काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन भत्किएसँगै मुलुकको राजनीतिक वृत्त फेरि नयाँ सत्ता समीकरणको खोजीमा केन्द्रित हुँदा वामपन्थी दलहरुले सहकार्यका लागि चलखेल गर्न थालेका छन् । नेकपा एमालेका अध्यक्षदेखि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसम्मले वामदल दलहरुको सहकार्य भन्दै एमाले र नेकपाको सरकार बनाउने गरी छलफल अघि सारेका छन् ।

संघदेखि प्रदेशसम्म नयाँ गठबन्धन निर्माणका लागि प्रमुख दलहरूबीच आन्तरिक छलफल र समानान्तर संवाद तीव्र बनेको बेला एमाले र नेकपाको सहकार्यलाई चर्चामा ल्याएर भविष्यमा पार्टी एकताको वातावरण बनाउन लागेको स्रोतले जनाएको छ ।
पछिल्ला घटनाक्रमले विशेषगरी नेकपा र एमालेबीच नयाँ सहकार्यको सम्भावना बलियो बन्दै गएको संकेत गरेका छन् । तर, नेकपाका सहसंयोजक माधवकुमार नेपाल एमालेसँगको सहकार्यमा ‘रिजर्भ’ देखिन्छन् । त्यसैले एमाले अध्यक्ष ओलीले नेपालसँग भेट्ने इच्छा राखेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार अहिले प्रदेश सरकारहरूको पुनर्संरचना र आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई समेत दृष्टिगत गर्दै नेकपा र एमालेबीच कार्यगत एकताको आधार तयार पार्ने गृहकार्य भइरहेको भएपनि यसमा सुदुरपश्चिम प्रदेशका नेकपाका नेताहरुले असहमति प्रकट गरिरहेका छन् । यहीबीचमा नेकपाले कांग्रेससँग पनि औपचारिक र अनौपचारिक संवाद जारी रहे पनि त्यसले अपेक्षित गति लिन सकेको छैन ।
नयाँ सत्ता समीकरणबारे संवाद अघि बढाउन नेकपाले नेता वर्षमान पुन र प्रमेश हमाललाई जिम्मेवारी दिएको छ । यद्यपि नेकपाले यसलाई औपचारिक रुपमा घोषणा गरिसकेको छैन । उनीहरूले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी सम्भावित गठबन्धनका विषयमा विस्तृत छलफल गरेका थिए ।
स्रोतका अनुसार उक्त भेटमा ओलीले पहिलो पटक दुई दलबीचको गठबन्धन बनाउन आफू सकारात्मक रहेको संकेत दिएका थिए । यसअघि तीनदलीय समीकरणलाई प्राथमिकता दिँदै आएका ओलीले राजनीतिक परिस्थितिअनुसार एमाले–नेकपा सहकार्य सम्भव रहेको धारणा राखेका थिए । बागमती र मधेश प्रदेशमा एमाले र नेकपाको मात्रै संख्या पर्याप्त नहुने भएकाले ती प्रदेशमा अन्य शक्तिलाई पनि साथमा लिनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
प्रदेशको समस्यालाई लिएर ओलीले आफ्ना सूत्रहरुमार्फत नेकपाका सहसंयोजक माधवकुमार नेपालसँग भेट्ने प्रयास गरेका छन् । ओलीले प्रचण्डसँग कुरा मिलाए पनि नेता नेपालले नमान्ने हुन् कि भन्ने आशंका छ । कुनै बेला नेता नेपालको नाम लिँदा ‘कुल्ला’ गर्छु भन्ने ओली अहिले आएर निकै गलेका छन् । नेता नेपालनिकट स्रोतका अनुसार ओलीबाट ठोस प्रस्ताव नआएको र आए पनि ओलीलाई विश्वास गरिहाल्ने पक्षमा नेपाल छैनन् ।
ओलीसँगको छलफलपछि नेकपाका नेताहरूले कांग्रेस सभापति गगन थापासँग पनि संवाद गर्ने तयारी गरेका थिए । तर कांग्रेस सभापतिको सचिवालयले गठबन्धनबारे कुनै औपचारिक भेट नभएको स्पष्ट पारेको छ । यसले कांग्रेस र नेकपाबीचको संवाद अपेक्षाकृत सुस्त बन्दै गएको संकेत गरेको छ भने एमालेसँगको वार्ता भने सकारात्मक बनेको राजनीतिक वृत्तमा चर्चा छ ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट आइतबार स्वदेशआएपछि यो विषयमा नेताहरुबीच छलफल समेत भएको थियो । वामपन्थीहरुबीच सहकार्य गरेर जानुपर्छ भन्नेमा नारायणकाजी श्रेष्ठ, पम्फा भूसाल, शक्ति बस्नेतहरु लागिसकेका छन् भने माधव नेपाल भने अहिलेसम्म मौन रहेका छन् । नेपाल मौन रहेका कारण नेकपाले कुनै निर्णय लिन सकेको छैन ।
नेकपाभित्र पनि सत्ता समीकरणलाई लिएर फरक–फरक धारणा देखिएका छन् । केही नेताले कांग्रेससँग सहकार्यलाई निरन्तरता दिनुपर्ने मत राखेका छन् । यही समयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका सहसंयोजक माधवकुमार नेपालबीच प्रत्यक्ष भेट गराउने प्रयास पनि भैरहेको छ । तर भेटघाटका लागि माधव नेपाल तयार भएका छैनन । नेकपाका एक नेताका अनुसार माधव नेपाल स्वास्थ्य समस्याका कारण केही दिन यता आराममा रहेका छन् । ओलीले सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि माधव नेपालसँग भेटघाटको समय मिलाउन खोजिरहेको स्रोतको दावी छ ।
राजनीतिक घटनाक्रमले नेकपा र एमालेका एजेन्डा क्रमशः नजिकिँदै जाँदा कांग्रेससँगको सम्बन्ध भने चिसिँदै गएको देखिएको छ । नयाँ सत्ता समीकरणको असर सबैभन्दा पहिले कर्णाली प्रदेशमा देखिन थालेको छ ।
कांग्रेस र नेकपाको समर्थनमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेसलाई मुख्यमन्त्री बनाउने प्रयास अघि बढे पनि अहिले नेकपाभित्रै त्यसको विरोध सुरु भएको छ । कांग्रेस र नेकपाले एमाले नेतृत्वका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका शीर्ष नेताहरूले त्यसलाई हतारोको निर्णय भन्दै असन्तुष्टि जनाउन थालेका छन् ।
नेकपाका नेता शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जालमार्फत सरकारमा सहभागी हुने विषयमा ‘यति धेरै हतारो किन गर्नु परेको होला ?’ भन्दै प्रश्न उठाएका छन् । उनले अहिले सत्ता परिवर्तनभन्दा राजनीतिक सहकार्य र स्थिरतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकार परिवर्तनको अभियानमा सक्रिय बनेपछि बस्नेतले सार्वजनिक रूपमा असहमति जनाएका हुन् । नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज टेकबहादुर बस्नेतले पनि प्रदेश सरकारमा सहभागी हुने निर्णय पार्टीको मूल नीतिसँग मेल नखाने टिप्पणी गरेका छन् । अर्का नेता नरेश भण्डारीले कांग्रेससँगको सहकार्यलाई ‘घातक राजनीतिक कदम’ को संज्ञा दिएका छन् । यसले कर्णालीमा कांग्रेससँग बनेको समीकरणबाट नेकपा पछि हट्न सक्ने संकेत दिएको छ ।














