काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छाया’ बनाउन नहुने बताएका छन् ।

मङ्गलवार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै नेता केसीले यस्तो बताएका हुन् । उनले आयोगलाई एक निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्तै निर्वाचन आयोगको भूमिका पनि निर्णायक हुने उल्लेख गरे । उनले निर्वाचन आयोगलाई लोकतन्त्र जोगाउने ‘छैटौँ अङ्ग’ (सिक्स्थ अर्गान) को रूपमा परिभाषित गर्दै आयोगले गर्ने स्वतन्त्र निर्णयले मात्र जनमतको वास्तविक प्रतिनिधित्व हुने बताए ।
उनले छिमेकी मुलुक भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त टी।एन। शेषनको उदाहरण दिँदै नेपालका आयुक्तहरूमा पनि त्यस्तै साहसिक कार्यक्षमता हुनुपर्ने बताए । संवैधानिक निकायहरूमा हुने राजनीतिक नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केसीले नेपालमा भागबन्डाका आधारमा नियुक्ति हुने गरेको टिप्पणी गरे । उनले बेलायतको जस्तै सर्वदलीय समितिबाट स्वतन्त्र व्यक्तिको चयन गर्ने पद्धतिको आवश्यकता रहेको बताए ।
सांसद केसीले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार र निर्वाचन आयोग गम्भीर हुनुपर्ने बताए । विगतका सरकार र दलहरूले यस विषयमा प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको स्वीकार गर्दै उनले आगामी निर्वाचनमा यसलाई प्राथमिकता दिन आग्रह गरे ।














