Logo
Logo

बहुध्रुवीय विश्व व्यवस्था र नेपालको भूराजनीतिक संकट


डा. खगेन्द्र प्रसाईँ, वाम विश्लेषक

504
Shares


अहिलेको विश्व व्यवस्था तीव्र रूपमा परिवर्तनउन्मुख छ । एसियाली देशहरू चीन, भारत, जापान र कोरियाको आर्थिक विकासले गर्दा विश्व व्यवस्थामा नयाँ देशहरूको पनि उदय भएको छ । अमेरिका केन्द्रित एकल ध्रुवीय विश्व व्यवस्था अहिले बहुध्रुवीयतातर्फ उन्मुख हुँदै गइरहेको छ ।

विश्व व्यवस्था र भूराजनीति एक आपसमा अन्तरसम्बन्धित छन् । नेपालको पछिल्ला राजनीतिक परिवर्तनहरूमा पनि परिवर्तन उन्मुख विश्व व्यवस्था र भूराजनीतिको कुनै न कुनै प्रभाव रहेको छ । यसै सन्दर्भमा अहिलेको परिवर्तित विश्व व्यवस्था र भूराजनीतिबारे राजनीतिक दर्शनशास्त्री तथा वाम विश्लेषक डा. खगेन्द्र प्रसाईँसँग दृष्टिका लागि हिरेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंशः

अहिलेको विश्व व्यवस्थामा कस्तो बदलाव आउँदै छ ? के विश्व व्यवस्था परिवर्तनउन्मुख छ ?
विश्व व्यवस्था बुझ्न हाम्रा उपभोग्य सामग्री हेर्न जरुरी छ । हामीले प्रयोग गर्ने हरेक उपभोग्य सामग्री आजको विश्व व्यवस्थासँग जोडिएका छन् । जस्तै भान्सामा प्रयोग हुने सामग्री र लुगा मात्रैलाई हेर्दा पनि कुनै पनि चिज एउटै देशमा बन्दैन । यसैलाई हेरेर मात्रै पनि समग्र विश्व व्यवस्था बुझ्न सकिन्छ ।

हामीले विश्व व्यवस्था बुझ्न सन् १९७० को पेरिफेरिमा पुग्नुपर्छ । त्यतिबेला औद्योगिक पुँजीवादी व्यवस्थाका रूपमा स्थापित विश्व व्यवस्थामा अनेकौँ संकट थोपरिए, मानिसको क्रय शक्ति घटेर पुँजीवादले उत्पादन गरेका सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको थियो । पुँजीवादी व्यवस्थामा आएको संकटले अर्को व्यवस्थामा जाने प्रबल सम्भावना थियो ।

तथापि, आफ्नो संकट टार्न पुँजीवादले आफ्ना उद्योगहरू सस्तो श्रम र कच्चा पदार्थ भएको मुलुकमा सारेर आफ्नो संकट टा¥यो । त्यसले एसियाली देशहरूमा औद्योगिक विकासमा तीव्रता ल्यायो । जस्तै चीन, भियतनाम, कोरिया, जापान, भारत लगायतका मुलुकमा औद्योगिक उत्पादनको प्रक्रिया तीव्र गतिमा अघि बढ्यो । एसियाली युगको उदय सुरु भयो । यसरी एसियाली देशहरू पनि द्रुत गतिमा विकास हुँदै छन् भन्ने विषय नेपालको वाम आन्दोलनले बुझ्न सकेन । एसियाली विकासले छलाङ मार्दै ग्लोबल साउथ अहिले ग्लोबल नर्थभन्दा धेरै धनी भएको छ । एसियाली राष्ट्रहरूले सैन्य शक्तिमा पनि निकै ठूलो विकास गरेका छन् । अहिले इरानले एक्लै अमेरिकालाई प्रतिवाद गर्ने सामथ्र्य राख्नु पनि त्यसकै उपज हो ।

