्को आफैँ स्वरोजगार हुने भए’, मुख्यमन्त्री राईले भने, ‘त्यसैले प्रदेश सरकारले आफैँ पनि बहुप्राविधिक विश्वविद्यालय निर्माणको अवधारणा अघि सारेको छ ।’ (राससको सहयोगमा)












