काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेशमा सत्ता सहकार्य गर्ने लिखित सहमति गरेपछि पार्टीका सहसंयोजक माधव कुमार नेपाल बिच्किएका छन् । शनिबार एमाले अध्यक्ष ओली र प्रचण्डले प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गर्दा आफूलाई कुनै जानकारी नै नदिइएर धोका दिएको भन्दै माधव नेपाल रुष्ट भएका हुन्् ।

शनिबार ओली र प्रचण्डबीचसात प्रदेशमध्ये कोशी, बागमती, लुम्बिनीमा एमालेले नेतृत्व गर्ने र सुदूरपश्चिम र कर्णालीमा नेकपाले नेतृत्व गर्ने तीन बुँदे सहमति भएको थियो । मधेश र गण्डकीको हकमा भने अन्य दलसँग परामर्श गरेर निर्णय लिने भनिएको छ ।
ओली प्रचण्डको उक्त सहमतिमा आफूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्ट बनेका नेपालले आइतबार आफूपक्षीय नेताहरुसँग बानेश्वरको अर्याल होटेलमा छलफल गरेका छन् । उनले आफूलाई कुनै जानकारी नै नदिएर प्रचण्डले ओलीसँग सहमति गरेको भन्दै निर्ण प्रक्रिया प्रति असन्तुष्टि पोखेका थिए । उनले यसबारेमा प्रचण्डसँग भेट गरी छलफल गर्ने आफू निकट नेताहरुलाई जानकारी समेत गराएका छन् ।
पार्टीभित्र माधव नेपाल सुरुदेखि नै ओलीेसँग सहकार्य गर्न नहुने अडानमा थिए । उनले एमालेभित्रै ओलीको विकल्प खोज्न थालिएकाले सहकार्य गर्दा जनमानसमा गलत सन्देश जाने भन्दै प्रदेशमा कांग्रेससँग सहकार्य गर्नुपर्ने मत राख्दै आएका थिए । विगत एमाले विभाजनकालदेखि कटुता र पछिल्लो जेनजी विद्रोहमा देखिएको ओलीको भूमिकाले नेपाल कुनै पनि हालतमा ओलीसँग सहकार्य गर्न नहुने नेपालको अडान थियो ।
प्रचण्डले भने गत शनिबार नेपाललाई नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा माधव नेपाललाई पठाउँदै ओलीसँग छलफल मात्रै गर्ने जानकारी गराएर एकाएक एक्लै सहमति गरेका हुन् । पार्टीभित्र छलफल बिना हठात् ओलीसँगको तीन बुँदे सहमति बाहिरिएपछि नेपाललले आफूमाथि प्रचण्डबाट धोका भएको महशुस गर्दै रुष्ट बनेको नेकपाका एक नेताले बताए ।
ती नेताका अनुसार प्रचण्डले ओलीसँग छलफल मात्रै गर्ने भन्दै माधव नेपाललाई विश्वस्त तुल्याएर शनिबार ओली भेट्न गुन्डु पुगेका थिए । तर पार्टीभित्र संस्थागत रुपमा छलफल नै नगरेर अचानक लिखित सहमति गरेपछि नेपालको असन्तुष्टि चुलिएको हो ।
तर, प्रचण्ड पक्षीय नेताहरुले भने माधव नेपाललाई सहमति बारे जानकारी गराउन फोन सम्पर्क गर्न खोजिएको तर नेपालको फोन नउठेको भन्दै पन्छिन् खा्ेजेका छन् । ओली निवासबाटै प्रचण्डले माधव नेपालसँग सम्पर्क गर्ने प्रयास गरे पनि नेपालसँग सम्पर्क हुन नसकेको प्रचण्ड पक्षीय नेताहरुको दाबी छ । शनिबार पार्टीका नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकाले फोन नउठेको हुनसक्ने नेपालले आफू निकट नेताहरुलाई जानकारी गराएका छन् ।
यसअघि गत साउन २ गते प्रचण्ड श्रीलंका भ्रमणमा जाँदा प्रदेशमा सत्ता सहकार्यबारे एमालेसँग छलफल गर्ने जिम्मा उनै माधव नेपाललाई दिएका थिए । नेपालले सोही अनुसार एमाले अध्यक्ष ओलीसँग छलफलका लागि पार्टीका नेता प्रमेश हमाल र वर्षमान पुनलाई पठाएका थिए । उनीहरुको ओलीसँग छलफल भए पछि मात्रै एमाले नेकपाको सत्ता सहकार्यमा सहमतिको वातावरण तयार भएको थियो ।
शनिबार ओलीसँगको तीन बुँदे सहमतिमा आफू पक्षीय नेताहरु कसैलाई पनि सहभागी नगराइएपछि नेपाल पक्ष असन्तुष्ट बनेको हो । पछिल्लो समय एमालेसँग सहकार्य गर्न नेपाल सकारात्मक भए पनि निर्णायक समझदारी हुँदा आफू निकट नेताहरुलाई उपस्थित नगराएपछि मात्रै असन्तुष्ट बनेका हुन् ।
तर, शनिबार ओलीसँगको तीन बुँदे सहमतिमा आफू पक्षीय नेताहरु कसैलाई पनि सहभागी नगराइएपछि नेपाल पक्ष असन्तुष्ट बनेको हो । पछिल्लो समय एमालेसँग सहकार्य गर्न नेपाल सकारात्मक भए पनि निर्णायक समझदारी हुँदा आफू निकट नेताहरुलाई उपस्थित नगराएपछि मात्रै असन्तुष्ट बनेका हुन् ।
प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा ओली प्रचण्डबीच सहमति भएपछि दुबै नेताले अचानक आफू पक्षीय नेताहरुलाई बोलाएर सहमति पत्रमा हस्ताक्षर गरेका थिए । एमाले अध्यक्ष ओलीले विष्णु पौडेल र नेकपा संयोजक प्रचण्डले वर्षमान पुनसहित महेन्द्र बहादुर शाहीलाई बोलाएर उनीहरुको उपस्थितिमा तीन बुँदे सहमति गरेका थिए ।