के अहिलेको विश्व व्यवस्था बहुध्रुवीय हुन थालेको हो ? अहिलेको विश्व व्यवस्थामा चीनको उदयलाई कसरी लिन सकिन्छ ?
चीनले संसारभर विभिन्न परियोजनाहरू राज्यस्तर र निजी दुवै तरिकाले सञ्चालन गर्दै आएको छ । राज्य स्तरबाट हुने परियोजना दीर्घकालीन महत्वका हुने र निजी क्षेत्रले पनि चिनियाँ परियोजनाहरूमा काम गर्दै आफ्नो क्षमता वृद्धि गरिरहेका छन् । चीनको उदयले विश्व व्यवस्था बहुध्रुवीयतातर्फ उन्मुख भएको छ । चीन विश्व व्यवस्थाको एक महत्त्वपूर्ण अंग बनिसकेको छ ।

कतिपय विश्लेषकहरूले विश्व व्यवस्था एकल ध्रुवीय नै रहेको र अहिले पनि अमेरिकाकै वर्चस्व रहेको भन्छन् नि ?
अमेरिका अहिले शक्तिहीन भएको होइन । सन् १९९० मा अमेरिकाको सामरिक क्षमता र चीनको सामरिक क्षमता हेर्दा धेरैको फरक थियो । तर अहिले सन् २०२६ मा हेर्दा अमेरिका र चीनको सामरिक क्षमता अमेरिकाकै हाराहारीमा चीन पनि पुग्न थालेको देखिन्छ । हिजोको अमेरिकाले जे चाह्यो त्यही हुन्थ्यो तर अहिले त्यो अवस्था रहेन । जसरी इरानले अहिले अमेरिकाको प्रतिवाद गरेको छ । हिजो ९०को दशकमा यसरी अमेरिकालाई प्रतिवाद गर्ने हैसियत कसैको पनि थिएन ।

तर अहिले इरानले पनि अमेरिकालाई कडा प्रतिवाद गरिरहेको स्थिति देखिन्छ । भेनेजुएलामा अमेरिका हाबी हुँदा पनि इरानमा अल्झिनुपरिहेको छ । अहिले आर्थिक रूपमा पनि विश्व बैंकको विकल्प खोज्न सकिने अवस्था सिर्जना भएको छ । दोस्रो विश्वयुद्ध पछि ब्रिटेन कसरी खुम्चियो ? अहिले अमेरिकनहरूको विगतकोजस्तो हैसियत रहेन । कुनै बेला युरोप पुँजीवादको केन्द्र थियो । त्यसपछि अन्यत्र शिफ्ट भयो । अहिले विश्व व्यवस्था द्रुत गतिमा बहुध्रबीयतामा जाँदै छ । उदाहरणका लागि कतिपय प्रविधिमै चीन अमेरिका भन्दा अघि आएको छ ।

अहिले चीन–अमेरिका सम्बन्धलाई कसरी हेर्न सक्छौँ ?
अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा चीनसँग इन्गेज्मेन्ट पोलिसी थियो । डोनाल्ड ट्रम्पले चीनलाई दुस्मन घोषणा गरेर अगाडि बढे । त्यहीबीचमा अमेरिका र चीनबीच व्यापारिक द्वन्द्व बढेर गयो । अमेरिकाले सबैभन्दा बढी ट्यारिफ चीनलाई लगायो । तर यो धेरै समय टिक्न सकेन र अमेरिका पुनः चीनसँग वार्ता गरेर आफ्नो व्यापारिक सन्तुलन कायम राख्नुपर्ने ठाउँमा पुग्यो । अमेरिकाले निरन्तर साउथ एसियामा आफ्नो प्रभुत्व कायम गर्न खोजिरहेको छ ।

ट्रम्पले चीनसँग सुरु गरेको शत्रुतापूर्ण व्यापारिक सम्बन्ध अघि बढेर इण्डोप्यासिफिकको रणनीति आएको हो । अहिले फेरि ट्रम्पको चीन भ्रमणपछि अमेरिकाले इन्गेज्मेन्टको नीति लिएर अघि बढेको जस्तो स्थिति छ । अहिले चीन अमोरिकाको सम्बन्ध इन्गेज्मेन्टको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ । अहिले अमेरिका संकटमा छ । ‘मेक अमेरिका ग्रेट अगेन’ अमेरिकाको नीति त्यसकै परिणामस्वरूप आएको हो । यसले पनि के प्रस्ट गर्छ भने अमेरिका कमजोर हुँदै थियो । र, फेरि बलियो बनाउनुपर्छ भन्ने कुरा आयो । कुनै बेला अमेरिका चीन व्यापारको ठूलो हिस्सा थियो । तर चीन अमेरिका सम्बन्धमा आएको गडबडीले गर्दा अहिले चीनले व्यापार विश्वका अन्य राष्ट्रहरूमा विस्तार गरिरहेको छ ।

