Logo
Logo

रास्वपाभित्रको शक्ति संघर्षले रोकियो राजदूत नियुक्ति, पुरानैको म्याद थपेर काम चलाउँदै सरकार


819
Shares

विगत ११ महिनादेखि खाली रहेका तथा कार्यकाल सकिन लागेका कूटनीतिक नियोगहरूमा नयाँ राजदूत नियुक्त गर्नुको साटो सरकारले पुरानाकै पदावधि थपेर ‘काम चलाउ’ बाटो रोजेको छ ।

बाह्य रूपमा यो प्रक्रियागत ढिलाइ जस्तो देखिए पनि यसको मुख्य कारक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको शक्ति–संघर्ष, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र परराष्ट्रमन्त्री शिशिर खनालबीचको तीतो तिक्तता तथा अर्बौँको पासपोर्ट छपाइ ठेक्का प्रकरणको बाछिटा हो ।

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भदौमा म्याद सकिन लागेका परराष्ट्र सेवा समूहका ६ जना राजदूत घनश्याम भण्डारी (बंगलादेश), निर्मलराज काफ्ले (ब्राजिल), भरतराज रेग्मी (अस्ट्रिया), हरिश्चन्द्र घिमिरे (म्यानमार), तीर्थराज वाग्ले (बहराइन) र सुशील लम्साल (इजिप्ट) को पदावधि थप गरेको छ ।

परराष्ट्रमन्त्री खनालले गत असार दोस्रो सातामै ती स्थानमा नयाँ नियुक्तिका लागि सिफारिस गरेका कुमार खरेल, भृगु ढुंगेल, गणेश ढकाल, दिलीप पौडेल र विष्णु गौतम लगायतको नामावली भने प्रधानमन्त्री कार्यालयले रोकेर राखेको छ । नयाँ राजदूत नियुक्ति प्रक्रिया ओझेलमा पर्नुको मुख्य जड पासपोर्ट (राहदानी) छपाइको ८ अर्ब १० करोड रूपैयाँको ठेक्का रद्द गराउने र थप्ने विषयमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच भएको तीव्र विवाद हो ।

प्रधानमन्त्री शाह जर्मन कम्पनीलाई दिइएको ठेक्कामा भ्रष्टाचार भएको भन्दै त्यसलाई रद्द गराएर फ्रान्सको ‘आइडिमिया’ कम्पनीलाई दिने पक्षमा थिए । यसका लागि उनको टिमका असीम शाह, विवेक मिश्र र माधव खनाल सक्रिय बनेका थिए । ठेक्का रद्द गर्न दबाब दिने क्रममा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिलकुमार केसी, परराष्ट्र सचिव अमृतकुमार राई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई समेत प्रधानमन्त्री कार्यालयमै बोलाएर केरकार र अभद्र व्यवहार गरिएको थियो ।

प्रधानमन्त्रीको टिमको दबाबपछि असार ८ गते अख्तियारले विशेष अदालतमा १० अर्ब १३ करोड बिगो मागदाबीसहित राहदानी विभागका कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा दायर गरेपछि विभाग नेतृत्वविहीन बन्यो र परराष्ट्रका कर्मचारीहरू पूर्ण रूपमा त्रसित हुन पुगे। यस घटनाक्रमले परराष्ट्रमन्त्री खनाल र प्रधानमन्त्री शाहबीचको सम्बन्ध झनै तनावपूर्ण बनायो ।

परराष्ट्रमन्त्री खनाल भने ठेक्का रद्द गर्दा देशमा पासपोर्टको चरम अभाव हुने र कूटनीतिक रूपमा ’आर्बिट्रेसन’मा जाँदा ठूलो क्षति पुग्ने अडानमा थिए । अन्ततः रास्वपा सभापति रवि लामिछानेले परराष्ट्रमन्त्री खनाललाई बलियो ‘ब्याकअप’ दिँदै प्रधानमन्त्रीको टिमसँग संवाद गरेपछि असार १७ गते दुवै जर्मन कम्पनीले नै पासपोर्ट छाप्ने सहमति त भयो, तर यस विवादले सरकार र मन्त्रालयबीचको समन्वय पूर्ण रूपमा भङ्ग गराइदियो ।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान सरकारले गरी विभिन्न चरणमा फिर्ता बोलाएका राजदूतहरू फर्किएपछि रिक्त भएका १७ नियोगमध्ये ४ वटा खारेज गरिएका छन् भने बाँकी १३ वटा नियोगमा अझै नियुक्ति हुन सकेको छैन। परराष्ट्र मन्त्रालयले जेठ १४ गते खुला विज्ञापन आह्वान गर्दा परेका ४ हजारभन्दा बढी आवेदनबाट २,७०० को सर्टलिस्ट तयार गरी प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।

दुई महिना बितिसक्दा पनि छनोटको स्पष्ट मापदण्ड समेत बनेको छैन । मन्त्रालयले आफ्नो तर्फबाट सम्पूर्ण काम सकेको दाबी गरे पनि प्रधानमन्त्री कार्यालयले फाइल अगाडि नबढाई सिफारिस रोकेर ६ राजदूतको म्याद थपेपछि परराष्ट्रका कर्मचारीहरूमाझ असन्तुष्टि बढेको छ ।

रास्वपासम्बद्ध नेतृत्व तहमा समन्वयको अभाव, पासपोर्ट प्रकरणमा कूटनीतिक मर्यादाविपरीत भएका गतिविधि र शक्ति प्रदर्शनको होडबाजीका कारण देशको वैदेशिक सम्बन्ध नै ’होल्ड’मा परेको छ। खुला प्रतिस्पर्धाबाट पारदर्शी राजदूत छान्ने आश्वासन दिएको सरकार आन्तरिक गुटबन्दी र विवादका कारण पुरानाकै म्याद थपेर पन्छिन खोज्नुले कूटनीतिक क्षेत्रमा झनै अन्योल र निराशा थपेको छ ।

प्रतिक्रिया दिनुहोस्