काठमाडौँ। सुदूरपश्चिमका पहाडी जिल्ला र भारतको उत्तराखण्डमा निरन्तर वर्षा भइरहेका कारण महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै गएको छ। बढ्दो बहावका कारण भारतसँग जोड्ने बनबासास्थित शारदा ब्यारेज (बनबासा पुल) हुँदै हुने चार पाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ९ बजे शारदा ब्यारेजमा पानीको बहाव १ लाख ९ हजार १८४ क्युसेक मापन गरिएको थियो। त्यसपछि बहाव थप बढेर १ लाख १४ हजार ३९० क्युसेक पुगेको छ।
यसअघि सोही दिन बिहान ३०० बजे पानीको बहाव ८८ हजार ६९६ क्युसेक रहेको थियो। वर्षा निरन्तर भइरहेकाले नदीको बहाव अझै बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ।
बढ्दो बहावलाई मध्यनजर गर्दै प्रशासनले महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।