दक्षिण एसियामा भएको राजनीतिक परिवर्तनमा भूराजनीतिक र आन्तरिक अवस्थालाई कसरी हेर्न सकिन्छ ?
यो आन्तरिक र बाह्य भन्ने चीज नै हुँदैन । हरेक राष्ट्र र राष्ट्रहरुबीचको अन्तरसम्बन्ध यति प्रगाढ छ कि एकले अर्कालाई अवज्ञा गर्न सक्दैनन् । हरेक परिघटना आफ्नै अस्तित्वको कारणले घटित हुन्छ त्यसमा आन्तरिक र बाह्य प्रभाव भन्ने हुँदैन । भित्र र बाहिरको अन्तरक्रियाले कुनै चिज जीवित हुन्छ भने त्यसलाई आन्तरिक र बाह्य भनेर भेद छुट्याउन सकिँदैन । नेपालमा आन्तरिक मामला भन्ने कुनै इतिहास नै छैन । विगतमा हुने हरेक आन्दोलनले गरेका सत्ता परिवर्तनमा पनि सबैको अन्योन्याश्रित सम्बन्ध छ । बाहिर र भित्र छुट्याएर हेर्नुभयो भने ठोस विषय ठम्याउन सकिन्न । त्यसमा दुवै पक्षको समान भूमिका हुन्छ । बाहिर र भित्र नछुट्ने गरी दुवै एक अर्कामा अन्तर्निहित हुन्छन् । हरेक परिघटनामा आन्तरिक र बाह्य दुवैको समान भूमिका छ ।

नेपालको सन्दर्भमा समाजवादलाई कसरी व्याख्या गर्न सकिन्छ ? किन सबै पार्टीले समाजवादलाई अंगालिरहेका छन् ?
नेपालको संविधानमा समाजवाद उन्मुख भनेर नै उल्लेख छ । अहिले पनि विश्वभर समाजवाद भन्ने चिज निकै लोकप्रिय छ । समाजवाद भनेको पुँजीवादको विकल्पमा आएको अवधारणा हो । पुँजीवादले व्यक्तिवादलाई प्रवद्र्धन गर्छ तर समाजवादले सामाजिकीकरण गरिने प्रक्रियालाई अगाडि बढाउँछ । सामाजिक सम्पत्तिलाई धेरै भन्दा धेरैको हितमा लगाउनु नै समाजवाद हो ।

नेपालमा अहिले सामाजिक निराशा उत्पन्न हुनुमा पुँजीवादी संकटकै उपज हो ?
यसलाई समाजशास्त्रीय हिसाबले व्याख्या गर्नुपर्छ । सन् १९९० पछि पुँजीवादी विकास प्रक्रिया अघि बढेको हो । अहिलेसम्म हामीले उदार पुँजीवादी अर्थनीति अवलम्बन गरिरहेका छौँ । आजसम्म कार्यान्वयन भएको नीति उदार पुँजीवादी नै हो । पुँजीवादले एक खालको विकासलाई नेपालमा अघि बढाएको छ । हाम्रो सन्दर्भमा उद्योगमा लगानी नगर्ने, बैंक र व्यापारमा लगानी गर्ने प्रवृत्ति छ । अहिले सेवा क्षेत्रमा अत्यधिक लगानी र कृषिमा न्यून छ ।

