Logo
Logo

प्रहरी प्रतिवेदन नै गायब


2.1k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा ललितपुर परिसरका तत्कालिन एसएसपीमाथि गरिएको छानबिन प्रतिवेदन नै गायब भएको छ । उपत्यका प्रहरी कार्यालयले हाल मधेश प्रदेशमा रहेका डिआइजी ओमप्रसाद अधिकारीको अध्यक्षतामा गठन गरेको छानबिन प्रतिवेदन गायव भएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवाललाई हिरासतमा राख्न जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाएको थियो । विभागको आफ्नै हिरासत नभएकाले प्रहरीका हिरासतमा राखेको थियो । यसरी हिरासतमा राख्दा मोबाइल प्रयोग गरेको दिएको, भेटघाटमा विशेष सुविधा दिएको तथा राति प्रहरीकै कोठामा सुताएको विषयमा छानबिनमा गर्न समिति बनाएको थियो ।

ललितपुर परिसरका तत्कालिन प्रमुख एसएसपी होबिन्द्र बोगटीले नै उनीहरूलाई यसरी हिरासतमा सघाएको आरोप लागेपछि छानबिन समिति गठन गरेर प्रतिवेदन तयार पार्न लगाइएको थियो ।तर सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

‘ललितपुरबाट एसएसपी बोगटीको सरुवा भयो उनी अहिले हेडक्वार्टरमा रहेका छन् तर उनीमाथि छानबिन गर्न बनेको प्रतिवेदन गायब छ, छानबिन गरेपछि त्यसबाट के निष्कर्ष निस्कियो भन्ने जानकारी हुनुपर्छ, छानबि गर्दा प्रचारबाजी गर्ने अहिले चुपचाप बस्ने प्रवृत्ति सकारात्मक होइन’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले दृष्टिसँग भने ।

दीपक भट्ट र सुलभ अग्रवालले हिरासतमा प्रहरीबाट विशेष सुविधा पाएको जानकारी प्रधानमन्त्री कार्यालयमा पुगेपछि छानबिन थालिएको थियो । त्यतिबेला उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्कीले समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाइएको जनाएका थिए । अहिले छानबिन गराउने कार्की, छानबिन गर्ने अधिकारी र जसमाथि छानबिन भएको हो उनी सरुवा भैसकेका छन् । कार्की प्रहरी प्रधानकार्यालयको मानववेचविखन व्यूरो, अधिकारी मधेश प्रदेश र बोगटी प्रहरी प्रधानकार्यालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्