काठमाडौँ । सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका जिल्लामा फैलिएपछि प्रहरी प्रधान कार्यालयले अन्यत्र पनि उच्च सुरक्षा सतर्कता अपनाएको छ । सम्भावित प्रदर्शनको जोखिम आकलन गर्दै प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तुमा एआईजीहरूलाई पठाएको छ ।

मधेसमा एआईजी नेतृत्वको टिम परिचालन गरेसँगै प्रधान कार्यालयले लुम्बिनी र कोशी प्रदेशमा पनि हेडक्वार्टरबाट एआईजीहरूलाई फिल्डमा उतारेको हो ।
शुक्रबार बिहान एआईजी हिमालय श्रेष्ठलाई मधेस प्रदेशमा खटाइएको थियो । सम्भावित जोखिम न्यूनीकरण गर्न ४ जना एआईजी र अन्य अधिकृतहरूलाई पनि कोशी, मधेस र लुम्बिनी प्रदेशमा खटाइएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘एआईजीदेखि एसएसपी सम्म १५ जना अधिकृतहरू अहिले जोखिमयुक्त ठाउँमा खटिनुभएको छ ।’
सुनसरीबाट सुरु भएको दुई समुदायबिचको दंगा फैलिन नदिन केन्द्रबाट खटिएका प्रहरी अधिकृतहरूलाई जनशक्ति परिचालन र सहजीकरण गर्न भनिएको छ । परिस्थितिलाई काबु बाहिर जान नदिनेगरी केन्द्रबाट खटिएका अधिकृतहरूले समन्वय गर्नेछन् ।
सम्भावित जोखिम आकलन गरिएको बाँकेमा एआईजी सिद्धीविक्रम शाहलाई पठाइएको छ । कपिलवस्तुमा सीआईबीका एआईजी उमा प्रसाद चतुर्वेदी र सुनसरीमा ईश्वर कार्कीलाई पठाइएको छ । डीआईजीहरु दिनेश आचार्यलाई सिरहा र अबि नारायण काफ्लेलाई सप्तरीमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।
को कहाँ खटिए ?
एआईजी सिद्धीबिक्रम शाह, बाँके
एआईजी हिमालय कुमार श्रेष्ठ, मधेस प्रदेश
एआईजी उमा प्रसाद चतुर्वेदी, कपिलवस्तु
एआईजी ईश्वर कार्की, कोशी प्रदेश र सुनसरी
डीआईजी दिनेश कुमार आचार्य, सिरहा
डीआईजी अबि नारायण काफ्ले, सप्तरी
एसएसपी गोपालचन्द्र भट्टराई, सर्लाही
एसएसपी सोमेन्द्र सिंह राठौर, पर्सा
एसएसपी दीप शम्शेर जबरा, रौतहट
एसएसपी नवराज अधिकारी, चितवन
एसएसपी कृष्ण प्रसाद पंगेनी, महोत्तरी
एसएसपी होबिन्द्र बोगटी, बारा
एसएसपी ज्ञानेन्द्र प्रसाद फुँयाल, मारेरङ
एसएसपी भुवनेश्वर तिवारी, धनुषा
एसएसपी अमरेन्द्र बहादुर सिंह, मधेस