आज नेपालीको जिन्दगी धेरै फरक छ । मान्छेको आय पनि बढेको छ । सँगसँगै समाजमा निराशा ल्याउने अवस्था पनि उदार पुँजीवादी नीतिले सिर्जना गरेको छ । अहिले आम नेपाली विदेश पुगेर लाखौँ कमाउने अवस्था पुँजीवादले ल्यायो । तर समाजको डरलाग्दो सामाजिक विघटन पनि यसैको उपजको रूपमा अगाडि आयो । जसले गर्दा असन्तुष्टि बढ्दै गएको छ । अहिले नेपाली समाजको संकटलाई पुँजीवादको परिदृश्यमा बुझ्नुपर्छ । विवाह र सम्बन्ध विच्छेद लगायतका सामाजिक र सांस्कृतिक मूल्य मान्यताहरूमा व्यापक रूपमा परिवर्तन भएका छन् । सबै कुरा बदलिएको छ, त्यसकै रिफ्लेक्सन नेपाली समाजमा देखा परेको हो । आज नेपाली समाजको संकट विश्वव्यापी पुँजीवादी संकटकै उपज हो ।

अहिले अमेरिका बेलायत, फ्रान्स र जापानमा आएको संकट पनि त्यसकै अभिव्यक्ति हो । उदारवादले जिडीपी बढेको देखाइरहेको छ तर किसानहरूले आत्महत्या गर्नुपर्ने अवस्था निम्तिएको छ । इतिहाससँग विच्छेद भएर होइन, त्यसकै निरन्तरताका आधारमा यसलाई बुझ्नुपर्छ । यो नेपालको कारणले मात्रै सिर्जित संकट होइन । त्यही संसदीय राजनीतिको जननी बेलायतमा दश वर्षमा कति प्रधानमन्त्री फेरिए ? सात जना प्रधानमन्त्री फेरिँदा पनि त्यहाँको संकट अझै उस्तै छ । भारतमा पनि अहिले युवाहरूको कक्रोज जनता पार्टीको आन्दोलन हेर्नुस् । संसारभर उदारवादले जे संकट ल्यायो हाम्रोमा पनि त्यही संकट आएको छ । अर्कोतर्फ, चिनियाँहरूले त्यस प्रकारका संकटलाई व्यवस्थापन र निरूपण गर्दै अघि बढेका छन् ।

अन्त्यमा, नेपालको वाम आन्दोलनको मुख्य समस्या चाहिँ के हो ?
नेपालमा वाम आन्दोलनको मुख्य समस्या नै वाम चरित्र नहुनु हो । डेमोक्रयाटिक पार्टीमा पनि डेमोक्रयाटिक चरित्र छैन । कम्युनिष्ट पार्टीमा पनि कम्युनिष्ट चरित्र छैन । जसले गर्दा यो अवस्था आएको हो । तराईमा मधेशी पार्टीले पनि त्यहाँको एजेण्डा र भावना अनुसार आफ्नो भूमिका निर्वाह गर्न सकेन । पुँजीवादले हरेक पार्टीको आफ्नो चरित्र कायम रहन दिँदैन ।

उदाहरणका लागि पुँजीपतिले कुनै उद्योग खोल्नुप¥यो भने पार्टी नेतृत्वसँग सिधै कुरा गरेर काम गराउँछ । अन्य कमिटीसँग कुनै सरोकार नै नराख्दा त्यो दलमा प्रजातान्त्रिक चरित्र कायम रहन सक्दैन । कुनै पनि राजनीतिक पार्टीको भूमिका संविधानले उल्लेख गरे बमोजिम समाजवादउन्मुख कार्यक्रम मात्रै लागू गर्न सकियो भने पनि त्यसले परिणाम दिन्छ । नवउदारवादले निम्त्याएको संकट समाजवादउन्मुख कार्यक्रमले मात्रै हल गर्न सक्छ भन्ने महशुस भएको दिन वाम आन्दोलनले आफ्नो चरित्र कायम राख्न सफल हुन्छ । आइएमएफ र विश्व बैंकबाट बाहिर जानुभयो भने के हालत हुन्छ भन्ने अहिले भेनेजुएलामै देखिन्छ । नवउदारवादले ल्याएको आर्थिक नीति अनुसार नै हाम्रा सबै बैंक, वित्तिय संस्था र सहकारीहरू सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्