काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ को विवरणमा आफूले आफैँलाई हानी पुर्याउने कसुरमा १ हजार २ सय ७१ जनामध्ये ३ सय ७७ को मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता एसपी पवनकुमार भट्टराईले आर्थिक वर्ष २०८२–०८३ को विवरण प्रस्तुत गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

आत्महानीअन्तर्गत विष सेवन, झुण्डिएर मृत्यु, आफूलाई आफैँले जलाउने (आत्मदाह), पानीमा हामफाल्ने र आफैँमाथि धारिलो हतियार प्रहार गर्ने घटना रहेको उनले उल्लेख गरेका छन् ।
त्यसरी आत्महानीको प्रयास गर्नेमध्ये एक वर्षमा ३ सय ७७ जनाको मृत्यु भएको भट्टराईले बताए । आत्महानी प्रयासका क्रममा ८ सय २७ जना घाइते भएका छन् । आत्महानी प्रयास गर्नेमध्ये १२ जनालाई प्रहरी हस्तक्षेपबाट जिवित उद्धार गरिएको एसपी भट्टराईले बताए ।
त्यसक्रममा फेसबुकबाट आत्महत्याको सूचना लेख्नेलाई प्रहरीले पत्ता लगाएर बचाएको घटना पनि रहेको उनले पत्रकार सम्मेलनमा बताएका छन् । केही व्यक्तिलाई खोलामा हामफाल्न लाग्दा उद्धार गरी मनोसामाजिक परामर्शपछि सामान्य अवस्थालमा ल्याएको उनले बताए ।














